neapl investment mega bank
  • गृहपृष्ठ
  • सुशासनको बलमा बनेको सुशीला सरकार आफैं भ्रष्टाचारको बाटोमा, दलहरु मौन

सुशासनको बलमा बनेको सुशीला सरकार आफैं भ्रष्टाचारको बाटोमा, दलहरु मौन

Feb 22nd, 2026

काठमाडौं, फागुन १०

प्रतिनिधिसभा सदस्यको निर्वाचन आउन केही दिनमात्र बाँकी छ । चुनावी सुरक्षार्थ सडकमा सुरक्षाकर्मी खटिन थालिसकेका छन् । नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, नेपाली सेना सडकमा खटिरहेका छन् । सँगै निर्वाचनका लागि भनेरै एक लाख ४९ हजार ९९० जना निर्वाचन प्रहरी पनि भर्ना गरिसकिएको छ । उनीहरुलाई पनि सडकमा खटाउन थालिसकियो । निर्वाचन प्रहरीको तलबभत्ता ठाउँअनुसार फरकफरक छ । हिमाली क्षेत्रमा खटिने निर्वाचन प्रहरीको सबैभन्दा बढी तलब हुँदा काठमाडौं उपत्यका र तराईमा खटिनेलाई कम छ । तर, निर्वाचन प्रहरीको पोशाक सबैको एकै खालको हो । उनीहरुले त्यो पोशाकको शुल्क तिर्नुपर्छ । सडकमा खटिएका निर्वाचन प्रहरीहरु भन्छन्, ‘हामीले आठ हजारमा यो ड्रेस किनेका हौं ।’
उनीहरुका अनुसार पैसा तिर्न नसकेमा पछि तलबबाटै ड्रेसको शुल्क काटिन्छ । निर्वाचन प्रहरीको ड्रेस निकै कमसल देखिन्छ । एक महिना पनि नटिक्ने खालका पोशाक छन् । त्यो पोशाक बढीमा दुईदेखि तीन हजारमा तयार भएको हुनसक्ने अधिकांश बताउँछन् । निर्वाचन प्रहरीहरु नै भन्छन्, ‘यस्तो पोशाक त बढीमा तीन हजारमा सजिलै तयार हुन्छ । तर, हामीले आठ हजार तिर्नुपर्यो ।’

निर्वाचन प्रहरीको पोशाकमा भ्रष्टाचार भएको भन्दै कतिपय सञ्चारमाध्यममा समाचारसमेत आइसकेका छन् । एउटा पोशाकमा साढे पाँच हजार रुपैयाँ भ्रष्टाचार हुँदा डेढ लाख ड्रेमा कति भयो होला ? यहाँ अर्बौ भ्रष्टाचार भएको छ । निर्वाचन प्रहरीमा भर्ना भएका अधिकांश आर्थिक अवस्था कमजोर भएका, बेरोजगार छन् । केही भएपनि कमाइन्छ भन्ने आशामा उनीहरु सकिनसकि भर्ना भएका हुन् । तर, उनीहरुलाई एक महिने जागिरको प्रलोभन देखाएर ठग्ने काम भयो । गत भदौ २३ र २४ गतेको जेनजी आन्दोलन केका लागि भएको थियो ? ७६ युवाको बलिदानीबाट बनेको सुशीला कार्की नेतृत्वको सरकार केका लागि हो ? अहिले प्रश्न उठ्न थालेको छ । भ्रष्टाचार विरोधी र सुशासनको नारा लगाएर बनेको सरकारकै निर्वाचन प्रहरी यसरी ठगिएका छन् । यसबाट जनताले के बुझ्ने ?

मुलुकमा सुशासन चाहिन्छ र भ्रष्टाचारमुक्त हुनुपर्छ भन्दा त्यत्रा युवाले ज्यान गुमाए । हजारौं घाइते र अंगभंग भए । खर्बौको सरकारी र निजी सम्पत्ति खरानी बन्यो । यसरी बनेको भ्रष्टाचारविरोधी सरकार आफैं त्यँही बाटोमा हिँड्न थालेको देखिँदैछ । चनावी सुरक्षाका निम्ति भर्ति गरिएका निर्वाचन प्रहरीकै पोशाकमा त अर्बौ भ्रष्टाचार गर्ने कार्की सरकारले अन्यमा के के अनियमितता गर्यो होला त ? हिजो राजनीतिक दलहरुले भ्रष्टाचार गरेर भनेर सडकमा बसेर विरोध गरे । अहिले सत्तामा पुगेपछि आफैं त्यँही बाटोमा हिँडिरहेका छन् । अनि के फरक भयो दलको सरकार र जेनजी सरकारमा ? मुलुक व्याप्त भ्रष्टाचार छ । जताततै अनियमितता छ । सरकारी कर्मचारीहरु हरेक चिजमा भ्रष्टाचार गर्छन् । कार्यालयको लागि एउटा हिटर किन्दासमेत हजारौं रकम भ्रष्टाचार गर्छन् । ठेक्कापट्टा, पूर्वाधार निर्माण, सामान खरिदलगायतमा त अर्बौ भ्रष्टाचार गर्छन् । घुस खाएर व्यापारीलाई अर्बौ राजस्व छुट दिन्छन् । सर्वसाधारणसँग पनि कामका लागि घुस माग्छन् । घुसबिना काम गर्न मान्दैनन्, कर्मचारी । त्यसमाथि प्रधानमन्त्री सुशीला कार्की र उनी नेतृत्वको क्याबिनेटमा रहेका धेरैजसो मन्त्री भूतपूर्व सरकारी कर्मचारी हुन् । उनीहरुलाई त थाहा छ कि कहाँ कसरी भ्रष्टाचार गर्ने हो ?

यसैले, उनीहरुलाई भ्रष्टाचार गर्नु गाह्रो काम होइन । हुन त सुशीला कार्की सरकारलाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने र काठमाडौं महानगरपालिकाका पूर्वमेयर बालेन्द्र साह (बालेन) को साथ छ । रवि र बालेन दुवैमाथि जेनजी आन्दोलन उकासेको आरोप छ । यतिमात्र होइन आन्दोलनको मौका छोपेर जेलबाट भागेका रवि र उनका समर्थकले छानीछानी अदालत जलाएको पनि आरोप छ । उनकै कारण दश जना कैदीबन्दीले ज्यान गुमाउनुपर्यो । बालेनमाथि पनि सिंहदरबार जलाएको आरोप छ । जेनजी आन्दोलनलाई बालेन र रवि दुवैको साथ थियो । उनीहरुले सार्वजनिक रुपमै आन्दोलनप्रति समर्थन जनाएका थिए । र, आन्दोलनलाई त्यो हदसम्म पुर्याउन निरन्तर उकासिरहे । आन्दोलनपछि कार्कीलाई उनीहरुकै सहमतिमा प्रधानमन्त्री बनाइएको हो । र, कार्कीले पनि उनीहरुले भनेझैं काम गर्दै आएकी छिन् ।

रवि र बालेनले जनताको आँखामा छारो हालेका छन् । जनताको भावनासँग उनीहरुले खेलेका छन् । जनताको विश्वासमाथि छुरा प्रहार गरेका छन् । उनीहरुको असली रुप विस्तारै बाहिरिँदैछ । त्यसैले, जनताको नजरमा उनीहरु गिर्दै गएका छन् । यद्यपि, सामाजिक सञ्जाललाई हातामा लिएर आफ्नो लोकप्रियता बढाउन उनीहरु लागिपरेको देखिन्छ । अब जनताले यस्ता ठगहरुको विश्वास गर्नुहुन्न । उनीहरुकै कारण ७६ युवाले ज्यान गुमाउनुपर्यो । खर्बौको क्षति व्यहोर्नुपर्यो । मुलुक शताब्दी पछाडिको अवस्थामा धकेलियो । सँगै दुई वर्षपछि हुने चुनाव यही फागुन २१ गते गर्नुपर्ने भयो । जनताले फेरि दुःख पाउनुपर्ने भएको छ । प्रतिनिधिसभाको चुनावमा २७ अर्ब रकम खर्च हुँदैछ । विकास बजेट कटौती गरेर यो रकम चुनावमा खर्चिन लागेको हो । जनताले मुलुकको विकासका लागि भन्दै खाइनखाई सरकारलाई कर तिर्ने, विदेशमा रगतपसिना बगाएर रेमिट्यान्स पठाउने । के जनताले चुनावका लागि कर तिरेका थिए ? रेमिट्यान्स पठाएका थिए ? भ्रष्टाचार गर्न कर र रेमिट्यान्स पठाएका हुन् ।

सीमित व्यक्तिहरुले आफ्नो स्वार्थका निम्ति देशै खरानी बनाए । विडम्बना, सर्वसाधारणदेखि राजनीतिक दलहरुसमेत यसबारे मौन छन् । कोही पनि चुइक्क बोल्दैनन् । आखिर किन ? आफ्नो स्वार्थका निम्ति देश खरानी बनाउनेहरुविरुद्ध जनता किन सडकमा आउँदैनन् ? दलहरु किन विरोध गर्दैनन् ? यदि जनता र दलले अहिले बोलेनन् भने भविष्यमा मुलुकमा झन् ठूलो क्षति व्यहोर्नुपर्नेछ । त्यसकारण देशका लागि भएपनि यिनीहरुको विरोध गरौं । आफ्नो स्वार्थका लागि देश जलाउने, अनि विकासको नारा लगाउने । जनता अब भ्रममा पर्नुहुँदैन । गलतलाई गलत र सहीलाई सही भन्न सिकौं । नभए त्यसको परिणाम जनता र देश स्वयम्ले भोग्नुपर्नेछ ।
रुषा थापा
भक्तपुर