काठमाडौं, माघ ८
साँस्कृतिक संरक्षणका लागि सञ्चालित आफ्नो “कल्चरल प्रोटेक्सन फन्ड” १० बर्षमा प्रवेश गरेको घोषणा गर्न पाउँदा ब्रिटिस काउन्सिल खुशी व्यक्त गर्दछ । नेपालसहित विश्वका १९ वटा देशमा द्धन्द्ध र जलवायु परिवर्तनका कारण जोखिममा परेका साँस्कृतिक सम्पदाको संरक्षणका लागि महत्वपूर्ण कार्यलाई निरन्तर दिन प्रतिवद्ध छ ।
सन् २०२२ देखि कल्चरल प्रोटेक्सन फन्डले नेपालमा आम नागरिकलाई इतिहास, पहिचान र आपसमा जोड्ने सम्पदाको संरक्षण र समुदायको सशक्तिकरणका लागि सहयोग गरिरहेको छ ।
फन्डमार्फत् भएका महत्व कार्य निम्न अनुसार छन्ः
नेपालमा कुसुन्डा जस्तो लोपोन्मुख भाषालाई सम्वन्धित समुदायले पुर्नजीवित गरिहेका छन् भने महिलाको नेतृत्वमा मैथिल कलालाई सृजनात्मक तरिकाले पुर्नजीवन दिएका छन् । त्यस्तै, डोल्पामा हिमाली गुम्बाहरुको संरक्षणका लागि काम भएका छन् भने गण्डकीको उच्च हिमाली क्षेत्रमा जलवायु परिवर्तनका कारण लोप हुन लागेका आदिवासी समुदायको खाद्य परम्परा (फुड ट्रेडिसन) लाई दस्तावेजमा उतार्दै यसको जर्गेना पहल अघि बढेको छ ।
बंगलादेशमा भरेन्द्रा रिसर्च म्युजिमले संग्रहालयमा संकलित सामाग्री तथा मौखिक परम्परालाई संरक्षण र सम्वद्र्धन गर्न व्यवसायिक व्यक्तिलाई तालिम प्रदान गरेको छ । पाकिस्तानमा इन्दुश डेल्टामा समुद्री सम्पदा र हजारा समुदायको शिल्पकलाको संरक्षणदेखि स्वात उपत्यकामा बुद्धका मूर्ति पुर्नस्थापना, ऐतिहासिक सिल्क रोडका भवन मर्मतका साथै कराँचीको खालिक्दिना हललाई एक जीवन्त साँस्कृतिक हवको रुपमा पुर्नस्थापनाका लागि सहयोग गरिएको छ ।
ब्रिटिस काउन्सिल नेपालका राष्ट्रिय निर्देशक रुस्तम मोदीले भन्नुभएको छः
“आम नागरिकको तहमा लगानी गरिरहँदा कल्चलर प्रोटेक्सन फन्डले सम्पदा संरक्षण गर्ने हाम्रो दिर्घकालिन प्रतिवद्धतालाई उजागर गरेको छ, नेपालभर व्यवसायिक विकासका लागि नयाँ अवसरहरु सृजना गर्दै हामीले नेपालमा साँस्कृतिक संरक्षणको भविष्यलाई नयाँ स्वरुप दिन र सम्पदाका क्षेत्रमा क्रियाशील अभ्यासकर्ताको सीपलाई सबल बनाउन र सञ्जाल निर्माणमा सहयोग गरिरहेका छौं ।”
समुदाय केन्द्रित यस प्रकारका पहलहरुले उनीहरुको पुनर्लाभ, उत्थानशीलता र नवीकरणमा महत्वपूर्ण योगदान गरेको छ । जसबाट समुदायलाई साँस्कृतिक बिषयबारे ज्ञान प्राप्त गर्न तथा पहिचान र साँस्कृतिक सम्पदामा आधारित भई भविष्य तय गर्न सहयोग गर्नेछ । सन् २०२६ मा कल्चरल प्रोटेक्सन फन्ड अन्तर्गत ब्रिटिस काउन्सिलले देशका विभिन्न भागबाट प्रतिनिधित्व गर्ने सम्पदा क्षेत्रका ३३ जना व्यवसायिक व्यक्तिलाई जनवरी २०–२३ सम्मका लागि क्षमता अभिवृद्धिसम्बन्धी कार्यशाला आयोजना गरिरहेको छ । कार्यशालामा सम्पदा आयोजना व्यवस्थापनका सीप र सञ्जाल निर्माणका साथै सम्पदा क्षेत्रका व्यवसायिक व्यक्ति र संस्थाको पूर्व तयारी लगायत बिषयमा उनीहरुलाई प्रशिक्षित गरिदैछ ।
यस कार्यक्रमले नेपाल र विश्वभरका साँस्कृतिक सम्पदाका अभ्यासकर्तालाई बिषयगत क्षेत्रमा समन्वय गराउँदै एक–आपसमा जोड्नेछ भने सम्पदाका क्षेत्रमा गरिने राष्ट्रिय तथा अन्तराष्ट्रिय पहलहरुमा थप प्रभावकारी रुपमा सहभागी हुन सहयोग गर्नेछ ।
कल्चरल प्रोटेक्सन फन्डबारे
कल्चरल प्रोटेक्सन फन्ड संयुक्त अधिराज्य (युके) ले जोखिममा रहेका साँस्कृतिक सम्पदा संरक्षणका लागि अघि बढाएको एक अन्तराष्ट्रिय कार्यक्रम हो । युकेको कल्चर, मिडिया एण्ड स्पोर्टस विभागको साझेदारीमा ब्रिटिस काउन्सिलको नेतृत्वमा सञ्चालित यस फन्डले सन् २०१६ देखि विभिन्न २० देशमा सम्पदाको माध्यमबाट समुदायको सशक्तिकरण सुनिश्चित गर्न १ सय ६० वटा परियोजनाका लागि सहयोग गरेको छ ।
नेपालमा रहेका परियोजनाबारे थाहा पाउनः
Nepal Food Archives
Archive Nepal
Icomos Nepal