काठमाडौं, कार्तिक १
नेवा राष्ट्रिय परिषदको आयोजनामा धुलिखेल–सूर्यविनायक सडक विस्तारको नाममा भइरहेको ऐतिहासिक सम्पदामाथि विनाशकारी हस्तक्षेपविरुद्ध संरक्षण जागरण अभियान सुरु गरिएको छ।
अभियानमा संयोजक सुमन सायमी, यादव लाल कायस्थ, अनिश बैद्य, रबिन्द्र कुमार श्रेष्ठ, मुकुन्द सिलवाल, पत्रकार बलराम वाग्ले लगायतका अभियानकर्ताहरूको उपस्थिति थियो। उनीहरूले सडक विस्तारका नाममा बस्ती भत्काउने र सांस्कृतिक संरचनामा क्षति पुर्याउने कार्य तत्काल रोक्न सरकारसँग माग गरेका छन्।
नेवा राष्ट्रिय परिषदका नेता रबिन्द्र कुमार श्रेष्ठले सुशीला कार्की नेतृत्वको सरकारले सांस्कृतिक अतिक्रमणलाई निरन्तरता दिए जनताले सरकारको विकल्प खोज्ने चेतावनी दिएका छन्।
श्रेष्ठका अनुसार धुलिखेल–सूर्यविनायक सडक विस्तारको नाममा ऐतिहासिक सम्पदामाथि विनाशकारी हस्तक्षेप सुरु भएको छ।
श्रेष्ठले विकासका नाममा गरिएका कार्यले नेवार समुदायको पहिचान, बस्ती संरचना र पुरातात्त्विक सम्पदामा गम्भीर असर पारिरहेको भन्दै तत्काल वैकल्पिक समाधान खोज्न सरकारलाई आग्रह गरे। धुलिखेल–सूर्यविनायक सडक विस्तार बागमती प्रदेशको मुख्य पूर्वाधार आयोजनामध्ये एक हो। स्थानीय बासिन्दा र संस्कृतिविद्हरूले विगतदेखि नै यो परियोजनाले ऐतिहासिक बस्ती, गुठी सम्पत्ति र धार्मिक स्थलहरूमा क्षति पुर्याउने भन्दै आपत्ति जनाउँदै आएका छन्।
