काठमाडौं, कार्तिक ८
अघिल्ला तिहारमा भाइटिका आउनुभन्दा दुई–तीन दिनअगावैदेखि किराना पसल, मिठाई पसल, फलफूल पसल, माछामासु पसल, डेरीमा किनमेल गर्नेको भीड हुन्थ्यो । तर, यस वर्ष कहानी फरक छ । मिठाई पसलमा थरिथरिका मिठाई बनाएर बेच्न राखिएको छ । यद्यपि, ग्राहक नै देखिँदैनन् ।
उता, भाइमसला बेच्ने पसल, माछामासु पसल, फलफूल पसल र डेरी पनि सुनसान नै देखिन्छ । पैसा पनि सिद्धिने र ज्यान पनि सिद्धिने भएपछि दाजुभाइले नै यस्ता सामान नल्याउन भनेको कुराहरु व्यापक सुनिन्छ । भाइमसला वर्षौंअगाडि प्याक गरिएको हुन्छ । त्यसमा पैसा हाल्नु व्यर्थै छ । तीतो भएर खानै हुँदैन । त्यसले सद्दे ज्यानलाई पनि बिगारिदिन्छ । मिठाईको कुरा गर्दा महिनौंअगाडि बनाइएको हुन्छ । मिठाइ बनाउने ठाउँ पनि निकै फोहोर हुन्छ । यता, मिठाई बनाउने व्यक्ति पनि निकै फोहोरी हुन्छन् । फोहोर लुगा लगाएर चुरोट तान्दै उनीहरुले मिठाई बनाउँछन् । सबै मिठाईमा केमिकलको प्रयोग गरिन्छ । जसले विभिन्न घातक रोग निम्त्याउँछ । मिठाई खानुभन्दा नखाकै राम्रो हुन्छ । डेरी पसलेले दुई लिटर दूधमा दुई लिटर नै पानी मिसाउँछन् र पाउडर हाल्छन् । त्यो मिसावटयुक्त दूधले मानिसलाई नोक्सानी गर्छ । दूध शरीरका लागि राम्रो खाद्य पदार्थ भएतापनि पछिल्लो समय डेरी पसलेले अत्याधिक पाउडर हाल्न थालेका छन् ।
दूध खानु पनि रोग निम्त्याउनुजस्तै भएको छ । मासु पसलेले खसीको भनेर बाख्राको मासु बेच्छन् भने राँगाको भनेर भैंसीको । च्याङ्ग्राको मासुमा रांगा र बाख्राको मासुसमेत मिसाइन्छ । फर्ममा मरेका कुखुराहरु पनि काटेर बेचिन्छ । मासुबाट त झन् धेरै रोग लाग्ने सम्भावना हुन्छ । किन कि, माछामासु पसलहरु एकदमै दुर्गन्धित छन् । अति फोहोर ठाउँमा मासु काटिन्छ । पसलेले चुरोट तान्दै मासु काट्छन् । न्यूनतम हाइजिनको मापदण्ड पनि पालना गरेको पाइँदैन । महिनौअगाडि मारेको माछाहरु पनि केमिकल हालेर बेच्नका लागि राखिन्छ । जसले क्यान्सरको जोखिम बढाउँछ ।
घरेलु मदिरामा पनि विभिन्न खान अयोग्य सामान हालेर बनाइन्छ । रासायनिक मल, भैंसीको हड्डी, थोत्रा लुगा, सख्खरलगायतका सामग्री हालेर घरेलु मदिरा बनाउने गरिएको छ । बजारमा नक्कली सिलप्याक मदिराहरु पनि छ्याप्छ्याप्ती छन् । बजारमा सबै डुप्लिकेट र ज्यानलाई खतरा हुने सामान बेच्न राखिएपछि दिदीबहिनी र दाजुभाइ सचेत भएका छन् । बरु, दिदीबहिनीले आफूलाई जे आउँछ, घरमा त्यहीँ बनाएका छन् । यसले पैसा पनि जोगिन्छ, दाजुभाइको ज्यान पनि । भाइटिका दाजुभाइको सुस्वास्थ्य, समृद्धिका लागि गरिन्छ । तर, बजारमा पाइने सामानले ज्यान नै सकाउने भएपछि कसरी दिने ? विगतमा तिहार सामान्य हुन्थ्यो । सामानभन्दा पनि मायाप्रेम झल्काउने चाड हो तिहार । तिहारमा सबैभन्दा महत्वपूर्ण चीज भनेको टिका र माला हो । तर, पछिल्लो समय तिहार पनि बजारीकरण भयो । बजारमा पाइने रंगीविरंगी सामान किनेर लैजाने अनि तिहार मनाउने । यसले तिहार मँहगिँदै गयो । व्यापारीहरुले कमाउनका लागि तिहारलाई व्यापार बनाउँदै लगे ।
समाज पनि त्यसैअनुरुप अगाडि बढ्यो । कसले बढी सामान लैजाने ? भन्ने दौड चल्यो । तिहारलाई पैसा र सामानसँग दाँज्न थालियो । जसका कारण पर्व नै संकटमा पर्न थालिसकेको छ । पैसा नहुनेले तिहार नै मनाउन नसक्ने अवस्था बनिसकेको छ । देखासिकीको आडमा समाज चलेको छ । दिदीबहिनीले ऋण खोजेर सामान किन्छन् । दाजुभाइले ऋण खोजेर दक्षिणा दिन्छन् । सामान ल्याएकोभन्दा बढी पैसा नपाएमा दिदीबहिनी अर्को तिहारदेखि टिका लगाउनै जादैनन् । विभिन्न बहाना बनाउँछन् । दाजुभाइ पनि पैसा दिन परेन ठिकै भो भन्छन् । यसले त चाडबाडको अस्तित्व नै मेटिने भो । चाडपर्वलाई पैसासँग दाज्नुहुँदैन । तिहारमा वर्षौंसम्म नभेटेको दाजुभाइ र दिदीबहिनीले भेट्ने मौका पाउँछन् । योभन्दा ठूलो कुरा के होला ? तिहार दाजुभाइ र दिदीबहिनीको सम्बन्धलाई बलियो बनाउने पर्व हो । तर, व्यापारीहरुले त्यसमा पनि व्यापार गरेर पर्वलाई नै संकटमा पारिदिएका छन् ।।तिहारमा दाजुभाइलाई बोलाउने होइन, दिदीबहिनी दाजुभाइको घरमा जाने हो । तर, यो पनि फेरिएको छ । दाजुभाइलाई बोलाएर टिका लगाइदिन थालिएको छ । दिदीबहिनी आफ्नो कर्तव्य निर्वाहमा चुकेका छन् । दिदीबहिनीहरु नजाने, दाजुभाइ नआउने भएपछि तिहारमा दिदीबहिनीको हात रित्तो र दाजुभाइको निधार खाली हुन्छ ।
भाइटिकाकै मौका छोपेर ट्याक्सी व्यवसायीले यात्रु ठग्छन् । पाँच सयको बाटोमा दुई हजार असुल्छन् । ट्याक्सी व्यवसायीले त झन् पर्वको बेलामा हिँड्नेलाई मीटरमै लैजानुपर्ने हो । यतिबेला सबैसँग पैसा हुन्छ भन्ने पनि हुँदैन । झन् उनीहरु ठग्नतर्फ लाग्छन् । यहीँ त हाम्रो कमाउने मौका भन्दै मनलाग्दी भाडा भन्छन् । सबै जनाले अब सचेत हुनुपर्छ । पर्वलाई पर्वकै रुपमा मनाऔं । पर्व खुसीयाली साटासाट मौका हो । त्यसलाई त्यसरी नै मनाऔं । व्यापारीले पनि चाडबाड कमाउने मौका हो मात्र भनेर नसोचौं । पैसासँग दाज्न थालियो भने अब कसैले पनि चाडबाड मनाउन सक्दैन । विगतमा जसरी हामीले चाडपर्व मनाउँथ्यौं, त्यसरी नै मनाउन थालौं । घरमा जे पाक्या छ, त्यही खाएर पनि चाडपर्व मनाउन सकिन्छ । चाडपर्व मनाउनका लागि मेवा मिष्ठान्न भोजन नै चाहिन्छ र । विगतमा त्यही साधारण खाना खाएर पनि चाडबाड मानिएकै थियो । अहिले पो समाज देखासिकीमा गयो । एउटाले जे गर्यो, अर्कोलाई पनि त्यहीँ गर्नूपर्ने भयो ।
कसले बढी सामान ल्याउँछ ? भनेर मूल्यांकन गर्न थालियो । एउटा टिका र माला भएपनि भाइटिका मनाउन सकिन्छ । यो कुरा बुझौं । सामानले चाडपर्व जोगाउने होइन, व्यक्तिले हो । व्यक्ति सचेत भए भने चाडपर्व मनाउनका लागि यत्रो खर्च पनि चाहिदैन । केही दाजुभाइले दिदीबहिनीलाई सामान नल्याऔं भनेर राम्रो कामको थालनी गरेका छन् ।
ेअरुले पनि गरुन् । सरकारले पनि चाडबाड सामानको होइन भनेर जनतामा चेतना फैलाउन सकेन । चाडबाडले धनी र गरिब भन्दैन । तर, मान्छेले त्यस्तो भाष्य निर्माण गरे । सरकारले अब जनतालाई त्यो कुरा सिकाउनुपर्छ । नत्र केही वर्षपछि न दिदीबहिनीको हात खाली हुन्छ भने दाजुभाइको निधार । यसप्रति सरकार पनि सचेत रहोस् । पैसा नभएपनि चाडबाड मनाउन सकिन्छ । चाडबाडलाई सन्तुलित रुपमा मनाऔं भनेर सरकारले नागरिकलाई भनोस् । सरकार चाडबाड संरक्षण गर्नतर्फ लागोस् । किनकि, यिनै चाडपर्व हाम्रा पहिचान हुन् । यसलाई संकटमा पार्ने काम नगरौं ।
कतिपयको दिदीबहिनी विदेशमा छन् भने कतिपयको दाजुभाइ । सरकारले रोजगारी दिन नसकेकाले नेपालीहरु धमाधम विदेश पलायन भइरहेका छन् । उनीहरुको हात र निधार यसवर्ष पनि खाली नै रहनेछ । सरकारले देशमै रोजगारीको सिर्जना गर्न सकेका भए, कुनै दिदीबहिनी र दाजुभाइले तिहारमा मन खिन्न पार्नुपर्ने थिएन ।
यता, सर्वसाधारणले एउटा मात्र सन्तान पाउन थालेका छन् । यसले पनि चाडबाड संकटमा परेको छ । एकल छोराको दिदीबहिनी हुँदैन भने एक छोरकिो दाजुभाइ । उनीहरुले कसलाई टिका लगाउने ?
अनुसा थापा
भक्तपुर