काठमाडौं, साउन १९
महिला अधिकारको पूर्ण कार्यान्वयनको माग गर्दै माईतीघर मण्डलामा महिला अधिकारका लागि दबाव अभियानले धर्ना कार्यक्रम सुरु गरेको छ। संविधानले सुनिश्चित गरेका अधिकारहरूलाई व्यवहारमा लागू गराउन तथा विभेदकारी कानून निर्माणको प्रतिकार स्वरूप आयोजना गरिएको यो कार्यक्रम केही साता अघि सम्पन्न वृहत र्यालीको निरन्तरता हो। अभियानले महिला विरुद्ध हुने हिंसा, दण्डहिनता, कानूनी राज्यको कमजोर कार्यान्वयन र लोकतन्त्र सुदृढिकरणका सवालमा निरन्तर दबाव सिर्जना गर्दै आएको छ।
धर्ना कार्यक्रममा महिला मानव अधिकार रक्षक, सामाजिक अभियन्ता, सञ्चारकर्मी, विद्यार्थी, अधिवक्ता, राष्ट्रिय महिला मन्च का सम्योजक बेबि राजभण्डारी, प्रतिनिधि सभा सदस्य सरस्वती वजिमय, महिला मानव अधिकार रक्षक राष्ट्रिय सञ्जाल अध्यक्ष श्यामकुमारी शाह लगायतले ऐक्यवद्धता जनाउँदै महिला अधिकारको सवालमा देशव्यापी अभियान आवश्यक रहेको धारणा राखे।
सहभागीहरूले नेताहरूको कार्यशैलीमा सुधार आवश्यक रहेको, महिला विरोधी भाषणहरू बन्द गर्नुपर्ने तथा राज्यले महिलाको शरीरमाथि नियन्त्रण गर्न खोज्ने कानूनी प्रस्तावहरू हिंसात्मक रहेको टिप्पणी गरेका थिए।
धर्नामा “संविधानले दिएको हक, कानूनमा किन भयो लक”, “मेरो शरीर मेरो अधिकार”, “दण्डहिनता अन्त्य गर”, “कानूनको नाममा महिला हिंसा बन्द गर”, “बहुविवाहको प्रस्ताव खारेज गर”, “लैंगिक न्याय विना लोकतन्त्र अधुरो छ” लगायतका नाराहरू लगाइएको थियो।
धर्नामा १०० भन्दा बढीको ऐक्यवद्धता सहित प्रत्यक्ष सहभागिता रहेको थियो । अभियानले धर्नामा ऐक्यवद्धता जनाउने सबैलाई धन्यवाद दिँदै, महिला अधिकारको सवालमा अझ व्यापक सहभागिता जरुरी रहेको उल्लेख गरेको छ।