काठमाडौं, कार्तिक ११
जेनजी आन्दोलनका क्रममा ध्वस्त बनाइएको काठमाडौँको रामशाहपथस्थित ट्राफिक कन्ट्रोल रुम गैरआवासी नेपाली संघ (एनआरएन)ले पुनर्निर्माण गरी ट्राफिक प्रहरीलाई हस्तान्तरण गरेको छ।
मंगलबार एक विशेष कार्यक्रमकाबीच एनआरएनका उपाध्यक्ष महेशकुमार श्रेष्ठले सो कन्ट्रोल रुम प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) दानबहादुर कार्कीलाई हस्तान्तरण गरे।
श्रेष्ठले विपद् वा संकटका समयमा मातृभूमिलाई सहयोग गर्नु गैरआवासी नेपालीको दायित्व भएको उल्लेख गर्दै उक्त कन्ट्रोल रुम दीर्घकालीन दृष्टिले पुनर्निर्माण गरिएको जानकारी दिए।
कार्यक्रममा प्रहरी अतिरिक्त महानिरीक्षक कार्कीले एनआरएनप्रति आभार व्यक्त गर्दै पुनर्निर्माणलाई ‘मातृभूमिप्रतिको माया’को उदाहरण बताए।
काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार उक्त कन्ट्रोल रुमबाट काठमाडौं, ललितपुर र भक्तपुरका ट्राफिक व्यवस्थापनको समन्वय र नियन्त्रण कार्य सञ्चालन हुने गर्दछ।