neapl investment mega bank
  • गृहपृष्ठ
  • मौन अवधिमा नगद वितरणको आशंकामा नेकपा एमालेका प्रतिनिधिसभा उम्मेदवार इन्द्र धारा विष्ट नियन्त्रणमा

मौन अवधिमा नगद वितरणको आशंकामा नेकपा एमालेका प्रतिनिधिसभा उम्मेदवार इन्द्र धारा विष्ट नियन्त्रणमा

Mar 4th, 2026

मुस्ताङ, फागुन २०

मौन अवधिको समयमा मतदातालाई नगद वितरण गर्दै गरेको आशंकामा इन्द्र धारा विष्ट नियन्त्रणमा परेका छन्। मुस्ताङ गाउँपालिका वडा नं. ५ निवासी तथा नेकपा एमालेका तर्फबाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार रहेका विष्टले वडा नं. ३ का स्थानीयलाई चुनाव प्रभावित पार्ने उद्देश्यले नगद वितरण गरिरहेको भन्ने आशंकापछि स्थानीयवासीले उनलाई नियन्त्रणमा लिई प्रहरीको जिम्मा लगाएका हुन्।

स्थानीय स्रोतका अनुसार घटनास्थलमा रहेका विष्टका तीन जना सहयोगी स्थानीयलाई देखेपछि फरार भएका छन्। उनीहरूको खोजतलासका लागि प्रहरी स्थानीयवासीको सहयोगमा सक्रिय रूपमा परिचालित रहेको जनाइएको छ।

विष्ट सवार गाडीसमेत प्रहरीले नियन्त्रणमा लिई खानतलासी प्रक्रिया अघि बढाएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको र बरामद सामग्री तथा अन्य तथ्यबारे विस्तृत विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ।

मौन अवधिमा कुनै पनि प्रकारको चुनावी प्रचार–प्रसार, मतदाता प्रभावित पार्ने गतिविधि वा प्रलोभन दिनु निर्वाचन आचारसंहिताविपरीत हुने व्यवस्था रहेको छ। घटनापछि क्षेत्रीय राजनीतिक वृत्तमा चर्चा बढेको छ भने सम्बन्धित पक्षको आधिकारिक धारणा सार्वजनिक हुन बाँकी छ।