neapl investment mega bank
  • गृहपृष्ठ
  • जनता डुबाउन फेरि कसिए दलाली, लहैलहैमा लगानी नगरौं

जनता डुबाउन फेरि कसिए दलाली, लहैलहैमा लगानी नगरौं

Mar 11th, 2026

काठमाडौं, फागुन २७

बैंक, वित्तिय संस्था, हाइड्रोपावर, बीमालगायत विभिन्न कम्पनीमा संस्थापक शेयर हुने गर्छ । यस्तो शेयर कम्पनी खोल्दा पदाधिकारी, कर्मचारीसहित बाहिरी व्यक्तिले पनि खरिद गर्दछन् । एउटै व्यक्तिले लाखदेखि करोडौंको संस्थापक शेयर किनेको पाइन्छ । कम्पनी जति नाफामा जान्छन्, शेयरधनीलाई उत्तिकै बोनस आउँछ । निजी संघसंस्थाले वर्षेनी साधारणसभा र लेखापरीक्षण गर्नुपर्दछ र सोको प्रतिवेदन तथा जानकारी सम्बन्धित निकायलाई समेत खबर गराउनुपर्छ । विशेषगरी बैंक, वित्तिय संस्था, हाइड्रोपावर, बीमालगायत कम्पनीले हरेक वर्ष साधारणसभा गर्नुपर्छ । त्यसक्रममा यी संस्थाले आफ्नो संस्थाको पूँजी, खर्च, आम्दानीलगायतमा छलफल गर्नुका साथै संस्था नाफामा रहेको भएमा शेयर होल्डरलाई बोनस दिने घोषणा गर्दछन् । सोहीअनुरुप उनीहरुले शेयर होल्डरलाई बोनस दिन्छन् । तर, पछिल्लो पाँच वर्षयता बैंक, वित्तिय संस्था, हाइड्रोपावर, बीमालगायत कम्पनी घाटामा छन् । सहकारी त अधिकांश भागेको छ, नभागेका सहकारी डुबेका छन् । लघुवित्त र फाइनान्स पनि चुर्लुम्मै भएका छन् । बैंकमा पनि संकट देखिन थालिसकेको छ । जलविद्युत र इन्स्युरेन्स कम्पनीहरुको पनि व्यापार ठप्पै छ । यसले कुनै पनि संस्थाले आफ्ना शेयर होल्डरलाई बोनस दिन सकेका छैनन् । बैंक, वित्तिय संस्थाबाट कर्जा लिएकामध्ये पाँच लाख बढी ऋणी कालोसूचीमा परिसकेका छन् । यी संस्थाको कर्जा लगानी विशेषगरी घरजग्गा, गाडी र सेयरमा पाइन्छ । आँखा चिम्लेर यी वस्तुमा लगानी गरे । एक करोडको धितोलाई एकै करोड कर्जा दिइयो । हुन पनि त हो केही वर्षअघिसम्म घरजग्गाको मूल्य दिनमा दुई र रातमा चार गुणाले बढ्थ्यो । एक करोडको धितो तीन करोड पुग्ने त्यसमाथि ऋणीले साँवाब्याजसमेत तिर्ने भएकाले आफू नडुब्नेमा ढुक्क भएर बैंक, वित्तिय संस्थाले विलासित वस्तुहरुमा कर्जा लगानी गरे ।

अर्कोकुरा एक करोड कर्जा दिँदा दश लाख घुस, तीन प्रतिशत सेवाशुल्क, १२ प्रतिशत भनेर ८० प्रतिशतसम्म ब्याज असुल्ने अनि तीन किस्ता नतिर्नेबित्तिकै धितो लिलाम गरिहाल्ने । बैंक, वित्तिय संस्थाका पदाधिकारी तथा कर्मचारीहरु आफूलाई एकदम चलाख ठान्थे । ‘हामीलाई जस्तो पैसा चलाउन कसैलाई आउँदैन,’ उनीहरु गर्वका साथ भन्थे । पैसा चलाउने नाममा उनीहरुले हजारौंलाई सडकछाप अवस्थामा पुर्याए । ऋणीलाई फसाएर धितो लिलाम गरे । ती ऋणीहरु आज घर न घाटको अवस्थामा पुगेका छन् । तर, भनिन्छ नि पाप धुरीबाट कराउँछ । बैंक, वित्तिय संस्थाले ऋणीलाई आत्महत्या गर्नुपर्ने अवस्थामा पुर्याए त दलालहरुले बैंक, वित्तिय संस्था डुबाए । दलाल, भूमाफियाहरुले रोपनीको दश हजारमा नबिक्ने खेतीयोग्य जमिन टुक्राटुक्रा पारेर आनाकै २५ लाखदेखि करोडौंमा बेचेका थिए । एक रोपनीमा १६ आना हुन्छ । एक सय प्रतिकित्ताको सेयर ३२ सयमा बेचियो । छिमेक भारत र चीनबाट ५० हजारदेखि पाँच लाखमा किनेर ल्याइएको सवारीसाधन यहाँ डेढ लाखदेखि करोडौंमा बेचियो । वि.सं. २०२२ सालसम्म प्रतितोला ८० रुपैयाँ रहेको सुन केही महिनाअघि पौने चार लाखमा किनबेच भयो । पाँच दशकअघिसम्म चाँदी सित्तैमा पाएपनि कसैले लग्दैनन् थिए भन्नेहरु अझै भेटिन्छन् । तर, त्यही चाँदी केही महिनामा दश हजारमा खरिदबिक्री गरियो । घरजग्गा, गाडी, सेयर र सुन विलासित वस्तु हुन् । कानूनले नै यी वस्तुलाई विलासित भनेको छ । हामी कहाँ यिनै विलासित वस्तुमा आँखा चिम्लेर सर्वसाधारणदेखि बैंक, वित्तिय संस्थासम्मले लगानी गरे, दलालीको लहैलहैमा । शुरुमा एकाएक मूल्य बढेको देखेर सबै यसैमा आकर्षित भए । कुनै मेहेनतबिना मालामाल हुने भएपछि ऋण लिइलिइ घरजग्गा, गाडी र सेयर किनिएको पाइन्छ । तर, कसैले थाहा पाएनन् कि यी वस्तुको मूल्य कृत्रिम रुपमा बढाइएको हो । कृत्रिम मूल्य धेरैसमय टिक्दैन । तर, घरजग्गाm गाडी र सेयरको मूल्य जहिल्यै अकालो लागिरहने आशामा धेरैले लगानी गरे । यी क्षेत्रमा मन्दी छाएको पाँच वर्ष भइसकेको छ । अहिले घरजग्गा कारोबार ठप्प छ । ३२ सयको सेयर २६ सयमा झरिसक्यो । गाडीको पनि मूल्य घट्दो छ । यी तीन वस्तुमा लगानी गरेका सर्वसाधारणदेखि बैंक, वित्तिय संस्थासम्म अहिले पछुताइरहेका छन् । मानिसहरुले ऋण लिएर घर बनाए ।

उनीहरुले सोचेका थिए कि यो घर महँगोमा बेचेर लाखौं, करोडौं नाफा खान्छु । अहिले त घर बनाउँदा लागेको लागतको आधामा बेच्न खोज्दासमेत बिक्दैन । बैंकको साँवाब्याज बढ्दै छ, घर बिक्दैन । उता, बैंकलाई पनि समस्या । ऋणीले कर्जा नतिरेपछि बैंकले गर्ने भनेकै धितो लिलाम हो । पहिला पो धितो सजिलै बिक्थ्यो र रातारात मूल्य बढ्थ्यो । अहिले त जतिसुकै सस्तोमा दिँदासमेत बिक्री हुँदैन । सेयर र गाडीमा पनि यस्तै छ । दलालीको विश्वासमा पर्दा जनतादेखि बैंक, वित्तिय संस्थासम्म नराम्ररी डुब्न पुगेका छन् । सहकारीबाट ऋण लिएकामध्ये ६३ लाख, लघुवित्तका २७ लाख, बैंकका २२ लाख ऋणीले कर्जा तिर्न सकेका छैनन् । उनीहरुले हात उठाइसके । उता, मीटरब्याजमा ऋण लिएका लाखौंले पनि हात उठाइसके । हालै सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले बहुमत ल्याएको छ । योसँगै फेरि दलालीहरु जनता फसाउन कसिसकेका छन् । रास्वपाको सरकार बन्नेबित्तिकै घरजग्गा, गाडी र सेयरको मूल्य ह्वात्तै बढ्छ भन्दै बजारमा भ्रम फैलाइएको छ ।
त्यसैले, अब जनता सचेत हुनुपर्छ । लहैलहैमा लगानी गर्नुहुन्न । नभए राम्ररी डुबिनेछ । सरकार र सञ्चारमाध्यमहरुले पनि जनतालाई सतर्क गराउनुपर्छ । अफवाहको भरमा लगानी नगर्न सार्वजनिक रुपमा जनतालाई सचेत गराइनुपर्छ । किनकि जनता डुब्नु भनेको देश डुब्नुसरह हो । सहकारी, लघुवित्त र फाइनान्स डुब्दा जनता डुबे । फलस्वरुप आज मुलुककै अर्थतन्त्रमा संकट आयो । त्यसकारण थप संकट आउन नदिन समयमै आवश्यक कदम चालौं ।

दलालीको त कामै जनता ठग्ने हो । तर, त्यसबाट जनतालाई बचाउनु सरकार र सञ्चारमाध्यमको पनि दायित्व हो । यसैले, अब जनतालाई सचेत गराउने बेला आइसकेको छ । इरान र इजरायलबीच चलेको युद्धका कारण नेपालको प्रमुख श्रम गन्तव्य खाडी मुलुक गुम्ने अवस्थामा पुगेको छ । खाडी जान अब बन्द हुनेछ भने त्यहाँ रहेका नेपालीलाई पनि फर्काइँदैछ । देशभित्र रोजगारी छैन, खाडीमा प्रतिबन्ध अनि कसरी घरजग्गा, गाडी र सेयरको भाउ बढ्छ ? मान्छे आफैंले खाना नपाउने अवस्थामा कसले किन्छ यी वस्तु ? त्यसैले, जनता सचेत हौं ।
रुषा थापा
भक्तपुर