काठमाडौं, पुस २७
“पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस-२०८२” का अवसरमा जङ्गी अड्डामा आयोजित विशेष समारोहमा राष्ट्र निर्माता सलामी अर्पण गरिएको छ । सोही अवसरमा प्रधान सेनापति महारथी श्री अशोक राज सिग्देल लगायत पूर्व प्रधान सेनापति, रथीवृन्द, अधिकृत तथा अन्यदर्जाले श्री ५ बडामहाराजधिराज पृथ्वीनारायण शाहको सालिकमा पुष्पहार अर्पण गर्नु भएको छ ।
उक्त कार्यक्रममा पौष २१ गते गोरखा दरबारबाट राष्ट्रिय झन्डा तथा नेपाली सेनाका प्रथम पाँच पल्टन (श्रीनाथ, कालीबक्स, बर्दबहादुर, सबुज तथा पुरानो गोरख) को झन्डा र दिपज्योति सहित सुरु भएको एकीकरण मार्ग पदयात्रा गोरखा, धादिङ, नुवाकोट हुँदै हनुमान ढोका पुगेर आजै बिहान श्री ५ बडामहाराजधिराज पृथ्वीनारायण शाहको तस्बिर बग्गीमा राखी नगर परिक्रमा पश्चात् जङ्गी अड्डामा सहभागी भएको थियो ।
सो समारोह पश्चात् सभामण्डपमा आयोजित कार्यक्रममा पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसको उपलक्ष्यमा सञ्चालन भएको कविता प्रतियोगिताको उत्कृष्ट कविताहरू वाचन, लघु नाटक प्रस्तुति एवं इतिहासविदद्वारा नेपाल एकीकरणमा राष्ट्रनिर्माता श्री ५ बडामहाराजधिराज पृथ्वी नारायण शाहको देनको बारेमा प्रवचन भएको थियो । साथै, उक्त समारोहमा विभिन्न प्रतियोगिताका विजयी एवं निर्णायकहरू र प्रवाचकहरूलाई प्रधान सेनापतिले पुरस्कार एवं सम्मान प्रदान गर्नु भएको थियो ।
पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसको सन्दर्भमा इतिहासको जगेर्ना, पुर्खाको योगदानको संरक्षण तथा पुरातात्त्विक महत्वका संरचनाको संवर्द्धन र प्रवर्द्धन गर्ने उद्देश्यले नेपाली सेनाद्वारा गोरखा काठमाडौँ लगायत धरानको फुस्रेबाट धनकुटाको पाख्रीबाससम्म ऐतिहासिक साँघुरीगढी पदयात्रा, उदयपुरको उदयपुरगढी-चौदण्डी गढी पदयात्रा, इलामको नागरीगढी देखि माईस्थानसम्म निशान पदमार्ग पदयात्रा, रामेछापको तिल्केस्थान गढी पदयात्रा जस्ता कार्यक्रमहरू सञ्चालन भईरहेका छन् । ३०४ औँ पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसको अवसरमा मुलुकभर एवं विदेशमा समेत नेपाली सेनाका युनिटहरूमा विविध कार्यक्रमहरू आयोजना गरिएको छ ।