ललितपुर, चैत ९
नेपाल मेडिसिटी अस्पतालले स्कटल्याण्डको इमर्जेन्सी मेडिकल रिट्रिभल सर्भिस (EMRS) सँगको सहकार्यमा ‘एड्भान्स ट्रेनिङ एण्ड ट्रेनिङ फर ट्रेनर्स प्रोग्राम इन रिट्रिभल मेडिसिन’ नेपालमै पहिलो पटक आयोजना गर्न लागेको जानकारी सम्बन्धित सबैमा गराइन्छ ।
उक्त तालिम कार्यक्रम यही चैत २३ गतेदेखि २७ गतेसम्म सञ्चालन हुने तय भएको छ । यस कार्यक्रममार्फत देशमा आकस्मिक तथा गम्भीर बिरामीहरूको सुरक्षित र प्रभावकारी स्थानान्तरण सेवामा नयाँ आयाम थपिने अपेक्षा गरिएको छ ।
अस्पतालका इमर्जेन्सी तथा हाई अल्टिच्युड सर्भिस प्रमुख डा। सञ्जय काकीका अनुसार, तालिम विशेष गरी हेलिकप्टरमार्फत (एयर लिफ्ट) उद्धार गर्दा गम्भीर अवस्थाका बिरामीहरूको सुरक्षित स्थानान्तरण, व्यवस्थापन तथा उपचार प्रक्रियामा केन्द्रित रहनेछ । तालिमका क्रममा बिरामीलाई कसरी सुरक्षित रूपमा सार्ने, हेलिकप्टरभित्र बिरामीको उपयुक्त अवस्थिति कसरी कायम गर्ने तथा यात्रा अवधिभर आवश्यक हेरचाह कसरी गर्ने भन्ने विषयमा व्यावहारिक अभ्यास (मक टेस्ट) सहित प्रशिक्षण प्रदान गरिनेछ ।
उक्त कार्यक्रममा स्कटल्याण्डका विशेषज्ञ प्रशिक्षकहरूद्वारा प्रत्यक्ष प्रशिक्षण प्रदान गरिनुका साथै स्वीट्जरल्याण्ड, भारत र जापानका ख्यातिप्राप्त चिकित्सकहरूले आफ्ना अनुभवहरू समेत प्रस्तुत गर्नेछन् । तालिममा प्रि–हस्पिटल केयर तथा आकस्मिक चिकित्सा (इमर्जेन्सी) सेवामा संलग्न देशका विभिन्न प्रतिष्ठित सरकारी तथा प्राईभेट अस्पतालहरूबाट करिब ३० जना विशेषज्ञ स्वास्थ्यकर्मीहरूको सहभागिता रहनेछ । साथै, अस्पतालले उक्त तालिम निःशुल्क रुपमा संचालन गराउने समेत जानकारी गराएको छ ।
नेपाल मेडिसिटी अस्पतालका अध्यक्ष डा.उपेन्द्र महतोले , यस प्रकारका तालिम तथा कार्यक्रमले नेपालका स्वास्थ्य संस्था तथा सरोकारवालाबीच सहकार्य सुदृढ गर्दै देशको स्वास्थ्य सेवा स्तर अन्तर्राष्ट्रिय मापदण्डअनुरूप उकास्ने विश्वास व्यक्त गर्नु भएको छ। उहाँले स्वास्थ्यकर्मीहरुलाई अन्तर्राष्ट्रियस्तरको तालिम प्रदान गरेर गुणस्तरीय स्वास्थ्य सेवा सुनिश्चित गर्ने आफ्नो दीर्घदृष्टि साझा गर्दै, निःशुल्क तालिमले सबैमा अवसर र पहुँच विस्तार गर्ने बताउनुभएको छ। साथै,यस कार्यक्रमको सफल कार्यान्वयनमा उहाँले शुभकामना व्यक्त गर्नुभएको छ ।
त्यस्तै अस्पतालका प्रमुख कार्यकारी अधिकृत डा। अमित तोमरले इमरजेन्सी मेडिकल रिट्रिभल सर्भिस कार्यक्रमले बिरामीहरूको सुरक्षित स्थानान्तरण, व्यवस्थापन तथा उपचार प्रक्रियाको लागि नेपाली स्वास्थ्यकर्मीहरुलाई अझ गुणस्तरीय सेवा प्रदान गर्नमा थप टेवा पुर्याउने बताउनु हुँदै सबै पक्षहरु मिलेर यस तालिमबाट प्राप्त शीप तथा ज्ञानलाई उपचारको क्रमका उपयोग गर्न जोड दिनु भएको छ । साथै, उहाँले उक्त कार्यक्रमलाई सफलतापूर्वक सम्पन्न गर्न सबैपक्षसंग सहयोगको अपेक्षा गर्नुभएको बताउनुभएको छ ।
यस कार्यक्रमको मुख्य उद्देश्य नेपालमा रिट्रिभल मेडिसिन सम्बन्धी दक्ष जनशक्ति विकास गर्नु, गम्भीर बिरामीहरूको सुरक्षित तथा व्यवस्थित स्थानान्तरण प्रणालीलाई सुदृढ बनाउनु तथा अन्तर्राष्ट्रिय मापदण्डअनुसार आकस्मिक तथा क्रिटिकल केयर सेवाको स्तर उकास्नु रहेको छ ।