neapl investment mega bank
  • गृहपृष्ठ
  • गलत काम गर्नेलाई कारबाही गर्छौं भनेर राष्ट्रपतिबाट शपथ खाएर हजारौंलाई सुकुम्बासी बनाउनेको अगाडि आँखा चिम्लिदिने ?

गलत काम गर्नेलाई कारबाही गर्छौं भनेर राष्ट्रपतिबाट शपथ खाएर हजारौंलाई सुकुम्बासी बनाउनेको अगाडि आँखा चिम्लिदिने ?

Dec 11th, 2025

काठमाडौं, मंसिर २५

राष्ट्रपतिले प्रधानमन्त्री, मन्त्री, प्रधानन्यायाधीश, अख्तियार प्रमुखलाई कसैले भ्रष्टाचार गरेको, कसैलाई पीडित बनाएको, राष्ट्रिय सम्पत्ति दुरुपयोग गरेको सुन्न आएमा तत्काल कारबाही गर्नु भनेर शपथ खुवाएका हुन्छन् । तर, यहाँ एउटा अचम्मको घटना भएको छ । राजधानीको पुतलीसडकमा रहेको सिन्सियर सेभिङ्ग एण्ड क्रेडिट को–अपरेटिभ लिमिटेडविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोग र सम्पत्ति शुद्धिकरणको विभागमा उजुरी पर्दापनि त्यसको सुनुवाई हुन सकेको छैन । सिन्सियरमा भ्रष्टाचार गरेको, राजश्व छलेकोलगायतका कालोधन छ भनि पटकपटक उजुरी दायर हुँदापनि नियामक निकायले अनुसन्धानमा चासो देखाएको छैन । २०५७ मंसिर २९ गते सिन्सियर सहकारी विभागमा दर्ता भयो । सहकारी दर्ता गर्नुअघि अध्यक्ष राजेन्द्रभक्त श्रेष्ठ र कार्यकारी निर्देशक राजेश खड्का कंगाल थिए । उनीहरुसँग १० लाखको जायजेथो पनि थिएन । अहिले तिनै व्यक्ति अर्बपति बनेका छन् । कर्जा अधिकृत मीरा कर्माचार्य पनि सिन्सियरमा बसेर मालामाल भएकी छिन् । यिनीहरुले एक करोडको घरजग्गा, गाडी, सेयर धितो राखेर ६० लाख रुपैयाँ ऋण दिए । जसमा १० लाख त घुसै खाए । २५ देखि ३० लाख पर्ने ट्याक्सी धितो राखेर १८ देखि २० लाख रुपैयाँ ऋण दिँदा २७ हजार घुस नै खाए । सेवाशुल्क एक प्रतिशत र कर्जा तिर्ने अवधि आठदेखि १० वर्ष भनेर सिन्सियरले वर्षैपिच्छे ऋण नवीकरण गर्न लगाउँछ । यता, ऋण चुक्ता गर्ने बेलामा समेत एक प्रतिशत सेवाशुल्क तिर्नुपर्छ । ऋणको ब्याज १४ देखि १८ प्रतिशत भन्ने, ऋणीसँग उठाउने बेला ८० प्रतिशत ।
बीमा गराउने, इन्स्योरेन्स कम्पनीबाट कमिशन खाने । ऋणीले तिरेको किस्ता साँवामा नघटाउने, त्यसको पेनाल्टी हानेर त्योपनि झ्वाम्म पारिदिने । ऋण दिने बेलैमा खाली फोटोकपी र नेपाली कागजमा हस्ताक्षर र दायाँबायाँ बुढीऔंलाको ल्याप्चे गरेर राख्ने । ऋणीले तीन किस्ता नतिर्नेबित्तिकै धितो संस्थाको नाममा ल्याउने, त्योपनि ऋणी उपस्थित नभईकन । जबकि, धितो लिलाम गर्नुअगाडि राष्ट्रिय दैनिक पत्रिकामा सार्वजनिक सूचना निकाल्नुपर्छ ।

सिन्सियरले ऋण लिने बेलामा हस्ताक्षर र ल्याप्चे गराएको खाली कागजमा मञ्जुरीमा लेख्छ । त्यसपछि ऋणीलाई जानकारी नै नदिईकन त्यो सम्पत्ति आफ्नो नाममा ल्याउँछ । सिन्सियरबाट ऋण खाने अधिकांश ऋणी सुकुम्बासी भएका छन् । सिन्सियरमा मारवाडी व्यापारी, निर्माण व्यवसायी, व्यापारी, राजनीतिक दलका नेता, सरकारी कर्मचारीहरुले भ्रष्टाचार गरेको र राजश्व छलेको पैसा लुकाइएको छ । प्रहरी प्रशासनका ठूल्ठूला अधिकृत र गुण्डाहरुको पैसा सिन्सियरमा छ । सिन्सियरको हिसाबमा पनि गम्भीर गडबडी छ । साधारण सभामा एउटा हिसाब देखाएतापनि त्यसको वास्तविकता अर्कै छ । सिन्सियरले वास्तविक हिसाब नदेखाएर वर्षौंदेखि राजश्व छलिरहेको छ । सिन्सियरका ऋणीहरुले तपाईँहरुले ठग्नुभयो, कानुनविपरीत सम्पत्ति खाइदिनुभयो भनेर गुनासो राख्दा राजेन्द्र, राजेश र मीराले ‘तैंले जे सक्छस्, त्यहीँ गर’ भनेर चुनौती दिन्छन् । कानुन हेर्ने हो भने, सरकारी कार्यालयको ढड्डा गेटबाहिर ल्याउन पाइँदैन । तर, सिन्सियरले यातायात, मालपोतको ढड्डा संस्थामै ल्याएर हस्ताक्षर गराउँछन् । उनीहरुको पहुँच कहाँसम्म छ ? भन्ने यहीँबाट पुष्टि हुन्छ । ऋणीले ऋण तिरेन भने तीनपटक चिठी लेख्नुपर्छ । त्यसपछि राष्ट्रिय पत्रिकामा सूचना निकाल्नुपर्छ । तर, सिन्सियरको सूचना कतै भेटिँदैन । धितो लिलाम गर्दा अक्सन गर्नुपर्छ । यद्यपि, सिन्सियरले त्योपनि गर्दैन । कानुनले धितो बेचेर आएको पैसाबाट ऋण उठाएर बढी भएमा ऋणीलाई फिर्ता दिनुपर्छ भन्छ ।

सिन्सियरले त्यसो गर्दैन । धितो बाहिरको मान्छेलाई किन्ने अवसर नै दिइँदैन । मानौं, सिन्सियरले १७ लाख रुपैयाँ लिनुछ तर धितो ३५ लाखमा बिक्यो । आफ्नो १७ लाख कट्टा गरेर सिन्सियरले बाँकी रकम ऋणीलाई दिनुपर्ने हो । यद्यपि, दिँदैन । सिन्सियरले धितो लिलाम गर्ने कसैलाई जानकारी नै गराउँदैन । मालपोत र यातायातमा गएर आफैं त्यो धितो संस्थाको नाममा ल्याउँछ । अनि फेरि त्यो धितो अर्कोलाई मँहगोमा बेच्छ र ऋण तिरेर बढी भएको पैसा सिन्सियरका तीन हर्ताकर्ता बाँडेर खान्छन् । सिन्सियरले यसरी धेरैलाई सुकुम्बासी बनाएको छ । तर, कानुनले उसलाई छुन नसकेको अवस्था छ । देशमा कानुन छ । संविधान छ । संविधानले कुनै नागरिकलाई सुकुम्बासी बनाउन नपाउने व्यवस्था गरेको छ । खोइ त, सिन्सियरलाई कानुन लागेको ? सिन्सियरले कानुनको पालना गर्न नपर्ने हो ? सिन्सियरले हजारौंलाई पीडित बनायो । सिन्सियरकै कारण धेरै विस्थापित हुन बाध्य भए । ऋणीहरु आफ्नो सम्पत्ति गुमाएर सडकमा आइरहँदा सिन्सियरका तीन हर्ताकर्ता उनीहरुको पैसामा ढाँडिएको किराजस्तै मोटाएर बसेका छन् । कानुनको दायरामा आउनुपर्नेहरु अझै संस्थामा हुँदा जनता सुकुम्बासी बन्ने क्रम जारी छ । कुनै व्यक्तिले आफ्नो परिवारलाई जानकारी नगराईकन पैसा जम्मा गरेको छ र उसको मृत्यु भयो भने सिन्सियरले फिर्ता दिँदैन । आफैं खाइदिन्छ । सिन्सियरविरुद्ध एकपटक होइन, पटकपटक उजुरी परेको छ । सिन्सियरविरुद्ध पहिलोपटक २०७९ चैत ८ गते अख्तियार र सम्पत्ति शुद्धिकरणमा उजुरी परेको छ । अख्तियारमा दर्ता भएको उजुरीको दर्ता नम्बर सी–०४८८०९ रहेको छ । त्यसैगरी, सोही दिन सम्पत्ति शुद्धिकरणमा पनि उजुरी परेको देखिन्छ । उजुरीको दर्ता नम्बर ४४५५ रहेको छ । उजुरीमा सिन्सियरको ठगीधन्दाको नालीबेली उल्लेख गरिएको छ । त्यस्तै, सिन्सियरविरुद्ध २०८० साउन २८ गते अर्को उजुरी परेको छ । सम्पत्तिको छानबिन गरिपाऊँ’ भन्दै परेको उजुरीको दर्ता नम्बर सी–००८०६२ रहेको छ । उनीहरुले कर्जावालसँग घुस खाएर अंकुत सम्पत्ति जोडेको भन्दै छानबिनको लागि अख्तियारको ध्यानाकर्षण गराइएको छ । पछिल्लोपटक २०८१ कात्तिक २५ गते उजुरी परेको छ । जसको दर्ता नम्बर सी–०२७४८५ रहेको छ । उजुरीमा भनिएको छ,‘यो संस्थामा राजनीतिक दलका नेता, सरकारी कर्मचारी, व्यापारीलगायतले आफ्नो कालोधन लुकाएका छन् ।’ पटकपटक उजुरी पर्दापनि अख्तियार र सम्पत्ति शुद्धिकरणले कारबाही नगर्नुको कारण के ? गम्भीर प्रश्न उठेको छ ।

सरकारले अझै जनतालाई सुकुम्बासी बनाऊँ भनेर छुट दिएको हो ? सिन्सियरमाथि कारबाही नहुनुले अख्तियार र सम्पत्ति शुद्धिकरण देखाउनका लागि खडा भएको निकाय रहेछ भन्ने प्रष्ट भएको छ । पहुँच हुनेहरु हजारौंलाई सुकुम्बासी बनाउँदापनि खुलेआम हिँडिरहेका छन्, आफ्नो सम्पत्ति गुमाउनेहरुचाँहि लुकिलुकि हिँड्न बाध्य छन् । राजेश पहिला कंलकीबाट पुतलीसडकसम्म साइकलमा आउँथे । राजेन्द्रभक्त हिँडेर कार्यालय आउने गर्दथें । मीरा मासिक १० हजार रुपैयाँमा एउटा कार्यालयमा काम गर्थिन् । सिन्सियरमा आएपछि तीनै जना मालामाल भएका छन् । सिन्सियरका हर्ताकर्ता जुन पार्टी सरकारमा आउँछ, तिनैको कार्यकर्ता बने । राजनीतिक आडमा उनीहरु जोगिँदै आएका छन् । उजुरी परेपछि छानबिन गर्नु सरोकारवाला निकायको दायित्व हो । तर, अख्तियारका आयुक्त प्रेम राई र सम्पत्ति शुद्धिकरणका महानिर्देशक गजेन्द्रकुमार ठाकुर किन हात बाँधेर बसेको ? सहकारी विभागका रजिष्ट्रार उमेश ढुंगानाले सहकारीमाथि नियमन गर्नुपर्छ कि पर्दैन ? राजधानीको मुटुमा बसेर हजारौंलाई सुकुम्बासी बनाउँदासमेत सरकार टुलुटुलु हेरेर बस्नुभन्दा लज्जास्पद विषय केही हुन सक्दैन । ठग, लुटहरुविरुद्ध उजुरी दिनु जनताको दायित्व थियो, जनताले निर्वाह गरे । अब तिनीहरुमाथि कारबाही गर्ने दायित्व सरकारको हो । सरकारले दुनियाँलाई पीडित बनाउँदै हिँड्नेलाई कानुनको दायरामा ल्याओस् ।
अनुसा थापा
भक्तपुर