काठमाडौं, माघ १३
नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा मंगलबार सेयर बजारमा उल्लेख्य गिरावट आएको छ। नेप्से परिसूचक ४२.५८ अंकले घटेर २७२६.५१ विन्दुमा बन्द भएको छ। यसअघि सोमबार नेप्से २७६९.०९ विन्दुमा बन्द भएको थियो।
बजारमा कारोबार रकम पनि घटेको छ। सोमबार १६ अर्ब ३५ करोड रुपैयाँको कारोबार भएकोमा मंगलबार १४ अर्ब १६ करोड ७१ लाख ७९ हजार रुपैयाँबराबरको शेयर खरिदबिक्री भएको छ। यो दिन ३३३ स्टकको १ लाख ४२ हजार ४७६ पटक कारोबारमा ३ करोड २ लाख ६२ हजार कित्ता शेयर किनबेच भएका छन्।
सप्तकोशी डेभलपमेन्ट बैंकको शेयरमूल्य सर्वाधिक ८.५६ प्रतिशत बढेको छ। त्यसैगरी दरमखोला हाइड्रो इनर्जी र माया खोला हाइड्रोपावरको शेयरमूल्य करिब ८.५ प्रतिशत बढेको छ भने कर्पोरेट डेभलपमेन्ट बैंकको शेयरमूल्य साढे ६ प्रतिशतले उकालो लागेको छ।
कारोबारमा नयाँ आएको ओम मेगाश्री फर्मास्यूटिकल्सको शेयरमूल्य सर्वाधिक ६.९३ प्रतिशत घटेको छ।
कारोबार रकमका आधारमा राधी विद्युत कम्पनी शीर्ष स्थानमा रहेको छ। यस कम्पनीको ५७ करोड ८५ लाख रुपैयाँबराबरको शेयर कारोबार भएको छ। एसवाई प्यानल नेपालको साढे ५७ करोडभन्दा बढी र आँखु खोला जलविद्युत कम्पनीको ५१ करोड रुपैयाँभन्दा बढीको कारोबार भएको छ।
१३ उपसमूहमध्ये १२ वटाको परिसूचक घटेको छ भने एक उपसमूह स्थिर रहेको छ। वित्त उपसमूहको परिसूचक सर्वाधिक २.४४ प्रतिशत घटेको छ। बैंकिङ, विकास बैंक, होटल तथा पर्यटन, जलविद्युत, लगानी, जीवन बीमा, उत्पादन तथा प्रशोधन, लघुवित्त, निर्जीवन बीमा र अन्य उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढीले ओरालो लागेका छन्।
बजार विश्लेषकहरूका अनुसार हालको राजनीतिक अनिश्चितता र लगानीकर्ताको लाभ बुकिङका कारण बजारमा यो गिरावट आएको हुन सक्छ। लगानीकर्ताले आगामी दिनमा बजारको गतिशीलता हेरेर निर्णय लिनुपर्ने देखिन्छ।