neapl investment mega bank
  • गृहपृष्ठ
  • सार्वजनिक स्थानमा व्यायाम गर्नेहरू बढ्दै

सार्वजनिक स्थानमा व्यायाम गर्नेहरू बढ्दै

Nov 16th, 2025

निशा लामा तामाङ/काठमाडौं, कार्तिक ३०

३८ वर्षीय रामबहादुर थापा, काठमाडौंका बासिन्दा, नियमित रूपमा सार्वजनिक पार्कमा व्यायाम गर्ने गर्छन्। उनले खुशी व्यक्त गर्दै भने, “मसँग जिम जाने पैसा थिएन, तर जब मैले सार्वजनिक पार्कमा व्यायामका मेसिनहरू देखेँ, म त्यहाँ दैनिक रूपमा व्यायाम गर्न सुरु गरेँ।” पछिल्ला केही महिनादेखि उनी तिनकुनेमा रहेको पार्कमा नियमित रूपमा व्यायाम गर्दै आएका छन्।

तिनकुनेको सार्वजनिक स्थानमा राखिएको  पार्कमा गत वर्ष सम्म

 दैनिक ११ जनाको हाराहारीमा आउने गर्थे भने अहिले १८ जतिको सङ्ख्या आएको पाइएको छ। यस्तै दृश्य काठमाडौंका धेरै सार्वजनिक स्थानहरूमा देख्न सकिन्छ। बिहान र साँझको समयमा विभिन्न उमेरका मानिसहरू निःशुल्क व्यायामका मेसिन प्रयोग गर्न पार्कमा जम्मा हुने गर्छन्। शङ्खमुलकी ३५ वर्षीया कबीना के.सी. पनि पार्ककी नियमित प्रयोगकर्ता हुन्। उनले भनिन्, “म फुर्सदको समयमा यहाँ आउँछु। मलाई सबै फाइदाबारे थाहा छैन, तर यहाँ व्यायाम गर्न मजा लाग्छ।”

तर, यस्ता सार्वजनिक व्यायाम मेसिनहरू लोकप्रिय हुँदै गए पनि प्रयोगकर्ताहरूले विभिन्न समस्या र चुनौतीहरू सामना गरिरहेका छन्। धेरै मेसिनहरू मर्मत अभावका कारण बिग्रिएका वा जंग लागेका छन्। कतिपय पार्कहरूमा छाना वा ओट नहुँदा वर्षा र घाममा व्यायाम गर्न कठिनाइ हुन्छ।

बिहान र साँझको समयमा अत्यधिक भीड हुने हुँदा सबैलाई सहज रूपमा मेसिन प्रयोग गर्न गाह्रो पर्छ। साथै, केही पार्कहरूमा सरसफाइ र फोहर व्यवस्थापनको अभाव पनि देखिन्छ, जसले नियमित प्रयोगकर्ताहरूलाई असहज बनाउँछ।

स्थानीयवासीहरू भन्छन्, यदि सम्बन्धित निकायले नियमित मर्मत, सफाइ र सुविधा विस्तारमा ध्यान दिए, भने अझ धेरै मानिसहरू व्यायाम गर्न आकर्षित हुनेछन् र समुदाय अझ स्वास्थ्यकर बन्नेछ।i8