neapl investment mega bank
  • गृहपृष्ठ
  • बालेन सरकारसँग सर्वसाधारणको माग–घरभाडा तोकियोस्, वडाले भाडा उठाउने व्यवस्था गरियोस्

बालेन सरकारसँग सर्वसाधारणको माग–घरभाडा तोकियोस्, वडाले भाडा उठाउने व्यवस्था गरियोस्

Apr 25th, 2026

काठमाडौं, बैशाख १२

घरधनीहरुले लुटतन्त्र मच्याउँदै आएका छन् । सेवासुविधा केही नदिने तर मनलाग्दी भाडा असुली धन्दा वर्षौदेखि चलिआएको छ । यतिमात्र होइन, राज्यलाई घरबहाल कर नतिर्न आफ्नो घरमा सञ्चालित व्यापार व्यवसाय दर्ता हुन नदिने । अनि अनुगमनमा कारबाही भोग्नुपर्ने चाँहि डेराबहाल । तर, अहिले डेराबहालहरु बोल्न थालेका छन् । घरधनीहरुको खुलेर विरोध गरिरहेका छन् । उनीहरु भन्छन्–वडामा हिँड्नुस् अनिमात्र भाडा तिर्छु । कतिपयले चाँहि घरधनीले बहाल कर तिरेपछि मात्र भाडा तिर्छु भनिरहेका छन् । कोही चाँहि व्यवसाय दर्ता गर्न नदिएसम्म भाडा नतिर्ने बताउँछन् । अहिले ठाउँअनुसार एउटा कोठाको मासिक भाडा सात हजारदेखि ३० हजार रुपैयाँसम्म छ । एउटा सटरको २० हजारदेखि २२ लाख र एक फ्ल्याटको १५ हजारदेखि तीन लाखसम्म मासिक भाडा असुलिन्छ । खाली सटर त २० देखि ६० लाखमा किनबेच हुने गरेको छ । बत्ती, पानी, फोहोर, इन्टरनेट, सवारी पार्किङ शुल्क घरबेटीको जिब्रोमा हुन्छ । उनीहरुले जति भन्छन्, डेराबहालले त्यति नै तिर्नुपर्छ । घरधनीहरुलाई महिना मर्नुअघि भाडा चाहिन्छ तर यत्रो भाडा तिरेपछि बिल दिँदैनन् । बुढाबुढी, एकल महिला, विद्यार्थी, अपांग, बिरामी, तल्लो जाति र बढी बालबच्चा भएकालाई कोठा दिइँदैन ।

घरधनीहरुले डेराबहाललाई लुटेर राज्यलाई बहाल कर त तिर्दैनन् नै सँगै दुई तलाको नक्सा पास गरेर पाँच–६ तले घर बनाउँछन् । अहिले एउटै व्यक्तिको दुईदेखि ६७ वटासम्म घर भेटिन्छ । एउटै घरमा करोडौं रकम लगानी गरिएको हुन्छ । घर भाडामा लगाएरै मासिक लाखौं रकम आम्दानी गरिन्छ । तर, राज्यले के पाउँछ ? कानूनतः घर भाडामा लगाएपछि दश प्रतिशत बहाल कर तिर्नुपर्ने भएपनि घरधनीहरु विभिन्न बहाना बनाएर छल्छन् । आफ्नो घर वर्षौदेखि भाडामा नलागेको, आफन्त, साथीभाई सित्तैमा बसेको, डेराबहालले भाडा नतिरेको वा एकदम सस्तो मूल्यमा भाडामा लगाएको बताई कर तिँदैनन् । वडाबाट कर्मचारी नआउने भएकोले पनि घरधनीहरु यस्तो काममा सफल हुन्छन् । अनि राज्य चाँहि हेरेको हेर्यै । यहाँ सरकारी जग्गासमेत कब्जा गरेर घर ठड्याइएको छ । विगतमा थुप्रै सरकारी, गुठी, ऐलानी, मठमन्दिर, वनजंगल, हदबन्दी, तालतलैया, पोखरी, खोलानाला, राजपरिवारलगायतको जग्गा भूमाफिया, सरकारी कर्मचारी, जनप्रतिनिधि, राजनीतिक दलका नेता, कानून व्यवसायीको मिलीभगतमा व्यक्तिका नाममा दर्ता गरियो । दर्ता नभएका जग्गा पनि हड्पेर संरचना बनाइएको छ ।
यसरी सरकारी जग्गामै बनाइएको घरबाट सीमित व्यक्तिहरुले मासिक हजारौं–लाखौं रकम आम्दानी गरिरहेका छन् । राज्य भने मौन छ । ठग घरधनीहरुसामु डेराबहाल झुक्नुझके । घरधनीले जेसुकै भनेपनि, गरेपनि डेराबहालहरु मौन बस्दै आएका थिए । किनकि विरोधमा बोल्नेबित्तिकै कोठाबाट निकालिन्थ्यो ।

रातारात कता सरेर जानु भनेर डेराबहालहरु घरधनीहरुको ज्यादती सहेर बसेका थिए । तर, अतिले खति निम्त्याउँछ भनेझैं घरधनीहरुले अति नै गरेपछि डेराबहालहरुको सहनशीलता पनि गुमेको छ । किनकि घरधनीहरुको कर्तुत बाहिरिँदै गयो । जसरी घरधनीहरुले कोठाबाट निकालदिन्छु भन्दै डेराबहाललाई धम्क्याउँदै आएका थिए, त्यसरी नै अहिले डेराबहालहरुले वडामा जान्छु भनी घरधनीहरुलाई तर्साउन थालेका छन् । डेराबहाल वडामा पुग्नेबित्तिकै घरधनीहरुले सबै कर्तुत खुलिन्छ । दशकौंदेखि नतिरेको कर तिर्नुपर्छ । चर्को भाडा पनि लिन पाइँदैन । अर्कोतर्फ, डेराबहालमाथि गरिएको ज्यादतीका कारण जेलैसमेत जानुपर्ने अवस्था आउनसक्छ । त्यसैले, घरधनीहरु अहिले डेराबहालसामु निरीह बन्न पुगेका छन् । यद्यपि, डेराबहालहरुको एउटै माग छ–घरभाडा निर्धारण गरियोस् । निर्धारित भाडाले न घरधनी मर्कामा परुन् न डेराबहाल । अहिले त घरधनीहरुले आफूखुशी भाडा असुलिरहेका छन् । उनीहरुलाई जति मन लाग्छ, त्यति लिन्छन् । जसका कारण डेराबहालहरु मर्कामा परेका छन् । महिनाभरिको कमाई दश हजार हुन्छ, एउटा कोठाकै भाडा सात हजार रुपैयाँ तिर्नुपर्छ । अनि तीन हजार रुपैयाँले खाने कि छोराछोरी पढाउने कि गाडी भाडा तिर्ने ? यसकारण उचित भाडा निधारण गर्न सरकारसँग जनताको माग छ ।

सरकारले भाडा निर्धारण गरिदिए डेराबहाललाई राहतमात्र हुने छैन, राज्यको ढुकुटीमा राजस्वको ओइरो लाग्नेछ । यसका निम्ति प्रधानमन्त्री बालेन्द्र साह (बालेन), अर्थमन्त्री स्वर्णिम वाग्लेले घर भाडा तोक्नेसँगै वडाबाट भाडा संकलनको निर्णय गर्नुपर्छ । वडाका कर्मचारीले भाडा उठाएपछि घरधनीले डेराबहालसँग मनलाग्दी भाडा असुल्न पाउँदैनन् । सँगै राज्यको खातामा दश प्रतिशत बहाल कर पनि जान्छ ।
त्यसैले, सरकारले यो निर्णय गर्न ढिलो गर्नुहुन्न । देशभर करोडौंको संख्यामा घर बनेका छन् । करोडौं जनता भाडामा बस्छन् । यदि सरकारले यो काम गर्ने हो भने करोडौं जनतालाई राहत मिल्नेछ । देशभर सरकारको वाहावाही हुनेछ । भाडामा बस्नेहरु पनि नेपाली नागरिक नै हुन् । आफ्नो जिल्लामा शिक्षा, स्वास्थ्य, रोजगारीको व्यवस्था नहुँदा उनीहरु अर्को जिल्लामा आई कोठा भाडामा लिएर बसेका छन् । सटर वा फ्ल्याट लिएर व्यापार व्यवसाय गरिरहेका छन् । उनीहरुले काम गरेर राज्यलाई कर तिरिरहेका छन् । तर, घरधनीहरु डेराबहाललाई मान्छे नै ठान्दैनन् । पशुझैं व्यवहार गर्छन् ।
भाडामा बस्नेलाई बत्ती, पानी केही पनि चाहिँदैनजस्तो सोच्छन् र त्यसैअनुरुप व्यवहार गर्छन्, घरधनीहरु । फेरि शुल्कचाँहि मनलाग्दी असुल्छन् । त्यसैले, घरधनीहरुको प्रतिकारमा उत्रिन थालेका हुन्, डेराबहाल । घरधनीहरुको अत्याचारले सीमा नाघेपछि कतिपय डेराबहाल वडा पुगिरहेका छन् त कोही भाडा नतिरेर बसेका छन् । यद्यपि, वडामा डेराबहालको गुनासो सुनिँदैन । किनकि त्यहाँका जनप्रतिनिधि घरधनीकै भोटबाट आएका छन् । उनीहरु पनि घरधनीकै कुरा सुन्छन् । तैपनि डेराबहालहरुले हार मानेका छैनन् । उनीहरु पालिकासम्म पुगेर आफ्ना गुनासो पोखिरहेका छन् । घरधनीलाई कारबाहीको माग गर्छन् । तर, हुँदैन । त्यसैले, अब बालेन सरकारसँग डेराबहालहरुको आशा छ । सरकारलाई छिटो भाडा तोक्ने निर्णय गर्न उनीहरुको माग छ ।
सँगै डेराबहालसँग चर्को भाडा असुल्ने र सेवासुविधा नदिने घरधनीमाथि कडा कारबाहीको व्यवस्था गरिनुपर्छ । घरधनीहरु घरलाई आफ्नो निजी सम्पत्ति भन्दै मनलाग्दी भाडा उठाउँछन् । यदि निजी सम्पत्ति हो भने किनकि सार्वजनिक प्रयोजन ? निजी सम्पत्ति कति भाडामा लगाएको ? डेराबहाललाई झुक्याउन र लुट्न अनेकौं तरिका अपनाउँछन्, घरधनी । तर, अब यो कुराको विरोध देशभरका डेराबहालले गर्न आवश्यक छ ।

सबै डेराबहालले आआफ्नो ठाउँबाट विरोध गरेमा राज्य बाध्य हुनेछ, घरभाडा निर्धारण गर्न । त्यसैले, सबैले ठग घरधनीको विरोध गरौं । घरधनीलाई होइन, वडालाई भाडा तिरौं । किनकि जबसम्म जनता जाग्रँदैनन्, तबसम्म ठगहरुको साम्राज्य चलिरहन्छ ।
रुषा थापा
भक्तपुर