काठमाडौं, साउन ९
२०७९ मंसिर ४ गते भएको प्रतिनिधि तथा प्रदेश सभाबाट उदाएको राष्ट्रिय स्वतन्त्र पार्टीका नेताहरु एकपछि अर्को गर्दै विवादमा तानिरहेका छन् । सभापति रवि लामिछाने सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्दिकरणको मुद्दामा जेलमा छन् । उनी जेल गएपछि कार्यवाहक सभापतिको जिम्मेवारी पाएका डोलप्रसाद अर्याल उर्फ डिपी पनि गम्भीर अपराधमा मुछिएका छन् । उनीमाथि मानव तस्करीको आरोप लागेको छ । रास्वपामा आउनुअगाडि उनी सर्पले काचुली फेरेझैं पार्टी फेर्थें । कहिले काँग्रेस, कहिले माओवादी त कहिले एमाले । पार्टीका अर्का सांसद स्वर्णिम वाग्ले रास्वपामा आउनुअगाडि काँग्रेसमा आबद्ध थिए । गएको निर्वाचनमा उनी काँग्रेसका महामन्त्री तथा सांसद गगन थापा र अर्जुननरसिंह केसीलाई भोट माग्न विभिन्न जिल्लामा पुगेका थिए । तर, काँग्रेसमा टिकट नपाएपछि उनी पनि रास्वपातिर लागे । यी त केही उदाहरण मात्र हुन् । पार्टीमा काम गर्न नसकेकाहरु रास्वपामा भित्रिएका छन् । पहिले माओवादी, काँग्रेस, एमाले, नेमकिपा, राप्रपा, मधेशी दलमा लागेकाहरु रविले २०७९ असार ७ गते पार्टी दर्ता गर्नेबित्तिकै उनका पार्टीमा प्रवेश गरे । नयाँ पार्टी भएपनि रास्वपाले २१ सीटमा चुनाव जित्यो ।
पार्टी दर्ता भएको केही समयमै यत्रो सीटमा चुनाव जित्नु सामान्य कुरा होइन । देशको अनुहार फेर्छौ भनेर हिँडेको पार्टी दुईपटक सरकारमा गयो । दुवैपटक प्रचण्ड नेतृत्वकै सरकारमा रास्वपा सरकारमा गएको हो । पद पाएपनि रास्वपाले सिन्को भाँचेन । रवि स्वयं गृहमन्त्री भए । तर, उनले पार्किङ्गबाहेक केही गरेनन् । सहकारीको केशमा आफूलाई मुछेमा काँग्रेस, एमालेका भ्रष्टाचारको फाइल खोल्ने भन्दै उनले तर्साउन खोज्थें । उनको हकमा करायो करायो, त्यत्तिकै हरायो भयो । न एउटा भ्रष्टाचारको फाइल खोल्न सके न सेवासुविधा नै त्याग्न । उनी र उनका सांसद पद र सेवासुविधामै लुप्त भए । त्यसैले त पहिलोपटक सरकारमा जानेबित्तिकै जनताको नजरमा नाङ्गिसकेका थिए । २०८१ कात्तिक २ गते प्रहरीले उनलाई सहकारी ठगी काण्डमा छानबिनका लागि हिरासतमा लियो । रास्वपाले देशैभरको कार्यकर्ता उचालेर रविलाई प्रहरीको हिरासतबाट निकाल्न खोजे । कतिपय जिल्लामा आन्दोलन भयो । प्रहरी कार्यालय, अदालतबाहिर नाराबाजी गरियो । तर, जनताले उनको पार्टीलाई साथ दिएन । पहिलोपटक उनी ८४ दिन हिरासतमा बसे । धरौटीमा उनलाई छोडियो । पोखरापछि उनीविरुद्ध काठमाडौं, बुटवल, चितवन र पर्सामा मुद्दा दर्ता भएको छ । काठमाडौं र रुपन्देहीबाट धरौटीमा छुटेका उनी आफैं जान्ने हुँदा कारागार पुगेका छन् । आफैंले दायर गरेको मुद्दामा अदालतले उनलाई जेल पठाएको हो । उनीमाथि पाँचवटा सहकारीको अर्बौं रुपैयाँ ठगेको आरोप छ । २०८२ असार ७ गतेबाट रास्वपाले रविका निम्ति हस्ताक्षर संकलन अभियान सञ्चालन गरेको थियो । रविमाथि राजनीतिक प्रतिशोध भएको दाबी रास्वपाको छ । सहकारीबाट करोडौं जनता पीडित भएका छन् । ३५ हजार २३९ वटा सहकारीमा बचतकर्ताको ४३ खर्ब रुपैयाँ फसेको छ ।
रास्वपाका अनुसार २७ लाखले रविको पक्षमा हस्ताक्षर गरेका छन् । रोचक प्रसंग के भने, धेरैले बुझ्दै नबुझीकन हस्ताक्षर गरेका छन् । सहकारीको कारणले बचतकर्ताको के हालत भएको छ ? हस्ताक्षर गर्नेहरुलाई जानकारी छैन । सहकारीले धेरैको घरबार उजाडिएको छ । जीवनभरको कमाइ सहकारीले स्वाहा पारिदिएको छ । सर्वसाधारणसँग औषधी किन्ने पैसा छैन । आफ्नो घरखेत बेचेर सहकारीमा लगेर पैसा राखेकाहरु ‘घर न घाट’ को भएका छन् । तर, रास्वपालाई जनतासँग के सरोकार ? वास्तवमा भन्ने हो भने रास्वपा देश र जनताका लागि आएको पार्टी नै होइन । अरुले खाए अब हामीहरुको पालो भनेर राजनीतिमा प्रवेश गरेकाबाट अपेक्षा राख्नु पनि केही छैन । जनता पीडामा छन्, तर रास्वपाले जनताको पीडालाई अनदेखा गरेको छ ।
राजनीतिक प्रतिशोध भए जनताको पैसा कहाँ गयो ? कसले खायो ? रास्वपाले प्रमाणित गरिदिनुपर्यो । हस्ताक्षर संकलन गर्दैमा रवि चोखो साबित हुन्छन् ? अहिले भइरहेको हस्ताक्षर अभियानको एउटै उद्देश्य अर्को निर्वाचनमा भोट बटुल्ने हो । तर, करोडौं पीडित भएकोमा २७ लाखले हस्ताक्षर गर्दैमा केही हुनेवाला छैन । रविलाई एउटा सहकारीमा २ वर्ष जेल सजाय भएपनि पाँच वटा सहकारीमा १० वर्ष हुन्छ । अदालतले बिगो हेरेर कैद र जरिवाना तोक्छ । रविको कारण चितवनमा दुईपटक निर्वाचन भइसकेको छ । २०७९ मसिंर ४ गते भएको निर्वाचनमा उनी चितवन निर्वाचन क्षेत्र नम्बर २ बाट उम्मेदवार थिए । उनले जिते । २०७९ पुस ११ गते उनी गृहमन्त्री भए । उनी नेपाली नागरिक नभएको भन्दै सर्वोच्च अदालतमा मुद्दा पर्यो । सर्वोच्चले उनी नेपाली नागरिक नभएको ठहर गरेपछि गृहमन्त्री भएको ३२ दिनमै पद चैट भयो ।
सांसद, पार्टी सभापतिलगायतका पदबाट पनि हात धुनुपर्यो । त्यसपछि बल्ल उनले जिल्ला प्रशासन कार्यालय, काठमाडौंबाट नेपाली नागरिकता लिएका हुन् । सरकारले २०८० वैशाख १० गते चितवनमा निर्वाचन गरायो । रवि पुनः विजयी भए । काँग्रेसबाट सांसद रामचन्द्र पौडेल पद त्यागेर राष्ट्रपति बनेसँगै स्वर्णिम वाग्ले रास्वपा प्रवेश गरे । पौडेलको ठाउँमा रास्वपाबाट स्वर्णिम उम्मेदवार भए । उनी निर्वाचन जिते । अहिले चितवन निर्वाचन क्षेत्र नम्बर २ जनप्रतिनिधिविहिन छ । चितवनका जनताले बारम्बार रविलाई ठाउँ दिए । तर, परिणाम के भयो ? रवि पत्रकार शालिकग्राम पुडासैनीको आत्महत्या दुरुत्साहन केशमा पहिलेपनि प्रहरी हिरासतमा पुगिसकेका व्यक्ति थिए । तर, जनताले आँखामा पट्टी बाँध्दा जोगिएका उनलाई पुनः जिताइयो ।
अब स्थानीय तहको चुनाव हुन २१ महिना बाँकी छ । प्रदेश र संघको निर्वाचन हुनलाई २८ महिना बाँकी छ । २०८४ को चुनावमा माओवादी, रास्वपा, नेमकिपा शून्य हुने सर्वसाधारण बताउँछन् । २०४८ देखि २०७९ सम्म भक्तपुर निर्वाचन क्षेत्र नम्बर १ मा निरन्तर नेमकिपाले चुनाव जितेको छ । अब हुने निर्वाचनमा नयाँ पार्टी देख्ने पाइने सर्वसाधारणको जिकिर छ ।
कतिपय भने २०८४ मा चुनाव नै नहुने पनि बताउँछन् । मुलुकका राजनीतिक पार्टीहरु ठग हुन् भन्ने जनताले देखिसकेका छन् । रास्वपाले आफूलाई नयाँ पार्टी भनेर देखाउँदै आएको छ । आफूहरु निर्णायक भूमिकामा पुगेमा यो–त्यो गर्छौ भन्दै हिँडेका छन् । तर, रास्वपा सरकारमा गइसकेको पार्टी हो । सरकारमा जाँदा रास्वपाले कति काम गर्यो ? कस्तो काम गर्यो ? जनताले देखिसकेका छन् ।
रास्वपा पनि अन्य पार्टीकै लाइनमा छ भन्ने पुष्टि भइसकेको छ । भनिन्छ नि,‘भुक्ने कुकुरले टोक्दैन, टोक्ने कुकुरले भुक्दैन ।’ रास्वपासँग यो उखान मेल खान्छ । गफ ठूल्ठूला, काम केही छैन । कार्यवाहक सदस्य अर्याल र माओवादीका नेता शक्ति बस्नेतमाथि एक सहकारीको रकम हिनामिना गरेको आरोप छ । रास्वपा सांसद सोबिता गौतम र डा तोसिमा कार्कीलाई जनताले राम्रै व्यक्ति सोचेका थिए ।
तर, उनीहरुको असली अनुहार पनि विस्तारै जनताको नजरमा खुल्दै छ । २०६४ चैत २८ गते भएको पहिलो संविधान सभाको निर्वाचनमा माओवादीले १२० सीट प्रत्यक्ष जित्यो । धेरै ठाउँमा थोरै मतले चुनाव हार्यो । पछिल्लो निर्वाचनमा माओवादी ३२ सीटमा सीमित भएको छ । यता, विवेकशील साझा पार्टीको अहिले नामोनिशान छैन । माओवादी र विवेकशीलको हविगत रास्वपाको देखिएको छ । रास्वपाले २१ सीट जितेको थियो, अर्को चुनावमा यही पनि नरहलाजस्तो छ । रास्वपा असारको भलजस्तै बनेको छ ।
अनुसा थापा
भक्तपुर