काठमाडौं, भदाै १८
नेपाली वित्तीय क्षेत्रमा निरन्तर नवप्रवर्तन र सेवा विस्तार गर्दै आएको प्रभु बैंक लिमिटेडले अन्तर्राष्ट्रिय स्तरमा आफ्नो उत्कृष्टता प्रमाणित गरेको छ।
अन्तर्राष्ट्रिय ख्यातिप्राप्त संस्था युरोमनी लिमिटेड द्वारा प्रदान गरिने युरोमनी अवार्ड फर एक्सिलेन्स–२०२५ अन्तर्गत प्रभु बैंकलाई “नेपालको उत्कृष्ट साना तथा मझौला उद्यम डिजिटल बैंक” को अवार्ड प्रदान गरिएको हो। यो अवार्ड सिङ्गापुरमा आयोजित एक भव्य समारोहका बीचमा बैंकका प्रमुख व्यवसाय अधिकृत रश्मी पन्तसहित अन्य तीन महिला अधिकृतहरूले संयुक्त रूपमा ग्रहण गरेका थिए।
यसले प्रभु बैंकमा महिला नेतृत्वको भूमिका र योगदानलाई समेत उजागर गरेको छ। यसअघि पनि प्रभु बैंकले बैंक अफ द इयर २०२३ जस्तो प्रतिष्ठित अन्तर्राष्ट्रिय सम्मान प्राप्त गरिसकेको छ। निरन्तर रूपमा राष्ट्रिय र अन्तर्राष्ट्रिय स्तरमा सम्मानित हुँदै आएको यस बैंकले, आफ्नो सेवा गुणस्तर, ग्राहकप्रतिको समर्पण र डिजिटल नवप्रवर्तनमार्फत बजारमा अलग पहिचान बनाउन सफल भएको छ।
साना तथा मझौला उद्यम लक्षित डिजिटल सेवा प्रभु बैंकले पछिल्ला केही वर्षयता साना तथा मझौला उद्यमका लागि मोबाइल तथा इन्टरनेट बैंकिङ, डिजिटल कर्जा प्रवाह, अनलाइन खाता सञ्चालन, कर तथा राजस्व भुक्तानी, बीमा तथा वित्तीय परामर्श सेवा, व्यवसायिक भुक्तानी समाधानजस्ता अत्याधुनिक डिजिटल सुविधा सञ्चालनमा ल्याएको छ। यी सेवाले साना व्यवसायलाई आधुनिक बैंकिङ प्रणालीसँग जोड्दै उनीहरूको व्यवसाय वृद्धिमा ठोस सहयोग पुर्याएको छ।
बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक शेरचनले अवार्ड प्राप्तिसँगै यसलाई केवल संस्थागत सफलताको प्रमाण नभई सम्पूर्ण नेपाली उद्यमशीलता समुदायको जित भएको बताए ।
प्रभु बैंकले साना तथा मझौला उद्यमलाई आफ्नै व्यवसायिक रणनीतिमा विशेष प्राथमिकता दिँदै ग्राहक आवश्यकताअनुसार अनुकूलित डिजिटल समाधान ल्याउने अभियानलाई निरन्तरता दिएको छ।
प्रभु बैंकको सेवा सञ्जाल हाल प्रभु बैंकले देशभर ३१२ शाखा, ४८ विस्तार काउन्टर, २५६ एटिएम तथा सबल डिजिटल प्लेटफर्ममार्फत आफ्ना सेवा प्रवाह गर्दै आएको छ। “डिजिटल नेपाल” को राष्ट्रिय अभियानलाई आत्मसात गर्दै बैंकले आगामी दिनमा अझ व्यापक र दिगो डिजिटल समाधान ल्याउने तयारी गरिरहेको छ।