ललितपुर, असार २८
ललितपुर महानगरपालिकाले चालु आर्थिक वर्ष २०८१/०८२ मा कुल बजेटको ६८.१४ प्रतिशत खर्च गरेको छ। शनिबार आयोजित पत्रकार सम्मेलनमा महानगरपालिकाका प्रमुख चिरिबाबु महर्जनले यो जानकारी दिए।
मेयर महर्जनका अनुसार चालु आर्थिक वर्षमा पुँजीगत खर्च ६०.६२ प्रतिशत, चालु खर्च ८५.३२ प्रतिशत, राजस्व संकलन ७५ प्रतिशत र बेरुजु ०.५२ प्रतिशत रहेको छ। यस्तै, स्थानीय तह संस्थागत क्षमता स्वमूल्यांकनमा ९३.५ प्रतिशत, वित्तीय जोखिम मूल्यांकनमा ९९.५ प्रतिशत र राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगबाट गरिएको मूल्यांकनमा ७४.७१ प्रतिशत अंक प्राप्त भएको उनले बताए।
महानगरले आगामी आर्थिक वर्ष २०८२/०८३ का लागि कुल ७ अर्ब ४७ करोड ४१ लाख ४७ हजार बजेट विनियोजन गरेको छ। जसमा पुँजीगततर्फ ४ अर्ब ५० करोड ७७ लाख २९ हजार, प्रशासनिक खर्चका लागि १ अर्ब ३३ करोड ३ लाख १८ हजार र सामाजिक सुरक्षा र सशर्त अनुदानतर्फ १ अर्ब ६३ करोड ६१ लाख विनियोजन गरेको छ ।