तीनदिने महोत्सव भव्य रूपमा सुरु, राजेश पायल राईदेखि चर्चित कलाकारसम्मको प्रस्तुति रहने
सोलुखुम्बु, बैशाख २६
नेचासल्यान गाउँपालिका मा “नेचासल्यान कृषि, पर्यटन तथा सांस्कृतिक महोत्सव–२०८३” भव्य रूपमा सुरु भएको छ । स्थानीय गाउँपालिका र नेचासल्यान उद्योग वाणिज्य संघको संयुक्त आयोजनामा सञ्चालन भएको महोत्सवको उद्घाटन संघिय सांसद प्रकाशसिंह कार्कीले गरेका हुन् ।
उद्घाटन कार्यक्रममा एमालेका पूर्व सांसद बुद्धिकुमार राजभण्डारी, सोलुदुधकुण्ड नगरपालिका का मेयर नाम्गेल जाङ्बु शेर्पा, गाउँपालिका अध्यक्ष धनजन राई, उपाध्यक्ष बिना राई लगायत विभिन्न स्थानीय तहका जनप्रतिनिधि, संघसंस्थाका प्रमुख तथा राजनीतिक नेतृत्वको उल्लेख्य उपस्थिति रहेको थियो ।
विशेषगरी कृषि प्रवर्द्धनलाई केन्द्रमा राखेर आयोजना गरिएको महोत्सव बैशाख २६, २७ र २८ गतेसम्म सञ्चालन हुने आयोजकले जनाएको छ । महोत्सवमा कृषकहरूले उत्पादन गरेका अन्नबाली, तरकारी, फलफूल, जडीबुटी, हस्तकला तथा घरेलु औद्योगिक सामग्रीसहित १५ विधाका कृषि उपज प्रदर्शनीमा राखिएका छन् । उत्कृष्ट उत्पादन गर्ने कृषकलाई छनोट गरी आकर्षक नगद पुरस्कारसमेत वितरण गरिने जनाइएको छ ।
महोत्सवको सांस्कृतिक कार्यक्रम पनि विशेष आकर्षणको रूपमा रहेको छ । पहिलो दिन इन्द्रेणी टिमका कृष्ण कँडेलसहित विभिन्न कलाकारहरूले लोकदोहोरी तथा सांगीतिक प्रस्तुति दिने भएका छन् । दोस्रो दिन चर्चित गायक राजेश पायल राई, गायिका रचना रिमाल लगायत राष्ट्रिय तथा स्थानीय कलाकारहरूको प्रस्तुति रहने आयोजकले जनाएको छ ।
त्यस्तै हास्यव्यंग्यतर्फ चर्चित कलाकार कैलाश कार्की लगायत विभिन्न राष्ट्रिय तथा स्थानीय कलाकारहरूको प्रस्तुति पनि समावेश गरिनेछ । साँझतिर मौसम केही समय प्रतिकूल बने पनि महोत्सव कार्यक्रम भने निरन्तर सञ्चालन भइरहेको आयोजकले जनाएको छ ।