neapl investment mega bank
  • गृहपृष्ठ
  • सरकारी सम्पत्ति जलाउनेलाई छुट, बैंकबाट पीडितलाई जेल ! यो कस्तो सुशासन हो, सुशीला सरकार ?

सरकारी सम्पत्ति जलाउनेलाई छुट, बैंकबाट पीडितलाई जेल ! यो कस्तो सुशासन हो, सुशीला सरकार ?

Jan 9th, 2026

काठमाडौं, पुस २५

राष्ट्र, राष्ट्रियता संरक्षण तथा नागरिक बचाऊ अभियानका केन्द्रीय अध्यक्षसमेत रहेका मेडिकल व्यवसायी दुर्गा प्रसाईँले राजतन्त्र फर्काउने भन्दै २०८१ चैत १५ गते काठमाडौंको तीनकुनेमा भेला डाँके । भेला एकाएक हिंसात्मक बन्दा दुई जनाको निधन भयो । राजा फर्काउने भन्दै सडकमा आएकाहरुले व्यक्तिको निजी सम्पत्तिमा क्षति पुर्याए ।
आन्दोलनको फाइदा उठाएर कोटेश्वरस्थित भाटभटेनीमा लुटपाट गरियो । स्याऊ र सुन्तलासमेत चोर्ने काम भयो । भाटभटेनीमा रहेका सुरक्षागार्डले चोरलाई हिर्काएर थप चोर्नबाट रोेकेका थिए । भाटभटेनी साहु मीनबहादुर गुरुङ्गले ती गार्डलाई नगद पुरस्कारले सम्मान गरे । उनको पद पनि बढाइयो । सामान चोर्नेहरुविरुद्ध भाटभटेनीले जाहेरी दियो । प्रहरीले झ्याप कि झ्याप समात्यो । स्याऊ चोर्नेमाथि समेत मुद्दा चलेको थियो । त्यो दिन अन्य व्यक्तिहरुको सम्पत्तिमा क्षति पुगेपनि भाटभटेनी भने तोडफोड र आगजनीबाट जोगिएको थियो । आन्दोलनकारीले ढुंगा हान्दा केही सिसा भने फुटेका थिए । भाटभटेनीमा लुटपाट गर्नेदेखि सामान चोर्ने सबैलाइ प्रहरीले समात्यो । कति जेल चलान भए भने कति धरौटीमा छुटे । स्याऊ चोर्नेमाथि मुद्दा चल्दा आन्दोलनको नाममा सरकारी सम्पत्ति र निजी सम्पत्तिमा आगजनी गर्नेहरुलाई किन छुट ? सुशीला कार्की नेतृत्वको सरकारलाई जनताको प्रश्न हो यो ।

भदौ २३ र २४ गते मुलुकमा जेनजी प्रदर्शन भयो । शान्तिपूर्ण भनिएको प्रदर्शन एकाएक हिंसात्मक र ध्वशांत्मक बन्यो । मुलुकको ऐतिहासिक धरोहरहरु जलेर खरानी बनेको छ । सरकारी सम्पत्तिमा क्षति पुगेको छ । निजी सम्पत्तिमा आगो लगाइएको छ । राजावादीको आन्दोलनमा निशानामा परेको भाटभटेनी जेनजीको आन्दोलनमा पुनः निशानामा पर्यो ।
भाटभटेनीमा तोडफोड मात्र होइन, आगजनी नै भयो । दर्जनौं भाटभटेनीमा क्षति पुगेकोमा कतिपय भत्काउनैपर्ने भएको छ । अन्य व्यापारिक प्रतिष्ठानहरुमा पनि ठूलो क्षति भएको छ । तर, सुशासनका लागि बनेको कार्की सरकार उनीहरुलाई कारबाही गर्न तयार छैन । राज्य र व्यक्तिको सम्पत्तिमा आगो लगाउनेलाई कार्की सरकारले नसमात्ने सम्झौता गरेको छ ।
समातेकोलाई पनि छोडिएको छ । जसले मुलुकमा दण्डहीनतालाई प्रश्रय दिएको देखिन्छ । आन्दोलनको नाममा सरकारी र निजी सम्पत्तिमा आगो लगाउँदै जाने र सरकारले उनीहरुलाई छुट दिँदै गर्ने हो भने मुलुकमा शान्तिपूर्ण अवस्था बन्छ ? देश उमो लाग्छ ? सरकारले यस विषयमा गम्भीर भएर सोच्नुपर्ने अवस्था छ । आन्दोलनको नाममा अर्काको सम्पत्ति आगो लगाउने अधिकार कसैलाई छैन । जति पनि सरकारी सम्पत्ति छ, त्यो सबै जनताले तिरेको कर र वैदेशिक ऋणबाट निर्माण भएको हो । त्यसमा सबै जनताको सराबरी अधिकार छ । अनि कसैले आफूलाई रिस उठ्यो भन्दैमा सरकारी सम्पत्तिमा आगो लगाउन पाइन्छ ? अनि सरकार पनि तिनलाई छोड्छ । यो कस्तो कानुन हो ? यस्तो सरकारलाई सुशासनको सरकार भन्ने कि कुशासनको ? जेनजी प्रदर्शनमा ८४ अर्बको सरकारी सम्पत्ति क्षति भएको छ । सरकारी गाडीहरु जलेर कबाड बनेको छ । सिंहदरबार, संसद् भवन, राष्ट्रपतिको कार्यायल, सर्वोच्च अदालतलगायत सयौं संरचना खरानी बनेको छ ।

सरकारले उनीहरुलाई छोड्ने निर्णय गर्नुहुन्छ ? सरकारले अहिले तिनीहरुलाई छुट दिने हो भने त्यहीँ बानीको विकास हुँदै जान्छ । राजनीतिक आन्दोलन भन्छन्, सरकारी र निजी सम्पत्ति जलाउँदै जान्छन् । त्यसपछि देशमा शान्ति रहन्छ ? देशमा अमनचयन कायम रहन्छ ? जनताले यहाँ गरिखाने वातावरण रहन्छ ? सरकारी सम्पत्ति जलाउनेको अगाडि निरीह अहिलेको सरकार पीडितलाई भने समात्छ । जसको उदाहरण केही दिनअघि देखियो । बैंकबाट पीडितले आत्मदाहको प्रयास गर्दा प्रहरीले उसैलाई समातेर लग्यो । उसको पीडा कसले सुनिदिने ? सरकारले सुन्नुपर्छ कि पर्दैन ? बैंक तथा वित्तिय संस्थाबाट यहाँ लाखौं पीडित भएका छन् ।
बैंक तथा वित्तिय संस्थाले ऋणीहरुलाई सुकुम्बासी बनाइरहेको अवस्था छ । करोडको धितो लाखमा पचाउने काम भइरहेको छ । अनि पीडितले त्यसको विरोध गर्न पनि नपाउने ? जुनसुकै सरकार आएपनि सँधै पीडककै पक्षमा उभिने ? बैंक तथा वित्तिय संस्थाका कारण धेरै ‘मर्नु न बाँच्नु’ को अवस्थामा पुगेका छन् । गलतको विरोधमा बोल्दा समात्ने सरकारले सरकारी सम्पत्ति जलाउनेलाई किन छोडियो ? जनताले आफ्नो पीडा पनि सुनाउन नपाउने यो कस्तो लोकतन्त्र हो ? सरकारको यो दमनपूर्ण व्यवहारले मुलुकमा फेरि अर्को आन्दोलन हुन बेर छैन । मीटरब्याज, लघुवित्त, बैंक, फाइनेन्स, सहकारीबाट करोडौंको संख्यामा पीडित छन् ।
उनीहरु आफूलाई एकत्रित गरिदिने मान्छेको खोजीमा छन् । उनीहरु सडकमा आए भने सरकारले थेग्न सक्दैन । त्यसैले पीडितको पीडा सुनिदिऔं । स्ट्रिङलाई जति थिच्यो, त्यो त्यति माथि उफ्रिन्छ । सरकारले बैंक तथा वित्तिय संस्थाको पीडालाई नजरअन्दाज गरिरहेको छ । उनीहरुमाथि थिचोमिचो भइरहेको छ ।

यसको सरकारले एकदमै नमिठो नतिजा भोग्नपर्ने हुनसक्छ । अहिले नै यो विषयमा सचेत बन्दा राम्रो होला । सरकारको सम्पत्तिमा आगो लगाउनेलाई छुट दिने अनि आफूले बैंकको ऋण तिर्न सकिएन, मलाई सुकुम्बासी बनाइदियो भन्नेलाई चाँहि जेल कोच्ने ? पीडितलाई झनै पीडित बनाउने यो देशको कानुन कस्तो हो ? ऋणीले आफ्नो पीडा सुनाउन नपाउने ? नेपालको संविधान–२०७२ ले हरेक नागरिकको बोल्न पाउने अधिकारको सुनिश्चितता गरेको छ । कसैले कुनै नागरिकलाई सुकुम्बासी बनाउन नपाउने कानुन छ । तर, यहाँ त बैंकविरुद्ध बोल्दा समातिन्छ । सरकारले दुई जनालाई त समात्ला ।
अरुले पनि त्यसै गरे भने सरकारले त्यतिबेला के गर्ला ? बैंकहरुको हविगत के होला ? बैंकले विगतदेखि नै दादागिरी देखाउँदै आएको छ । ऋण दिँदा १० प्रतिशत घुस खाने, तीन करोडको धितो ९० लाखमा खाइदिने अनि बैंककै ठूला कुरा ? बैंक तथा वित्तिय संस्थाले आठ प्रतिशत ब्याज भनेर ८० प्रतिशत ब्याज असुल्छन् । भन्ने बेला सेवाशुल्क एक प्रतिशत, लिने भने तीन प्रतिशत । बैंकको कारणले कतिपयले आत्महत्या गरे । तर, उनीहरुको पीडा कहिल्यै सरकारले बुझेन । सरकार सँधैं बैंक तथा वित्तिय संस्थाको पक्षमा उभियो । ऋण दिने नाममा बैंकले ठगेको सरकारले कहिल्यै पनि देखेन ।

अझैपनि तिनै बैंकको पक्ष लिने काम सरकारले गरिरहेको छ । बैंक तथा वित्तिय संस्था र सरकारले यसको ठूलै मूल्य चुकाउनुपर्ने हुनसक्छ । भनिन्छ नि,‘एकतामा बल हुन्छ ।’ भोलि सबै बैंक तथा वित्तिय संस्थाका पीडित सडकमा आए भने के हुन्छ ? सरकारले कति जनालाई समात्न सक्छ ?
आन्दोलनकारीमाथि दमन गर्न खोज्दा केपी शर्मा ओलीको सरकार २७ घण्टामा ढल्यो । आफ्नै ज्यान जोगाएर भाग्नुपर्ने अवस्था बन्यो । यो अवस्था फेरि नआउला भन्न सकिन्न । सहकारी पीडितको संख्या ६३ लाख छ । बैंक पीडित २२ लाख, लघुवित्त पीडित २७ लाख रहेको छ । मीटरब्याज पीडित त कति हो कति । सहकारीमा बचत फसेकाको संख्या करोडमा छ ।

उनीहरु एकजुट भए भने सडकमा जनसागर उत्रिन्छ । सरकार अहिले नै सचेत बनिदिओस् । पीडितमाथि दमन होइन, उनीहरुलाई न्याय दिऔं । घटनाको सत्यतथ्य पत्ता लगाऔं । पीडित को, पीडक को ? छुट्याऔं अनि मात्र फैसला गरौं ।
अनुसा थापा
भक्तपुर