काठमाडौं, माघ ७
मुलुकमा २०७२ असोज ३ गते संविधान बन्यो । त्यसपछि ०७४ मंसिर १० र २१ गते प्रतिनिधिसभा, प्रदेशसभा र राष्ट्रियसभा निर्वाचन भयो । प्रतिनिधिसभा निर्वाचनअन्तर्गत काभ्रेपलाञ्चोक क्षेत्र नम्बर २, बाट पत्रकार गोकुल बाँस्कोटाले नेकपा एमालेबाट टिकट पाए । उनी निर्वाचित भए । ०७४ फागुन ३ गते एमाले अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री बने । उनले बाँस्कोटालाई सञ्चार तथा सूचना प्रविधि मन्त्री बनाइदिए । मन्त्री बनेपछि नेपाल टेलिभिजनमा उनी अन्तरवार्ता दिन पुगे । त्यसक्रममा पत्रकारले उनलाई ‘तपाईंको सम्पत्ति कति छ ?’ भनेर सोधे । एउटा प्रश्न सोधेकै रिसमा तत्कालिन मन्त्री बाँसकोटाले पत्रकारको जागिर नै खाइदिए । मन्त्री भएकै बेला उनीमाथि ७० करोड भ्रष्टाचारको आरोप पनि लाग्यो । त्यसपछि उनको मन्त्री पद पनि गुम्यो । ०७९ मंसिर ४ गते प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचन भयो ।
एमालेबाट काभ्रे–२ मा उनैले टिकट पाए र विजय पनि भए । यो पटक एमालेले उनलाई मन्त्री दिएन । त्यसपछि अध्यक्ष ओली र उनीबीच नोकझोक शुरु भयो । उनी ओलीको विरोधमा लागे । अन्ततः गत मंसिर २९ गते सम्पन्न एमालेको एघारौं महाधिवेशनमा सचिव पदमा उम्मेदवारी दिएका उनी हारे भने आउँदो फागुन २१ गते हुन गइरहेको प्रतिनिधिसभा निर्वाचनका लागि पार्टीले उनलाई टिकट दिएन । काभ्रे–२, मा नेकपा, रास्वपा, नेपाली कांग्रेस र एमालेले उम्मेदवारी दिएको छ । मंगलबार सबै पार्टीका उम्मेदवारले मनोनयन दर्ता गराएका छन् । जेनजी आन्दोलनपछि देश र समाजले युवा मागिरहँदा यी सबै पार्टीका उम्मेदवार भने ४० वर्ष उमेर कटिसकेका छन् । अर्कोतर्फ, विभिन्न काण्डमा मुछिएका छन् । काभ्रे काठमाडौं उपत्यकासँग जोडिएको जिल्ला हो । काभ्रे–२, मा आधा दर्जन बढी स्थानीय तह छन् ।
यो क्षेत्रबाट राजनीतिक दलका उम्मेदवारहरुले पटकपटक निर्वाचन जितेपनि उपत्यकासँगै जोडिएको काभ्रे–हुम्ला, कालिकोटभन्दा अविकसित छ । त्यहाँ अझै पनि सडक, खानेपानी, बत्ती, शिक्षा, स्वास्थ्यको सुविधा पुगेको छैन । यतिसम्म कि सामान्य बिरामी हुँदा पनि काठमाडौं नै धाउनुपर्ने काभ्रेबासीको बाध्यता छ । दलका उम्मेदवारहरुलाई बारम्बार विश्वास गरेर काभ्रेबासीले पठाएपनि सिन्को नभाँचेपछि काभ्रेकै भुम्लु गाउँपालिका वडा नम्बर २, सिम्थलीका उमेश थापा चुनावी प्रतिस्पर्धामा उत्रिएका छन् । उनले पनि मंगलबार स्वतन्त्र उम्मेदवारी दिएका छन् । ०५२ माघ २६ गते जन्मिएका थापा ३० वर्ष भए । उनी पत्रकारसमेत हुन् । आफ्नो कलममार्फत काभ्रेका बेतिथिबारे आवाज उठाउँदै आएका उनी सुनुवाई नभएपछि चुनावी प्रतिस्पर्धामै उत्रिएको बताउँछन् । ‘उपत्यकासँगै जोडिएको जिल्ला भएपनि काभ्रेमा आधारभूत सुविधा पनि पुगेको छैन । जबकी संविधानले हरेक नागरिकलाई शिक्षा, स्वास्थ्य, खानेपानी, विद्युतलगायत सुविधाको प्रत्याभूत गरेको छ । मैले पत्रकारितामार्फत यसबारे पटकपटक आवाज उठाएँ । तर, राज्यको चौथों अंगलाई पनि सरकारले नजरअन्दाज गर्यो । त्यसैले, राज्यकै अंगमा गएर काभ्रेबासीको मात्र नभई देशभरका जनताको आवाज उठाउन उम्मेदवारी दिएको हुँ,’ उनले भने । थापाको बाबु प्रेमबहादुर थापा र आमा सुभद्रा थापा हुन् ।उनका बाबु पनि विकृतिविरुद्ध आवाज उठाउने निडर व्यक्तित्वका छन् । साथै, दुःख, गरिबलाई सहयोग गर्न पनि उनी पछि हट्दैनन् । उम्मेदवार उमेशले पत्रकारितामा स्नातकको उपाधि हासिल गरेका छन् । परिवारको आर्थिक अवस्था कमजोर रहेकोले आफ्नै संघर्षले यहाँसम्म आइपुगेको उनी बताउँछन् । उनी आफ्नो उम्मेदवारी काभ्रेबाट राजनीतिमा युवा प्रवेशको शुरुवात मात्र नभई संसद्मा काभ्रेबासीको आवाजका रुपमा बताउँछन् ।
आफूले स्वइच्छाभन्दा पनि काभ्रेबासीको चाहनाअनुरुप उम्मेदवारी दिएको जनाउँदै थापाले भने, ‘मलाई राजनीतिक दलका कार्यकर्ताले पनि भोट दिनुहुन्छ भन्ने आशा गरेको छु । दलभन्दा असल, इमानदार र आफ्नो जिल्लाका लागि केही गर्ने युवा व्यक्तिलाई उहाँहरुले छान्नुहुने छ भन्नेमा म विश्वस्तु छु ।’ दलबाट किन नउठ्नुभएको भन्ने हाम्रो प्रश्नमा उनले भने, ‘पार्टीलाई पैसा नदिई टिकट पाइँदैन । मसँग त्यत्रो पैसा छैन । अर्कोतर्फ, लाखौं–करोडौं पैसा दिई टिकट पाएर जितेपछि पदमा पुग्नासाथ सो रकम असुल्न भ्रष्टाचार गरिन्छ । मैले भ्रष्टाचार गर्न होइन, काभ्रेबासीको आवाज बन्न खोजेको हुँ । त्यसैले, स्वतन्त्र उम्मेदवारी नै रोजे ।’ त्यस्तै, आफ्नो पनि कर्म पत्रकारिता नै रहेकोले सञ्चारमाध्यमलाई पनि साथ दिन आग्रह छ । ‘मेरो आर्थिक अवस्था कमजोर छ । मसँग दलका उम्मेदवारजस्तो प्रचारप्रसार गर्न लाखौं रकम छैन । त्यसैले, मलाई मिडियाले साथ दिनुहुनेछ भन्ने आशा गरेको छु ।’ काभ्रेमा दलगत संगठन छन् । प्रायजसो सर्वसाधारण दलमै लागेका छन् । तर, यो पटक दलभन्दा माथि उठेर राम्रो व्यक्तिलाई छान्न उम्मेदवार थापा अनुरोध गर्छन् । कोही बाध्यता त कोही रहरले रोजगारीको सिलसिलामा विदेशिरहँदा आफ्नै देशमा दुःख, संघर्ष गरेर समग्र जनताको आवाज उठाइरहेका युवालाई यसपालि काभ्रेबासीले जिताउँछन् कि दल नै रोज्छन् ? हेर्न बाँकी छ । सिम्थली काभ्रेको दुर्गम ठाउँमध्ये एक हो । मुलुक पञ्चायती, बहुदलीय व्यवस्थामा रहँदा वा लोकतन्त्र गणतन्त्र आएपछि समेत सिम्थलीबाट कसैले सांसदको उम्म्ेदवारी दिएको दिएन । सिम्थलीबाटै पहिलो पटक उम्मेदवारी दिएका युवा उमेशलाई यसपालि काभ्रेबासीले भारी मतले जिताउँछन् भन्ने आशा गरिएको छ ।
काभ्रेबासीले आफूलाई जिताएमा राज्यबाट पाउने तलबभत्ता र सेवासुविधा केही पनि नलिने घोषणासमेत उनले गरे ।
‘जनता आफैं भोकभोकै हिँडिरहेको अवस्था छ, मलाई उनीहरुले रगत, पसिना बगाएर तिरेको कर चाहिँदैन । म उनीहरुको कर खान होइन, देश र जनताकै निम्ति केही गर्छु भनेर आएको हुँ । त्यसैले, देशभरका दुःखी, पीडित जनताको सदनमा प्रतिनिधित्व गर्नेगरी मैले काभ्रे–२ बाट स्वतन्त्र उम्मेदवारी दिएको हुँ,’ थापाले भने ।
रुषा थापा
भक्तपुर