काठमाडौं, बैशाख ३०
आज जङ्गी अड्डामा सञ्चालन भएको छैटौँ संस्करणको एक दिवसीय “राष्ट्रिय साइबर सुरक्षा गोष्ठी-२०८३” प्रधान सेनापति महारथी श्री अशोक राज सिग्देलले समापन गर्नु भएको छ।
वर्तमान विश्व परिवेशमा सूचना प्रविधिको तीव्र विकाससँगै बढ्दो साइबर चुनौती, डाटा चुहावट र ए.आई. बाट सिर्जित हुनसक्ने सुरक्षा जोखिमलाई मध्यनजर गर्दै सबै सरोकारवाला निकायहरूबिच सहकार्य, समन्वय र सम्पर्क स्थापित गराउने उद्देश्यले सञ्चालन भएको उक्त गोष्ठीमा साइबर सुरक्षा सम्बन्धी विषय विज्ञहरूद्वारा प्रस्तुतीकरण गर्नुका साथै सहभागीहरूबिच विभिन्न परिस्थितिलाई मध्यनजर गर्दै अन्तरक्रिया समेत सञ्चालन गरिएको थियो ।
विभिन्न मन्त्रालय तथा सरकारी निकायका प्रतिनिधिहरू, नेपाली सेना, अन्य सुरक्षा निकाय, सरकारी तथा साइवर सुरक्षासँग सम्बन्धित गैर-सरकारी निकायका प्रतिनिधिहरूको सहभागिता रहेको उक्त कार्यक्रमले राष्ट्रिय स्तरमा साइबर सुरक्षाका रणनीतिहरू तय गर्न, प्रविधिको सुरक्षित प्रयोगबारे साझा अवधारणा निर्माण गर्न तथा समग्रमा मुलुकको डिजिटल पूर्वाधारको सुरक्षा क्षमता अभिवृद्धिमा थप टेवा पुग्ने विश्वास लिइएको छ।