neapl investment mega bank
  • गृहपृष्ठ
  • सर्वसाधारणको माग–देश खरानी भएपछि सडकमा आउने सेना अब चाहिँदैन !

सर्वसाधारणको माग–देश खरानी भएपछि सडकमा आउने सेना अब चाहिँदैन !

Sep 27th, 2025

काठमाडौं, असाेज ११

२०७९ वैशाख ३० गते स्थानीय तह र मंसिर ४ गते प्रदेश सभा तथा प्रतिनिधि सभा निर्वाचन भयो । त्यतिबेला नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा प्रधानमन्त्री थिए । नेपाल प्रहरी, सशस्त्र प्रहरी बल नेपाल, नेपाली सेना र राष्ट्रिय अनुसन्धान विभागबाट गुप्तचर खटाएर चुनाव गराइएको थियो । गत भदौ २३ र २४ गतेको जेनजी विध्वंशपछि भदौ २७ गते भूपु प्रधानन्यायाशीध सुशीला कार्की प्रधानमन्त्री नियुक्त भइन् । नियुक्तिलगत्तै उनले प्रतिनिधि सभा विघटनका निम्ति राष्ट्रपति रामचन्द्र पौडेललाई सिफारिस गरिन् । र, राष्ट्रपति पौडेलले संसद् विघटन गर्दै आउँदो फागुन २१ गते निर्वाचन मिति तोके । सुशीला नेतृत्वको क्याबिनेटमा शिक्षामन्त्री डा.महावीर पुल छन् । उनले सुरक्षाकर्मी चाहिँदैन, मेरो अघिपछि हिँड्नु पर्दैन भनि सुरक्षाकर्मीलाई पनि निर्देशन दिइसके । यतिसात्र होइन, उनी मन्त्रालयमै खान्छन्, सुत्छन् । पुनबाहेक अन्य मन्त्री वा प्रधानमन्त्री बाहिर जाँदा वा कार्यालयमै बस्दा पनि सुरक्षाकर्मीको घेरामा बस्छन् । उनीहरुलाई अघिपछि सुरक्षाकर्मीले घेरेको हुन्छ । आम सर्वसाधारण राष्ट्रपति रामचन्द्र पौडेलसँग माग गर्छन्, ‘आउँदो चुनावमा नेपाली सेना खटाउनु पर्दैन ।’ सशस्त्र र प्रहरी भए पुग्छ । उनीहरुको सुरक्षाले नै धान्छ । जनता पनि आफ्नो सुरक्षा आफैं गर्न सक्छन् । जेनजी विध्वंशमा मुलुककै प्रमुख प्रशासकीय केन्द्र सिंहदरबारसहित संसद् भवन, सर्वोच्च अदालत, शीतल निवास, प्रधानमन्त्री निवास, मन्त्री क्वार्टर, प्रहरी भवन, स्थानीय तहका भवन, निजी घर तथा व्यापारिक केन्द्रलगायत जलेर खरानी बनेको छ ।

केबल भवन मात्र जलेन, नेपाल र नेपालीको इतिहास जल्यो, अस्तित्व र पहिचान खरानी बन्यो । सदियौंदेखि हामीले गौरव गर्दै आएको पहिचान मेटियो । सिंहदरबार भवन मात्र थिएन, नेपालीको इतिहास, अस्तित्व र पहिचान थियो । जुन अहिले खरानी र खण्डहरमा परिणत भएको छ । यसले नेपाललाई सदियौं वर्ष पछाडि ढलेको छ । आन्दोलनमा ७५ जनाले ज्यान गुमाए, हजारौं घाइते, अंगभंग भएका छन् भने कयौं बेपत्ता छन् । देश जलिरहँदा, जनता मरिरहँदा सर्वसाधारणले तिरेको करबाट तलबभत्ता, मासुभात खाने सेना ब्यारेकभित्र रमिता हेरेर बस्यो । नेपाल खरानी भएको टुलुटुलु हरेर बस्यो । यदि सेना समयमै खटिएको भए यत्रो सरकारी, सार्वजनिक र निजी सम्पत्ति जल्दैन्थ्यो । न त यति धेरैले ज्यानै गुमाउन्थे ।
जनताले अब सेना चाहिँदैन, हामी सेना पाल्न सक्दैनौं भनिसकेका छन् । तत्कालिन राजा वीरेन्द्र वीर विक्रम शाहको सुरक्षाको जिम्मेवारी सेनाले लिएको थियो । तर, सेनाको सुरक्षामै रहँदा ०५८ जेठ १९ गते राजपरिवार हत्या भयो । राजा वीरेन्द्रको वंश नै सकियो ।

०५२ फागुन १ गते माओवादीले जनयुद्ध शुरु गर्यो । तत्कालिन प्रधानमन्त्री शेरबहादुर देउवाले जनताको सुरक्षाका निम्ति सेना परिचालन गरे । तर, दश वर्षे जनयुद्धमा १७ हजार जनताले ज्यान गुमाए । माओवादीसँग पनि सेनाले हार्यो । आत्मसमर्पण गर्यो । त्यसपछि मुलुकबाट राजतन्त्रको अन्त्य र लोकतन्त्र गणतन्त्रको स्थापना भयो । तत्कालिन राजा ज्ञानेन्द्र शाह नारायणहिटी दरबार छोडेर नागार्जुनको जंगल पसे । जनयुद्धको कमाण्डर पुष्पकमल दाहाल प्रचण्डलाई ०६३ साउनमा तत्कालिन गृहमन्त्री कृष्णप्रसाद सिटौलाले हेलिकप्टर चढाएर बाबुराम भट्टराईसँगै सिक्लेसबाट काठमाडौं भित्र्याएका थिए । त्यतिबेला गिरिजाप्रसाद कोइराला प्रधानमन्त्री थिए । प्रचण्ड पहिलो पटक बालुवाटारमा सार्वजनिक भए । उनले प्रधानमन्त्री कोइरालाकै अगाडि भनेका थिए, ‘नेपाली सेना हामीसँग त हार्यो । भारत र चीनसँग लड्न सक्दैन । सेना आवश्यक छैन । दश हजार बढी सेना राख्नुहुन्न ।’ भारत र चीनले नेपालको थुप्रै भूभाग कब्जा गरेको छ । दार्जेलिङ, सिक्किम, टकनपुर, कोलकत्ता, कालापानी, लिम्पियाधुरा, लिपुलेकलगायत धेरै भूभाग हड्पिएको छ ।
नेपाली सेनाले न छिमेकीले कब्जा गरेको भूभाग फिर्ता ल्याउन सक्यो । कोरोना महामारीका कारण मुलुकमा ०७६ चैत ११ र ०७८ वैशाख १६ गते दुई पटक लकडाउन भयो । लकडाउन हुँदा खान नपाएर मानिसहरुले महिनौं दिन हिँडेर आफ्नो घर पुगे । त्यो पनि भोकभोकै । तर, सेना चाँहि जनताले तिरेको करबाट ब्यारेकभित्र बसेर तलबभत्ता, खाना खाइरह्यो ।
लकडाउनको बेला नागरिकलाई घर पुर्याउन वा खानबस्न व्यवस्था मिलाइदिन समेत सेनाले सहजीकरण गरेन । ०७२ वैशाख १२ गते र ०८० कात्तिक १७ गते मुलुकमा ठूलो भूकम्प गयो । सयौंले ज्यान गुमाए । हजारौं घाइते भए । अर्बौको भौतिक क्षति पुग्यो । भूकम्पको बेला पनि नेपाली सेनाको कुनै भूमिका देखिएन ।

०८१ असोज १०, ११ र १२ गतेको लगातार वर्षाले देशभर बाढीपहिरो, डुबान भयो । सयौंले ज्यान गुमाए । बाढी पहिरोमा परेका कयौं अझै बेपत्ता छन् भने अर्बौको भौतिक क्षति पुग्यो । यो बेला पनि सेनाले जनताका निम्ति केही गरेन । न उनीहरुको उद्धारमा खटियो न भौतिक संरचना पुनःनिर्माणमा । हवाई दुर्घटना हुँदा होस् या सवारी दुर्घटना हुँदा, जनताको उद्धारका निम्ति सेना खटिएको देखिँदैन । सेना सार्वजनिक कार्यमा खट्न । बाटो, खोलानाला सरसफाई, मठमन्दिर, स्कुल, अस्पताल, पार्टीपौवा, पुल निर्माण तथा मर्मतजस्ता कार्यमा सेना कहिल्यै खटिएको देखिँदैन । सेना ब्यारेकभित्र बसिरहन्छ । त्यहाँ तास खेलेको वा मदिरा सेवन गरी रमाइलो गरेको कुरा चाँहि सुनिन्छ । अझ पछिल्लो समय त सेना मीटरब्याजमा पैसा लगाउने, जग्गा प्लटिङमा संलग्न भएको पनि सुनिन्छ । सार्वजनिक काम गर्नुको साटो व्यवसाय गर्नतर्फ सेना लागिरहेको छ । पेट्रोल पम्प, बैंक खोल्नेतिर सेना संलग्न छ । मुलुकको वैदेशिक ऋण २९ खर्ब ४२ अर्ब पुगिसक्यो । देशभित्रै निर्माण व्यवसायीको ४५ अर्ब, दुध तथा उखु किसानको सात अर्ब, कोरोना बीमा गराएका अस्पतालहरुको २४ अर्ब भुक्तानी दिन बाँकी छ । सरकारसँग पैसा नहुँदा उखु किसानको अनुदान काटियो ।

सरकार जनताको अभिभावक हो । एउटा नागरिक मात्र होइन, तीन करोड नेपाली जनताले अभिभावक हो, सरकार । जेनजी विध्वंशमा ज्यान गुमाएकालाई सरकारले शहिद घोषणा गर्दै जनही १५ लाख रुपैयाँ दिने घोषणा गरेको छ । तर, ध्वंशमै जेलमा आगजनी, तोडफोड हुन थालेपछि कैदीबन्दी भाग्न खोज्दा सुरक्षाकर्मीको गोली लागेर एक दर्जन कैदीको ज्यान गयो । उनीहरु अघिपछिजसरी भागेका होइनन्, आफ्नो ज्यानको सुरक्षाका निम्ति भागेका थिए । तर, सरकारले न उनीहरुलाई शहिद घोषणा गर्यो न क्षतिपूर्ति । सरकारले नागरिकबीच विभेद गरेको छ । एउटालाई काखा र अर्कालाई पाखा लगाउने काम भएको छ । अर्कोतर्फ, जेनजी विध्वंशले जनताको आँखा खोलिदिएको छ । नेपाली सेनाप्रति जनताले निकै विश्वास र गौरव गर्दै आएका थिए । सेना हाम्रै लागि हो भन्ने विश्वास जनतामा थियो । दुर्भाग्य, जेनजी विध्वंशमा सिंहदरबारसहित सार्वजनिक सम्पत्ति खरानी भएसँगै सेनाप्रतिको जनविश्वास पनि गुमेको छ । किनकि सेना एक पटक होइन, दुई पटक होइन, पटकपटक चुक्यो । र, जनता चुक्दा देश र जनताले धेरै गुमाउनुपरेको छ ।
राजदरबार हत्यादेखि जेनजी विध्वंशसम्म आइपुग्दा जनताले सेनाले भूमिका छर्लङ्ग देखे । सेना कसको लागि रहेछ ? भनेर जनता बल्ल प्रष्ट भएका छन् ।

नेपाली जनता मात्र होइन, नेपाली सेनाप्रतिबाट अन्तर्राष्ट्रियस्तरबाटै विश्वास गुमेको छ । किनकि आफ्नै देश र जनताको सुरक्षा गर्न नसक्ने नेपाली सेनाले विदेशको सुरक्षा कसरी गर्न सक्छ ? अब कुनै पनि देशले नेपाली सेनालाई सुरक्षाका निम्ति बोलाउने छैन ।
जनता एकजोर नयाँ कपडा किन्दैनन् । च्यातिएको, झुत्रो कपडा लगाउँछन् । खुट्टामा चप्पल लगाउँदैनन् । नुन भात मात्र खान्छन् । शिक्षा, स्वास्थ्यबाट वञ्चित छन् । अनि तीनै जनताले तिरेको करबाट देश र जनताको सुरक्षाका निम्ति पालिएको सेना चाँहि संकटकालमा रमिता हेरेर बस्छ । अनि किन चाहियो सेना ? देश खरानी भएपछि सडकमा आउने सेना अब नेपाली जनतालाई चाहिँदैन ।
रुषा थापा
भक्तपुर