काठमाडौं, कार्तिक २
हमासद्वारा इजरायलबाट अपहरणमा परी मारिएका कञ्चनपुरका विपिन जोशीको शव भोलि नेपाल ल्याइने भएको छ । फ्लाई दुबईको विमानमार्फत काठमाडौं ल्याउन लागिएका उनको शव भाेलि सोमबार दिउँसो काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्ने तालिका छ ।
अध्ययनको सिलसिलामा इजरायल पुगेका जोशीलाई गत २०२३ अक्टोबर ७ मा हमासले अपहरण गरेको थियो । उनलाई किबुत्ज क्षेत्रमा गरेको आक्रमणको क्रममा बन्धक बनाइएको थियो । त्यसपछि उनको अवस्था अज्ञात रहेकोमा गत असोज २७ गते मात्रै उनको मृत्यु भएको आधिकारिक जानकारी दिइएको थियो ।
इजरायल र हमासबीच युद्धविराम सम्झौतापछि बन्दी साटासाट गर्ने क्रममा हमासले विपिनको भनेर इजरायली सेनालाई दिएको शव डीएनए परीक्षणबाट उनकै भएको पुष्टि भएको थियो ।