काठमाडौँ, १८ साउन
नेपालको वर्तमान राजनीतिक परिदृश्यमा पूर्वप्रधानमन्त्रीहरू केपी शर्मा ओली र शेरबहादुर देउवाको गठबन्धनले सत्ता कब्जाको नयाँ रणनीति अघि बढाएको विश्लेषण गरिएको छ। प्रारम्भमा आफ्ना-आफ्ना दलमा पकड बनाएका यी नेताहरू अहिले गठबन्धनमार्फत राज्यको सम्पूर्ण संरचना नियन्त्रण गर्ने योजनामा जुटेका छन्। उनीहरूले ‘राजनीतिक स्थायित्व’ को नाममा अर्को दशकसम्म निरन्तर सत्तामा बस्ने रणनीति तय गरेको स्रोतहरू बताउँछन्।
यस सन्दर्भमा, विश्लेषक बुद्धछिरिङ मोक्तान लेख्छन्, “ओली-देउवा साझेदारीले नीतिगत र संगठनात्मक रूपमा रणनीतिक कार्यनीति अपनाउँदै राज्यका सबै अंगहरू आफ्नो नियन्त्रणमा राख्न खोजिरहेका छन्।”
ओली–देउवा गठबन्धनले आफ्ना पूर्वविरोधीहरूसमेत सत्ताको सहयोगी बनाउँदै लगेको देखिएको छ। प्रचण्ड, बाबुराम भट्टराई, मोहन वैद्य, विप्लवदेखि माधवकुमार नेपाल, झलनाथ खनाल, बामदेव गौतम, र कांग्रेसका डा. शेखर कोइराला, प्रकाश कोइराला, मनिषा कोइरालासम्मलाई पनि विभिन्न उपायमार्फत सहमतिमा ल्याइएको छ।
भर्खरै बनेको “संघीय लोकतान्त्रिक मोर्चा” र राष्ट्रिय स्वतन्त्र पार्टीका साथ साथै बालेन शाह, हर्क साम्पाङ, कुलमान घिसिङ, विजय लामा, राजेश हमाल जस्ता सामाजिक प्रभावशाली व्यक्तित्वहरूलाई समेत जनमत निर्माणका लागि प्रयोग गरिएको टिप्पणी गरिएको छ।
हालको अवस्थाले दुईवटा गम्भीर संकट उजागर गरेको मोक्तान बताउँछन्— एक, देशको जटिल समस्या समाधान गर्न सक्ने सक्षम नेतृत्वको अभाव; अर्को, ओली-देउवा गठबन्धनलाई प्रभावकारी चुनौती दिन सक्ने बलियो विपक्षको अभाव।
यसबिच, अहिलेको विपक्ष वा विकल्पका रूपमा देखिने समूहहरू ‘मुसाको सभा’ जस्तै बनेको विश्लेषण छ। सबैले समस्या औँल्याउने भए पनि समाधानको नेतृत्व कसले लिने भन्ने प्रश्न अझै अनुत्तरित छ।
“जबसम्म कसैले ‘बिरालोको घाँटीमा घण्टी बाँध्ने’ साहस देखाउँदैन, तबसम्म यो गठबन्धनको हास्यप्रहसन चलिरहन्छ,” मोक्तान लेख्छन्।