neapl investment mega bank
  • गृहपृष्ठ
  • निर्वाचन २०८२ लाई प्रविधिमैत्री बनाउन ‘गल्ली म्याप्स’ को नयाँ पहलः मतदाताले अब मोबाइलबाटै मतदान केन्द्र पहिल्याउन सक्ने

निर्वाचन २०८२ लाई प्रविधिमैत्री बनाउन ‘गल्ली म्याप्स’ को नयाँ पहलः मतदाताले अब मोबाइलबाटै मतदान केन्द्र पहिल्याउन सक्ने

Jan 4th, 2026

काठमाडौं, २० पौष

नेपालको आफ्नै डिजिटल नेभिगेसन प्लेटफर्म, गल्ली म्याप्स (Galli Maps) ले आगामी आम निर्वाचन २०८२ लाई लक्षित गरी नागरिकहरूका लागि मतदान स्थल सहजै पत्ता लगाउन सक्ने विशेष ‘मतदाता पहुँच (Voting Center Navigation Feature) सुविधा सार्वजनिक गरेको छ। सञ्चार तथा सूचना प्रविधि मन्त्रालय एवं ललितपुर महानगरपालिकाको प्राविधिक सहकार्यमा विकास गरिएको यो फिचर आज पाटन दरबार क्षेत्रमा आयोजित एक विशेष समारोहका बीच सार्वजनिक गरिएको हो। यस नवीन सुविधाले मतदाताहरूलाई दुई सरल तरिकाबाट मतदान केन्द्र पहिचान गर्न र त्यहाँसम्म पुग्न मार्गनिर्देशन प्रदान गर्दछः

१. भोटर आइडीमा आधारित नेभिगेसन मतदाताले आफ्नो भोटर परिचयपत्र नम्बर प्रविष्ट गर्नासाथ गल्लि म्याप्सको प्रणालीले उनीहरूलाई तोकिएको मतदान केन्द्रको सटीक स्थान र पुग्ने बाटो देखाउनेछ। २. प्रशासनिक छनोटमा आधारित नेभिगेसन: मतदाताहरूले आफ्नो प्रदेश, जिल्ला. स्थानीय तह र वडा चयन गरी आफ्नो मतदान स्थल पहिल्याउन र नेभिगेसनको सुविधा लिन सक्नेछन्।

कार्यक्रमका प्रमुख अतिथि माननीय सञ्चार तथा सूचना प्रविधि मन्त्री श्री जगदीश खरेलज्यूले मोबाइल एपमार्फत उक्त फिचरको विधिवत् समुद्घाटन गर्नुभयो। सो अवसरमा सम्बोधन गर्दै मन्त्री खरेलले भन्नुभयो-“स्वदेशी युवाहरूको नवीन सोचले देशको निर्वाचन प्रक्रियामा ठूलो सहयोग पुर्याएको छ। यो सुविधाले हाम्रो ‘Most Informed Election’ को राष्ट्रिय भिजनमा थप ऊर्जा प्रदान गरेको छ।”

त्यस्तै, विशिष्ट अतिथि ललितपुर महानगरपालिकाका प्रमुख श्री चिरीबाबु महर्जनज्यूले गल्ली म्याप्ससँगको विगतको सहकार्य स्मरण गर्दै भन्नुभयो- “गल्ली म्याप्सले स्थानीय स्तरमा पुऱ्याएको योगदान सराहनीय छ। उहाँहरूको यो भिजनमा ललितपुर महानगरलाई सहभागी गराउनुभएकोमा धन्यवाद दिँदै म सम्पूर्ण नागरिकलाई आगामी निर्वाचनमा आफ्नो मताधिकार प्रयोग गर्न आह्वान गर्दछु। प्रविधिको यो प्रयोगले निर्वाचनलाई अझ बढी व्यवस्थित बनाउनेछ।”

गल्ली म्याप्सका प्रमुख कार्यकारी अधिकृत (CEO) राज बिक्रम महर्जनले सानो समस्याबाट सुरु भएको यो यात्राले आज देशको ठूलो राष्ट्रिय उत्सव (निर्वाचन) मा सहयोग गर्न पाएकोमा खुसी व्यक्त गर्नुभयो। उहाँले भन्नुभयो- “हाम्रो प्रस्तावलाई विश्वास गरी साथ दिनुहुने मन्त्रीज्यू, मेयरज्यू र सूचना प्रविधिसँग सम्बन्धित उच्च व्यक्तित्वहरूप्रति हामी कृतज्ञ छौँ। आगामी फागुन २१ को निर्वाचनमा बढीभन्दा बढी नागरिकले यो प्रविधिको प्रयोग गरी आफ्नो मतदान केन्द्र सजिलै पहिल्याउन सकून् र यो निर्वाचनलाई साँच्चिकै ‘Most Informed Election’ बनाउन सहयोग पुगोस् भन्ने हाम्रो ध्येय हो।”

कार्यक्रममा विभिन्न ओहोदाका सरकारी अधिकारी तथा उच्चपदस्थ व्यक्तित्वहरूको व्यापक सहभागिताले कार्यक्रमको गरिमा र महत्त्वलाई थप उजागर गरेको थियो।

गल्ली म्याप्सको बारेमा

गल्ली म्याप्स नेपालको आफ्नै मौलिक र अत्याधुनिक डिजिटल नेभिगेसन प्लेटफर्म हो। यसले नेपालका ठूला सडकदेखि सहरका भित्री गल्लीहरू र स्थानीय घर नम्बरहरूसम्मको विस्तृत एवं भरपर्दो भौगोलिक तथ्याङ्क उपलब्ध गराउँदै आएको छ। नेपाली माटो र यहाँको विशिष्ट सहरी संरचनालाई केन्द्रमा राखेर विकास गरिएको यो प्रविधिले हरेक नागरिकलाई आफ्नो गन्तव्यसम्म स्वतन्त्र, सुरक्षित र ढुक्कपूर्वक यात्रा गर्न मद्दत गर्दछ।

स्थानीय आवश्यकतालाई बुझेर स्पष्ट मार्गनिर्देशन प्रदान गर्नुका साथै सरकारी एवं सार्वजनिक सेवाहरूको पहुँचलाई नागरिकको घरदैलोसम्म पुऱ्याउन गल्ली म्याप्स एक भरपर्दो सेतुको रूपमा स्थापित भएको छ।