भक्तपुर, संवाददाता, असार ३२
साउन महिनाको सुरुवातसँगै भक्तपुरको सूर्यविनायक नगरपालिका-८, सिपाडोलस्थित प्रसिद्ध डोलेश्वर महादेव मन्दिरमा श्रावणी मेला लाग्ने भएको छ । केदारनाथको शिर डोलेश्वर महादेव संरक्षण तथा विकास समितिले सोमबार पत्रकार सम्मेलन गरी आगामी साउन १ गतेदेखि भदौ ६ गतेसम्म मेला सञ्चालन हुने जानकारी दिएको हो ।
समितिका अध्यक्ष धर्मराज बस्नेतका अनुसार मन्दिर परिसरमा दर्शनार्थीको भिड बढ्ने भएकाले मेला व्यवस्थापनलाई व्यवस्थित, सुरक्षित र सव्य बनाउन विभिन्न उप-समितिहरु गठन गरिएको छ। मेलालाई भव्य बनाउन संघसंस्था, टोल सुधार समिति र महिला समूहहरुसँग समन्वय गरिएको छ ।
श्रावण १ गते बिहान ७ बजे चन्द्रविनायक मन्दिर पौखेलबाट डोलेश्वर महादेव मन्दिरसम्म कलश यात्रा निकालिनेछ । सोही दिन बागमती प्रदेशका स्वास्थ्य मन्त्री किरण थापाले मेलाको उद्घाटन गर्ने कार्यक्रम रहेको छ ।
मेलाभर विभिन्न मितिहरुमा धार्मिक प्रवचन र भजनकीर्तनको आयोजना गरिनेछ । साउन ३, ५, १०, १२, १७, १९, २४, २६, ३१ गते तथा भदौ ६ गते विभिन्न धर्मगुरु र कलाकारहरुद्वारा कार्यक्रम प्रस्तुत हुनेछन् । भदौ ६ गते सूर्यविनायक नगर प्रमुख वासुदेव थापाको प्रमुख आतिथ्यमा मेलाको समापन गरिनेछ ।
मेला अवधिभर मन्दिर परिसरमा सिसीटिभी जडान गरिएको छ भने शान्ति सुरक्षाका लागि जिल्ला प्रहरी परिसर, जगाती प्रहरी वृत्त र डोलेश्वर प्रहरी चौकीबाट प्रहरी खटाइने छ । ट्राफिक व्यवस्थापनका लागि सल्लाघारी ट्राफिक प्रहरीको सहयोग लिइने आयोजक बताएको छ ।
दर्शनार्थीलाई आकस्मिक स्वास्थ्य सेवा उपलब्ध गराउन रणशेर गण र विभिन्न अस्पतालहरुसँग समन्वय गरी स्वास्थ्य शिविर सञ्चालन गरिनेछ । साथै, भक्तजनलाई सहज सेवा पुर्याउन स्वयंसेवक परिचालन गरिने अध्यक्ष बस्नेतले बताउनु भयो ।
केदारनाथको शिरको रुपमा २०६६ सालमा घोषणा भएपछि डोलेश्वर महादेवको धार्मिक गरिमा झनै बढेको छ । साउन महिनाभर लाखौं भक्तजन डोलेश्वर पुग्ने गर्छन् । यसपटकको मेलामा पनि उल्लेख्य संख्यामा दर्शनार्थी आउने समितिको अनुमान छ ।