neapl investment mega bank
  • गृहपृष्ठ
  • पाँच महिनामा ४ खर्ब ९ अर्ब ७८ करोड राजस्व संकलन

पाँच महिनामा ४ खर्ब ९ अर्ब ७८ करोड राजस्व संकलन

Dec 16th, 2025

काठमाडौं, पुस १

चालु आर्थिक वर्ष २०८२/८३ को साउनदेखि मंसिरसम्म (पाँच महिना) सरकारले ४ खर्ब ९ अर्ब ७८ करोड रुपैयाँ राजस्व संकलन गरेको छ । यो रकम वार्षिक राजस्व लक्ष्य १४ खर्ब ८० अर्ब रुपैयाँको २७.४५ प्रतिशत हो ।

अर्थ मन्त्रालयका अनुसार मंसिर मसान्तसम्मको राजस्व संकलन लक्ष्य ५ खर्ब २० अर्ब ४४ करोड रुपैयाँ रहेकोमा ७८.८४ प्रतिशत मात्र प्राप्ति भएको छ । मंसिर महिनामा मात्र सरकारले ९५ अर्ब २० करोड रुपैयाँ राजस्व संकलन गर्ने लक्ष्य राखेको थियो तर ८० अर्ब २७ करोड रुपैयाँ मात्र उठेको छ । मंसिर २९ गते एकै दिन ३ अर्ब ४४ करोड रुपैयाँ राजस्व संकलन भएको मन्त्रालयले जनाएको छ ।

गत आर्थिक वर्ष २०८१/८२ को सोही अवधिमा ४ खर्ब ५ अर्ब ७७ करोड रुपैयाँ राजस्व संकलन भएको थियो भने मंसिर महिनामा मात्र ७६ अर्ब ७६ करोड उठेको थियो । यस वर्ष गत वर्षको तुलनामा राजस्व संकलनमा केही सुधार देखिए पनि लक्ष्यअनुसार प्रगति भने न्यून रहेको छ ।

यस अवधिमा कर राजस्व ३ खर्ब ७९ अर्ब २६ करोड, गैरकर राजस्व २३ अर्ब ६० करोड, अनुदान ५ अर्ब ११ करोड र अन्य प्राप्ति ४ अर्ब ४७ करोड रुपैयाँ रहेको छ ।

यसैबीच, पाँच महिनामा सरकारको कुल खर्च ५ खर्ब ५९ अर्ब ८५ करोड रुपैयाँ पुगेको छ जसमा पुँजीगत खर्च निकै न्यून रहेको छ ।