काठमाडौं, मंसिर २७
जेनजी आन्दोलनपछि पुष्पकमल दाहाल ‘प्रचण्ड’ को संयोजकत्वमा १० दल मिलेर नेपाली कम्युनिष्ट पार्टी ‘नेकपा’ गठन भएको छ । उक्त पार्टी हाल देश दौडाहामा छ । प्रचण्डसहित पार्टीका अन्य नेताहरु जिल्लामा आयोजित भेलामा पुगेर भन्छन्,‘हामीले भोट दिनुस्, हामी देश विकास गर्छौं ।’ विकासको नारा दिने उनले आफ्नो कारणले देश यो अवस्थामा पुग्यो भनेरचाँहि बोल्दैनन् । प्रचण्ड १० वर्षे जनयुद्धको कमाण्डर हुन् । २०५२ फागुन १ गते तत्कालीन माओवादीले हतियार उठायो । देश बनाउने, सामान्तीहरुलाई लखेट्ने भन्दै गरिएको आन्दोलनमा १७ हजार नेपाली शहिद भए । हजारौं अहिलेपनि बेपत्ता छन् भने घाइते, अंगभंग हुनेहरु त्यहीँ घाउ लिएर बाँचिरहेका छन् । जनयुद्धमा खर्बौंको सरकारी सम्पत्तिमा क्षति पुग्यो । तर, उपलब्धि के भयो ? तर, प्रचण्डले यो विषयमा कहीँ–कतै बोलेको पाइन्न । देशबाट राजतन्त्र हटेर लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्था आएको १८ वर्ष भइसकेको छ । २०६५ जेठ १५ गते देशबाट राजतन्त्र फालियो । त्यसपछि प्रचण्डसहित देश विकासको चर्को नारा दिनेहरुले नै शासन गरे । तर, देशले के पायो ? जनताले के पाए ? लोकतन्त्र गणतन्त्रको यो डेढ दशकमा माओवादीबाट चार जना प्रधानमन्त्री भए । पार्टी अध्यक्ष प्रचण्ड तीन पटक र बाबुराम भट्टराई एक पटक प्रधानमन्त्री बने । माओवादी कहिल्यै सरकारविहिन भएर बसेको छैन । काँग्रेस होस् या एमाले, माओवादी तिनको सरकारमा गएकै छ । माओवादीबाट तीन जना सभामुख भए । जसमा कृष्णबहादुर महरा, ओनसरी घर्ती र अग्निप्रसाद सापकोटा छन् । त्यस्तै, माओवादीले उपराष्ट्रपति पनि पायो । नन्दबहादुर पुन माओवादीबाट उपराष्ट्रपति बनेका थिए ।
माओवादीका नेताहरु देशको उच्च पदमा पुगे । तर, के गरे ? हतियार उठाउँदा यो–त्यो भनेको माओवादीले त्यसबाट के पुरा गर्यो ? भारत र चीनले कब्जा गरेको नेपाली भूभाग फिर्ता ल्यायो ? देशभरको सरकारी सम्पत्ति खोज्यो ? सार्वजनिक, सरकारी, हदबन्दीभन्दा बढी, ऐलानी, गुठी, मठमन्दिर, खोलानाला, वनजंगल, आर्यघाटलगायतको जग्गा व्यक्तिले दर्ता गरेर लगेका छन् । मओवादीले त्यो फिर्ता ल्यायो ? लोकतन्त्र गणतन्त्र आएपछि विदेशी ऋण ह्वात्तै बढ्यो । हरेक नेपालीको थाप्लोमा झण्डै एक लाख रुपैयाँ विदेशी ऋणको भार छ । माओवादीले त्यो पनि मिनाहा गर्न सकेन । सामन्ती, शोषकी, भ्रष्टाचारीलाई कारबाही गर्छु भनेको माओवादी आफैं त्यस्तो बन्यो । माओवादीका नेताहरु नै थुप्रै भ्रष्टाचार काण्डमा मुछिएका छन् । माओवादी आफैं भ्रष्टाचारीहरुको अखडा बन्दा अरुलाई के कारबाही गर्थ्यों ? राजश्व छल्नेहरुलाई कारबाही गर्न पनि माओवादी नाकाम भयो । देशको लागि केही गर्न नसकेको माओवादीको आज अस्तित्व नै मेटिएको छ । १८ वर्षमा माओवादी फुटेर दर्जनौं टुक्रा बनिसकेको थियो । अहिले त अब माओवादी भन्ने पार्टी नै छैन । नाम त परिवर्तन भयो, झण्डा पनि फेरियो । देशको प्रगति नभएपनि प्रचण्डको चाँहि भयो । ७८ लाखको घडी बाँध्ने हैसियतमा पुगे । लाखौं पर्ने रक्सी खान सक्ने भए । त्यही खाएर शौचालयमा ढले । छोरीलाई मेयर, स्वकीय सचिव, बुहारीलाई मन्त्री र भाइलाई राष्ट्रिय सभाको अध्यक्ष बनाए । योभन्दा अरु के नै प्रगति चाहियो र ? जनता दुई छाक टार्न लडिरहँदा उनी त्यही जनताको नाम लिएर कहाँ पुगे कहाँ । बाबुराम भट्टराईले प्रधानमन्त्री हुँदा बालुवाटारको ललिता निवास र थानकोटस्थित मातातीर्थको हजारौं रोपनी जग्गा व्यक्तिको नाममा पास गरिदिए ।
हल नेकपामा दोस्रो वरियतामा रहेका माधवकुमार नेपालले आफू प्रधानमन्त्री हुँदा ललिता निवाससहित काभ्रेको साँगामा ८१५ रोपनी, धुलिखेलमा ८८ रोपनी, चाबहिलको भत्केको पुलस्थित १४ रोपनी जग्गा संस्था र व्यक्तिको नाममा पास गरेका छन् । अन्य धेरै स्थानको जग्गा पनि उनले प्रधानमन्त्री हुँदा व्यक्तिको नाममा दिएका छन् । नेकपाका तेस्रो वरियताका नेता झलनाथ खनालले सूचना तथा सञ्चारमन्त्री हुँदा गुम्बा बनाउने नाममा हजारौं रोपनी सरकारी जग्गा संघसंस्थालाई पासै गरेर दिएका छन् । यता, प्रधानमन्त्री हुँदा पनि उनले सो कार्यलाई निरन्तरता दिएको देखिन्छ । सर्प पाल्ने नाममा राज्यकोषको ५० करोड रुपैयाँ उनले झ्वाम्म बनाएका छन् । भदौ २३ र २४ गते जेनजी आन्दोलन हुँदा वालुवाटारस्थित प्रधानमन्त्रीको सरकारी निवासबाट लखेटिएका तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली गृहमन्त्री र परराष्ट्रमन्त्री पनि बने । पटकपटक प्रधानमन्त्री बनेका केपीको अध्यक्षतामा बसेको २०७८ वैशाख ७ र वैशाख १३ गतेको क्याबिनेट बैठकले झापाको गिरिबन्धुको जग्गा व्यक्तिको नाममा पास गर्ने निर्णय गर्यो । हातमा तीन करोडको घडी बाँध्ने र ७० हजारको दैनिक पानी खाने ओलीको नारा देश बनाउने छ । २०५१ सालमा मनमोहन अधिकारी प्रधानमन्त्री हुँदापनि गिरिबन्धुको जग्गा व्यक्तिको नाममा दिने निर्णय भएको थियो । २०६० सालमा प्रधानमन्त्री सूर्यबहादुर थापाले पनि सोही निर्णय गरेका छन् । काँग्रेसी नेता महेश आचार्यले भृकुटी नेपाली कागज, धागो उद्योग, टाइल कारखाना, चाइनिज ईँट्टा कारखाना निजीकरणको नाममा सबै कौडीको भाउमा व्यक्तिलाई बेच्ने निर्णय मन्त्रिपरिषद्बाट गराए ।
ती जग्गा व्यक्तिले कौडीको भाउमा खरिद गरे भने उद्योगहरु मासियो । कृष्णप्रसाद भट्टराई २०४७ र २०५६ सालमा प्रधानमन्त्री बने । उनले पनि प्रधानमन्त्री बन्दा तारागाउँको जग्गा व्यक्तिलाई दिने निर्णय गरे । प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले पनि सरकारी सम्पत्ति व्यक्तिको नाममा पास गरिदिने निर्णय गरे । उनको पालोमा धेरै सरकारी जग्गा व्यक्तिको नाममा गएको छ । सरकारी जग्गा जजसले व्यक्तिलाई बेचे, उनीहरुले पनि भाषण गर्ने बेलामा देशै बनाउने भन्थे । हामीले सरकारी जग्गा बेच्दै छौं है भनेर उनीहरुले कहिल्यै बोलेनन् । पूर्वप्रधानन्यायाधीश सुशीला कार्की जेनजी आन्दोलनको बलमा प्रधानमन्त्री बनेकी छिन् । उनी पहिले भ्रष्टाचारविरुद्ध ठूल्ठूला भाषण गर्थिन् । भ्रष्टाचारी, सरकारी सम्पत्ति र राज्यकोषको दोहनकर्तालाई कारबाही गर्नुपर्छ भनेर चर्को बोल्थिन् । अहिले के भयो ? केही न केही । आखिरमा उनी आफू पनि सोही पृष्ठभूमिबाट आएकी रहेछिन् भन्ने त प्रमाणित भइसकेको छ । उनी आफैं सरकारी जग्गा कब्जा गरेर बसेकी छिन् । उनले न्यायाधीश र प्रधानन्यायाधीश हुँदा कति सरकारी जग्गा व्यक्तिको नाममा दिइन् होला ? यो छानबिन गर्नुपर्ने माग नागरिकस्तरबाट उठिरहेको छ । टोखा नगरपालिका ४, धापासीमा घर भएकी उनले तीन आना सरकारी जग्गा वर्षौंदेखि कब्जा गरिरहेकी छिन् । स्थानीय सरकारले त्यो जग्गा खाली गर्नु भन्दापनि उनले मानेकी छैनन् । झण्डै डेढ करोडको सरकारी जग्गामा कब्जा जमाएकी उनको पनि भाषण देश बनाउने नै छ । यता, सहकारी ठगेर जेल पुगेका रवि लामिछाने पनि देश विकास गर्ने नै भनिरहेका छन् । भदौ २३ र २४ गते देशभर आगो बाल्ने जेनजी पनि देश बनाउने नै भन्छन् ।
भक्तपुरमा भएको राजपरिवार र सरकारी सम्पत्ति व्यक्तिलाई कब्जा गर्न लगाउने नेमकिपाका अध्यक्ष नारायणमान बिजुक्छें, प्रेम सुवाल पनि देशै बनाउने भन्छन् । गौर हत्याकाण्डमा मुछिएका उपेन्द्र यादवको नारा पनि देश बनाउने नै छ । स्वास्थ्यमन्त्री हुँदा बीमा गराउने नाममा अर्बौं रुपैयाँ भ्रष्टाचार गरेको आरोप लागेका गगन थापा पनि देश बनाउने भन्दै हिँडेका छन् । सबैको नारा देश बनाउने छ, तर देश सकियो कसरी ? कुरा प्रष्ट छ–मुखले देश बनाउने भनेतापनि काम त देश त देश सकाउने छ । जनताले तिरेको कर खाने, रेमिट्यान्स पचाउने, जनताको छोराछोरी भेडाबाख्राजसरी विदेशमा बेच्ने, सरकारी सम्पत्ति दोहन गर्ने । नेताहरुको उद्देश्य यति नै हो । नेताहरुले यत्रो वर्षदेखि जनतालाई झुक्काए ।
तर, जनताको आँखा खुल्छ कहिले ? सञ्चारकर्मी कहिले पार्टीको झोले बन्न छोडेर सत्यतथ्य लेख्छन् ?
अनुसा थापा
भक्तपुर