neapl investment mega bank
  • गृहपृष्ठ
  • काठमाडौंमा सातौं नेपाल कल्चरल इन्टरनेशनल फिल्म फेस्टिभल सुरु

काठमाडौंमा सातौं नेपाल कल्चरल इन्टरनेशनल फिल्म फेस्टिभल सुरु

Jan 31st, 2026

काठमाडौं, माघ १७

नेपाल संस्कृति तथा चलचित्र केन्द्रको आयोजनामा ‘सातौं नेपाल कल्चरल इन्टरनेशनल फिल्म फेस्टिभल सुरु भएको छ । माघ १६ गते चाबहिलस्थित चलचित्र विकास बोर्डमा भएको उद्घाटनसमारोहमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय निर्णायक मण्डलका सदस्यहरू, विभिन्न देशबाट आएका अन्तर्राष्ट्रिय प्रतिनिधि तथा चलचित्रकर्मीहरूको उल्लेखनीय सहभागिता रहेको थियो ।

समारोहमा प्रमुख अतिथिका रुपमा चलचित्र विकास बोर्ड नेपालका अध्यक्ष श्री दिनेश डी.सी. राष्ट्रिय निर्णायक मण्डलतर्फ अभिनेत्री तथा निर्देशक दीपाश्री निरौला, चलचित्र लेखक तथा निर्देशक रमेश बुढाथोकी र निर्माता तथा छायाँकार रविन आचार्यको उपस्थित रहेका थिए । अन्तर्राष्ट्रिय निर्णायक मण्डलमा बेलायतकी निर्माता एड्रिना जुली कुलिग र अर्जेन्टिनाका निर्देशक तथा चिकित्सक डा. जर्ज गुइलेर्मो क्याराभोत्ता सहभागी रहेका थिए ।

उद्घाटन समारोहमा फ्रान्स, भारत, बंगलादेश, लिथुआनिया, जर्मनी, अमेरिका, अस्ट्रेलिया र इजरायललगायत विभिन्न देशबाट आएका ८ अन्तर्राष्ट्रिय प्रतिनिधिको उपस्थिति रहेको थियो । उनीहरूलाई नेपाली संस्कृति झल्कने ढाका टोपी र खादा ओढाएर आत्मीय स्वागत गरिएको थियो । समारोहमा सांस्कृतिक नृत्य तथा कला प्रस्तुति, साथै छनोट चलचित्रहरूको विशेष स्क्रिनिङ गरिएको थियो, जसले उद्घाटन कार्यक्रमलाई अझै भव्य र स्मरणीय बनाएको थियो ।

माघ १८ गतेसम्म सञ्चालन हुने यस महोत्सव चाबहिलस्थित चलचित्र विकास बोर्ड, भृकुटीमण्डपस्थित नेपाल पर्यटन बोर्ड र नेपाल पुलिस क्लबमा आयोजना रहनेछ । महोत्सवमा ३९ देशका ८५ चलचित्रहरू प्रदर्शन भइरहेका छन् । महोत्सवमा लघुचलचित्र, कथानक चलचित्र, वृत्तचित्र, एनिमेटेड चलचित्रसँगै महिला, बालबालिका, मानव अधिकार तथा सांस्कृतिक विषयवस्तुमा आधारित चलचित्रहरू समावेश गरिएका छन् । “तीन मिनेटदेखि साढे दुई घण्टासम्म अवधिका चलचित्रहरू महोत्सवका लागि छनोट भएका छन्,” महोत्सवका निर्देशक तथा अध्यक्ष सन्तोष सुवेदीले बताए । महोत्सवको समापन समारोह नेपाल पुलिस क्लबमा आयोजना गरिनेछ, जहाँ उत्कृष्ट चलचित्र, निर्देशक, अभिनेता, अभिनेत्री, छायाँकारलगायत विभिन्न विधामा उत्कृष्ट ठहरिएका चलचित्र तथा स्रष्टाहरूलाई अवार्ड तथा विशेष सम्मान प्रदान गरिनेछ ।