काठमाडौं, पुस ३०
नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको ३८ औं वार्षिक साधारण सभा आज पुस ३० गते सम्पन्न भएको छ। सभा कम्पनीकी अध्यक्ष प्रेमा राज्य लक्ष्मी सिंहको अध्यक्षतामा केन्द्रीय कार्यालय लाजिम्पाटमा सम्पन्न भएको हो।
सभामा अध्यक्ष सिंहले विश्व अर्थतन्त्र विविध चुनौतीका बाबजुद लचिलो अवस्थामा रहेको उल्लेख गर्दै कोभिड महामारी तथा भू–राजनीतिक कारणले बढेको मुद्रास्फीति क्रमशः घट्दो क्रममा रहेकाले अधिकांश केन्द्रीय बैंकहरूले लचिलो मौद्रिक नीति अवलम्बन गरिरहेको बताइन्। उनले राष्ट्रिय तथ्यांक कार्यालयको अनुमान अनुसार आर्थिक वर्ष २०८१/८२ मा नेपालको आर्थिक वृद्धि दर ४.६१ प्रतिशत रहने भए पनि आगामी आर्थिक वर्ष २०८२/८३ मा बढ्दो राजनीतिक तथा सामाजिक अनिश्चितताले वृद्धिदरमा दबाब पर्न सक्ने आकलन प्रस्तुत गरिन्।
आर्थिक वर्ष २०८१/८२ मा कम्पनीको व्यवसाय सन्तोषजनक रहेको जनाउँदै उनले कुल बीमाशुल्क १०.२६ प्रतिशतले वृद्धि भई २ खर्ब २५ अर्ब ९९ करोड रुपैयाँ पुगेको जानकारी दिइन्। समीक्षा अवधिमा कुल बीमा करार दायित्व १८.८३ प्रतिशतले बढेर ९ खर्ब ४५ अर्ब ८८ करोड रुपैयाँ पुगेको छ। यस अवधिमा कम्पनीले विभिन्न शीर्षकमा ९४८ करोड ६५ लाख रुपैयाँ दाबी भुक्तानी गरेको छ।
कम्पनीको कुल लगानी ११.०४ प्रतिशतले वृद्धि भई ७ खर्ब ७९ अर्ब २० करोड रुपैयाँ पुगेको छ। लगानीबाट प्राप्त औसत प्रतिफल दर ८.७६ प्रतिशत कायम रहेको अध्यक्ष सिंहले जानकारी दिइन्।
लगानी विविधीकरणको क्रममा कम्पनीले हिमालयन बैंक लिमिटेडको २ करोड ८० लाखभन्दा बढी कित्ता संस्थापक सेयर खरिद गरी उक्त बैंकमा १३.६१ प्रतिशत स्वामित्व कायम गरेको छ। साथै, सहायक कम्पनी नेशनल क्यापिटल लिमिटेड सञ्चालनमा आई पहिलोपटक ७ प्रतिशत नगद लाभांश वितरण गरेको छ।
सभाले आर्थिक वर्ष २०८१/८२ का लागि कम्पनीको चुक्ता पूँजी ५ अर्ब ४७ करोड रुपैयाँमा ८.५ प्रतिशत नगद र ४ प्रतिशत बोनस सेयर लाभांश पारित गरेको छ। बोनस सेयरपछि कम्पनीको चुक्ता पूँजी ५ अर्ब ६९ करोड रुपैयाँ पुगेको छ, जसले नियामक निकायले तोकेको न्यूनतम पूँजीको मापदण्ड पूरा गरेको छ।
कम्पनीले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत स्वास्थ्य तथा शिक्षा क्षेत्रमा सहयोग गर्दै आएको उल्लेख गर्दै समीक्षा वर्षमा प्रधानमन्त्री दैवी प्रकोप राहत कोष तथा बालस्वास्थ्यसम्बन्धी संस्थालाई गरी ७० लाखभन्दा बढी आर्थिक सहयोग प्रदान गरिएको जानकारी दिइयो।
सभाको समापनमा अध्यक्ष सिंहले नेशनल लाइफ इन्स्योरेन्स आगामी दिनमा पनि आम नागरिकको जीवन बीमा आवश्यकतामा अग्रणी बीमकका रूपमा सेवा प्रदान गर्दै जाने विश्वास व्यक्त गरिन्।