neapl investment mega bank
  • गृहपृष्ठ
  • प्रादेशिक स्रोत व्यक्तिहरूका लागि पाँच दिने एन–वास एमआइएस तालिम सम्पन्न

प्रादेशिक स्रोत व्यक्तिहरूका लागि पाँच दिने एन–वास एमआइएस तालिम सम्पन्न

Dec 26th, 2025

इलाम, ११ पुस

कोशी प्रदेश स्तरीय प्रादेशिक स्रोत व्यक्तिहरूका लागि पाँच दिने एन–वास एमआइएस सम्बन्धी तालिम सम्पन्न भएको छ।

नेपाल सरकार, खानेपानी मन्त्रालय अन्तर्गत राष्ट्रिय खानेपानी तथा सरसफाइ अनुसन्धान, नवप्रवर्तन तथा क्षमता अभिवृद्धि केन्द्र, नगरकोट भक्तपुरको संयोजकत्वमा कोशी प्रदेश सरकार, खानेपानी, सिंचाइ तथा ऊर्जा मन्त्रालय, विराटनगर तथा एसएनभीको सहकार्यमा तालिम आयोजना गरिएको थियो।

इलाम जिल्लाको श्रीअन्तुमा आयोजना गरिएको उक्त तालिममा कोशी प्रदेशका विभिन्न जिल्लाबाट सहभागी प्रादेशिक स्रोत व्यक्तिहरूलाई खानेपानी तथा सरसफाइ क्षेत्रसँग सम्बन्धित एन–वास म्यानेजमेन्ट इन्फरमेसन सिस्टमको प्रयोग, विभिन्न एप्लिकेशसनको प्रयोग बाट तथ्यांक संकलन, तथ्यांक व्यवस्थापन तथा तथ्यांक विश्लेषण सम्बन्धी विषयमा क्षमता अभिवृद्धि गराइएको थियो।

तालिमले कोशी प्रदेशको स्थानीय तहमा खानेपानी सरसफाइ तथा स्वच्छता योजना तयारी गर्नका लागि स्थानीय तह लाइ थप सहज हुने तथा खानेपानी सरसफाइ तथा स्वच्छता क्षेत्रको अनुगमन तथा निर्णय प्रक्रियालाई थप प्रभावकारी बनाउने अपेक्षा गरिएको छ। तालिम अति व्यवहारिक र उपयोगी भएको तालिममा सहभागी प्रादेशिक स्रोत व्यक्ति महेश ढुंगानाले बताउनुभयो।

उहाँका अनुसार यस प्रकारका तालिमहरूले प्रदेशमा दिगो खानेपानी तथा सरसफाइ सेवाको प्रवद्र्धनमा महत्वपूर्ण योगदान पुग्नेछ।

कोशी प्रदेशका १४ वटा पालिकाहरुमा खानेपानी सरसफाइ तथा स्वच्छता योजना, तयारी गर्ने कार्य अन्तिम चरणमा पुगेको तथा यस आर्थिक वर्षमा थप ३८ वटा पालिकामा खानेपानी सरसफाइ तथा स्वच्छता योजना तयारी गर्ने लक्ष्य रहेको कोशी प्रदेश सरकार, खानेपानी, सिंचाइ तथा ऊर्जा मन्त्रालयका महाशाखा प्रमुख कृष्ण राजवंशीले जानकारी दिनुभयो ।

राष्ट्रिय खानेपानी तथा सरसफाइ अनुसन्धान, नवप्रवर्तन तथा क्षमता अभिवृद्धि केन्द्र, नगरकोट भक्तपुरका कार्यकारी निर्देशक ई राम कुमार श्रेष्ठले खानेपानी सरसफाइ तथा स्वच्छता योजनाको महत्वका साथै अनुसन्धान, नवप्रवर्तन तथा क्षमता अभिवृद्धि केन्द्रले गर्ने कार्यक्रमहरुको बारेमा जानकारी गराउनुभयो।

तीन तहको सरकारको समन्वयमा बन्न लगेको खानेपानी सरसफाइ तथा स्वच्छता योजना तयारी गर्ने शिलशिलामा सबै पालिकाहरुको प्रमुख तथा प्रमुख प्रशासकीय अधिकृतहरुको एक दिने कार्यशाला तथा समझदारी पत्र हस्ताक्षर कार्यक्रम हालसालै विराटगनरमा सम्पन्न भएको छ भने ३८ वटै पालिकाका वास फोकल पर्सन तथा सूचना अधिकृतहरुको तीन दिने एन–वास एमआइएस तालिम पनि विराटनगरमा सम्पन्न भएको छ ।