काठमाडौं, चैत ७
बीमाप्रति सर्वसाधारणको विश्वास घट्न थालेको छ । स्वास्थ्य, जीवन, र्निजीवन सबै बीमामा जनताको भरोसा घटिरहेको छ । त्यसैले, अहिले नयाँ बीमा गराउने वा पुरानो नवीकरण गर्ने एकदमै कम छन् । अर्थात्, धेरैले बीमा गर्नै छोडेका छन् । केही वर्षअघि एकदमै लोकप्रिय स्वास्थ्य बीमा गराउने अहिले निरन्तर घटिरहेका छन् । यस्तै, घरजग्गा र गाडीको पनि बीमा गर्न छोडिएको छ । बैंक तथा वित्तिय संस्थामा राखिएको निक्षेपको बीमा गर्न छोड्ने क्रम पनि बढ्दो छ । गत भदौ २३ र २४ गते भएको जेनजी प्रदर्शन र विध्वंशमा सरकारी तथा निजी सम्पत्तिमा आगो झोसियो । सरकारीतर्फ ८४ अर्ब ७७ करोड ४५ लाख र निजीतर्फ २७ खर्बको क्षति भएको थियो ।
जलेका अधिकांश संरचनाको बीमा गराइएको थियो । तर, इन्स्युरेन्स कम्पनीहरुले अहिलेसम्म बीमा रकम भुक्तानी गरेका छैनन् । यतिमात्र होइन, अघिल्लो दुई असोजमा देशभर आएको बाढीपहिरोले धेरै जनधनको क्षति पुर्यायो । करोडौंको धनमाल बाढीपहिरोले बगायो । विपद्मा ज्यान गुमाएका र बगाएर लगिएको धेरैजसो संरचनाको बीमा गराइएको थियो ।
त्यसको पनि बीमा कम्पनीहरुले अहिलेसम्म भुक्तानी दिन सकेका छैनन् । यसबाट प्रष्ट हुन्छ कि बीमा कम्पनी डुबिसके । नभए किन भुक्तानी नदिएको ? जनमानसमा विश्वास घटिरहँदा भुक्तानी दिएर फेरि विश्वास किन नजितेको ? पाँच वर्षयता देशभर छाएको मन्दीको असर बीमामा पनि देखिएको हो ।
अब रोचक कुरा, बीमा कम्पनी घाटामा गइरहँदा उसले निष्काशन गरेको सेयरको मूल्य निरन्तर बढिरहेको छ । एक सय रुपैयाँ प्रतिकित्तामा निष्काशन गरिएको सेयर पौने २९ सयमा बेचिरहेको अवस्था छ । जबकी कानूनअनुसार कुनै पनि वस्तु वा सेवामा दश प्रतिशत बढी नाफा खान पाइँदैन ।
तर, यहाँ त एक सयको सेयर पौने २९ सयमा किनबेच गरिएको छ । अनि यस्तो गर्नेलाई कारबाही हुने कि नहुने ? सेयरको मूल्य बढाउने र घटाउने ५०–६० जना दलाल हुन् । आफूले किन्ने बेला मूल्य स्वाट्टै घटाउने अनि बेच्ने बेला ह्वात्तै बढाउने काम उनीहरुले गर्दै आएका छन् । यद्यपि, सोझासाझा जनताले नाफा हुन्छ कि भनेर सेयरमा लगानी गरे ।
केही वर्षअघि ३२ सयको सेयर १७ सयसम्ममा झरेको रेकर्ड छ । निर्वाचनअघि २५ सयमा झरिसकेको सेयर राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले बहुमत ल्याएपछि पौने २९ सय पुगिसक्यो । सेयर दलालहरुले बजारमा भन्न थालेका छन्–अब सेयर प्रतिकित्ता चार हजारमाथि पुग्छ । हुन त दलालहरुले जहिल्यै सरकार गठनको बेला सेयरको मूल्य बढाउने वा घटाउने गर्दै आएका छन् । सरकार गठन हुन लाग्दा सेयरको मूल्य दिनहुँ बढाइदिन्छन् अनि गठन भएपछि स्वाट्टै घटाउँछन् । यही खेल फेरि शुरु भएको छ । दलालहरु जनता डुबाउन कसिएका छन् ।
सेयरमा मात्र होइन, घरजग्गा, गाडी र सुनमा पनि यस्तै छ । दश हजार रोपनीमा नबिक्ने खेतीयोग्य जमिन दलालहरुले खण्डीकरण तथा टुक्राटुक्रा पारेर आनाकै २५ लाखदेखि १४ करोडसम्म बेचे । एक रोपनीमा १६ आना हुन्छ । छिमेक भारत र चीनलगायतबाट ५० हजारदेखि बढीमा पाँच लाखमा किनेर ल्याइएको सवारीसाधन यहाँ अढाई लाखदेखि करोडौंमा बेचियो । सुन वि.सं. २०२२ सालसम्म प्रतितोला ८० रुपैयाँ थियो । त्यतिबेला चाँदी सित्तैमा पनि कसैले नलैजाने बुढापाका बताउँछन् । तर, केही महिनाअघि त्यही सुन तीन लाख ८० हजारमा बेचियो । चाँदी तोलाको दश हजारमा । सुन र चाँदी दुवैको मूल्य घट्न थालेको छ । यसमा लगानी गरेकाहरु केही समयमै डुबिसके । यो सबै गर्ने दलालीहरु हुन् । आफ्नो स्वार्थका निम्ति उनीहरुले जनता डुबाइरहेका छन् । अनि जीवनभर विदेशमा रगतपसिना बगाएर, स्वदेशमा व्यापार व्यवसाय गरी खाइनखाई जम्मा गरेको पैसाबाट घरजग्गा, गाडी, सेयर र सुनमा लगानी गरेकाहरु चुलुम्मै भएका छन् । जिन्दगीभरको दुःखको कमाई डुबेपछि कतिपयले सहन नसकेर आत्महत्यासमेत गरेका छन् ।
दलालीहरुले जनता यसरी डुबाएर मृत्युको मुखमा धकेल्दासमेत सरकारलाई केही मतलब छैन । सरकार आफ्नै पारामा छ । जनता डुबेपनि, मरेपनि सरकारलाई फरक परेको छैन । हुन त जनता डुबाउन दलालहरुलाई लाइसेन्स दिने नै सरकार हो । यदि सरकारले बेलैमा घरजग्गा, गाडी, सेयर र सुन कारोबारमा कडाई गरेको भए आज लाखौं जनता डुब्ने थिएनन् । तर, सरकारले अझै पनि केही नगर्ने हो भने अहिले त लाखौंमात्र जनता डुबेका छन्, केही समयपछि करोडौं जनता डुब्ने पक्का छ । जनता डुब्नु भनेको मुलुक डुब्नुसरह हो । विशेष गरी घरजग्गा, गाडी र सेयरमा जनताले गरेको लगानी डुबेपछि मुलुकको अर्थतन्त्रमा समेत त्यसको असर देखिँदैछ । जुन स्वभाविक हो । यस्तै रहिरहे अर्थतन्त्र टाट पल्टिनेछ । चाँहे बालेन सरकार नै किन नआओस् ।
किनकि बजारमा व्यापार व्यवसाय ठप्प छ । घरजग्गा कारोबार शून्य बराबर छ । सहकारी, लघुवित्त र फाइनान्समा करोडौंको बचत डुबेको छ । दलालीको लहैलहैमा परेर लगानी गर्दा लाखौं डुबेका छन् । सहकारीबाट ६३ लाख, बैंकबाट २२ लाख, लघुवित्तबाट २७ लाख जनताले ऋण लिएका छन् । मीटरब्याजमा पनि लाखौंले ऋण लिएका छन् ।
तर, उनीहरुले ऋण तिर्न सक्दैनौं भनेर हात उठाइसके । ऋणीले कर्जा नतिर्नु भनेको बैंक डुब्नु हो अनि बैंक डुब्नु भनेको निक्षेपकर्ता डुब्नु हो । हुन त हिजो बैंक, वित्तिय संस्थाहरुले सोझासाझा जनताले लुट्नु लुटे । घुसबिना ऋण नदिने अनि ऋणको ८० प्रतिशतसम्म ऋण, तीन प्रतिशत सेवाशुल्क असुल्ने र तीन किस्ता नतिर्नेबित्तिकै धितो लिलाम गरिहाल्ने । घरजग्गा, गाडी र सेयरमा लगानी गरेकै कारण थुप्रा जनता डुबेका छन् । सहकारी, लघुवित्त र फाइनान्स पनि यीनै क्षेत्रमा लगानी गर्दा डुबेका थिए अब बैंकमा पनि संकट आइसक्यो । तर, दलालहरु अहिले पनि जनता डुबाउन लागिपरेका छन् । डुब्न बाँकी रहेका जनतालाई खोजीखोजी उनीहरु फसाइरहेका छन् । त्यसैले, जनता सचेत हौं । दलालीको पछि नलागौं । लहैलहैमा लागेर कुनै पनि क्षेत्रमा लगानी नगरौं । किनकि सानो गल्तीले ठूलो क्षति पुर्याउनेछ ।
रुषा थापा
भक्तपुर