neapl investment mega bank
  • गृहपृष्ठ
  • पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस विविध कार्यक्रमका साथ मनाइँदै

पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस विविध कार्यक्रमका साथ मनाइँदै

Jan 5th, 2026

काठमाडौं, पुस २१

३०४ औं पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस-२०८२ विविध कार्यक्रमहरू सहित मनाउने सिलसिलामा नेपाल एकीकरणको दौरान प्रयोग भएको गोरखा-काठमाडौँ एकीकरण मार्ग पदयात्रा कार्यक्रम आज मिति २०८२ पौष २१ गते गोरखा दरबारबाट शुभारम्भ भएको छ । शुभारम्भ कार्यक्रममा गोरखा जिल्ला न्यायाधीश, जिल्ला समन्वय समितिका प्रमुख, गोरखा नगरपालिकाका प्रमुख, पश्चिम पृतनाका पृतनापति, स्थानीय जनप्रतिनिधि, प्रमुख जिल्ला अधिकारी, जिल्ला स्थित सरकारी कार्यालय तथा सुरक्षा निकायका प्रमुख/प्रतिनिधि, विभिन्न सङ्घसंस्थाका प्रतिनिधिहरू, सञ्चारकर्मी, सर्वसाधारण लगायतको उपस्थिति रहेको थियो ।

पदयात्रामा नेपालको राष्ट्रिय झन्डा, नेपाली सेनामा सबैभन्दा पहिले खडा भएका ५ (पाँच) कम्पनीहरू (श्रीनाथ, कालीबक्स, बर्दवाणी, पुरानो गोरख तथा सबुज) को झन्डा र टर्चसहित गोरखा जिल्लामा तैनाथ श्री रुद्रध्वज गणबाट ऐतिहासिक सैनिक पोसाक तथा परम्परागत बाजागाजासहितको टोली सहभागी रहेको छ। पदयात्रा कार्यक्रम थादिङ, नुवाकोट हुँदै हनुमानढोका पुगेर पौष २७ गते जङ्गी अड्डामा आयोजना हुने विशेष समारोहका बिच समापन हुनेछ ।

पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस-२०८२ को अवसरमा पौष २७ गते जङ्गी अड्डास्थित सभामण्डपमा राष्ट्र निर्माता श्री ५ बडामहाराजाधिराज पृथ्वीनारायण शाहको देन सम्बन्धी प्रवचन, लघु नाटक तथा वृत्तचित्र प्रदर्शनी, कविता प्रतियोगिता लगायतका कार्यक्रमहरू आयोजना हुनेछ। त्यस्तै, पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसलाई भव्य रूपमा मनाउन देशभर र विदेशमा तैनाथ नेपाली सेनाका विभिन्न इकाईहरूमा विविध कार्यक्रमहरू सञ्चालन भई रहेका छन् ।