neapl investment mega bank
  • गृहपृष्ठ
  • प्रहरीमा दर्ता जाहेरी तथा निवेदनको प्रगति अब ‘फोन वा एसएमएस’बाटै

प्रहरीमा दर्ता जाहेरी तथा निवेदनको प्रगति अब ‘फोन वा एसएमएस’बाटै

Apr 9th, 2026

काठमाडौं, चैत २६

अब प्रहरीमा कुनै गुनासा, उजुरी तथा जाहेरी दिएर त्यसको कार्यान्वयन कहाँसम्म पुग्यो भनी जानकारी लिन हैरानी झेलिरहन नपर्ने भएकाे छ । 

नेपाल प्रहरीले अब मातहतका निकायमा प्राप्त भएका निवेदन, गुनासा तथा जाहेरीको प्रगतिबारे ‘फोन वा एसएमएस’बाटै जानकारी दिने भएको छ ।

नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता, प्रहरी नायब महानिरीक्षक अविनारायण काफ्लेले अब नागरिकका सेवा प्रभावकारी बनाउन फोन वा एसएमएसबाटै जानकारी दिने व्यवस्था सुरु गरिएको बताउनुभएको छ ।

प्रहरी प्रधान कार्यालयले एक सूचनामार्फत भनेको छ, “मुद्दा दर्ता हुने प्रहरी एकाइहरूसम्म सेवाग्राहीबाट प्राप्त हुन आएका उजुरी, निवेदन, गुनासो, जाहेरी दरखास्त आदि दर्ता भएपश्चात् त्यसको प्रगति के भयो र के–कसरी कार्यान्वयन भइरहेको छ भनेर सम्बन्धित सेवाग्राहीहरूले दिनुभएको सम्पर्क नम्बरमा फोन गरेर वा एसएमएसमार्फत सूचना दिने व्यवस्था लागू गरिएको व्यहोरा जानकारी गराउँदछौँ ।”

यसरी जानकारी दिँदा सेवाग्राहीहरू प्रहरी कार्यालयमा आउनु नपर्ने भएकाले समयको बचत हुने प्रहरीको निष्कर्ष छ ।