neapl investment mega bank
  • गृहपृष्ठ
  • एनसेलले अब ९७१ रेञ्जबाट मोबाइल नम्बर उपलब्ध गराउने

एनसेलले अब ९७१ रेञ्जबाट मोबाइल नम्बर उपलब्ध गराउने

Jul 1st, 2025

काठमाडौं, असार १७

एनसेलले आम उपभोक्ताहरुको सुविधाका लागि अब नयाँ नम्बर रेन्ञ ९७१ बाट सुरु हुने मोबाइल नम्बर उपलब्ध गराउने भएको छ । 

साउनको दोस्रो साताभित्रै नयाँ सिमहरु वितरण थाल्ने तयारी रहेको कम्पनीले जनाएको छ ।

नेपाल दूरसञ्चार प्राधिकरणले गत जेठ १४ गते एनसेललाई यो नम्बर रेन्ञको नम्बरहरु वितरण गर्नका लागि अनुमति प्रदान गरेको थियो । प्राधिकरणद्वारा एनसेललाई जारी नम्बर रेञ्ज ९८०, ९८१, ९८२, ९७० मार्फत  सेवाग्राहीहरुका लागि सेवा प्रदान गर्नका लागि मोबाइल नम्बरहरु अपुग भएकोले नयाँ नम्बर रेञ्ज प्रदान गरिएको हो ।

यो नयाँ नम्बर रेञ्ज प्राधिकरणको राष्ट्रिय नम्बरिङ् वितरण योजना (नेशनल नम्बरिङ अलोकेशन प्लान) को नियम अनुरुप जारी भएको हो । दूरसञ्चार सेवाहरु बाहेक विभिन्न महत्वपूर्ण कामहरु जस्तै वान टाइम पासवर्ड (ओटीपी) लिन, मोबाइल एप र वेबमा आधारित सेवाहरूका लागि साइन अप गर्नलगायत विभिन्न डिजिटल कारोबार गर्दा मोबाइल नम्बरको ठूलो आवश्यकता रहन्छ ।

एनसेलले विभिन्न सेवाप्रदायक कम्पनी, सरकारी तथा गैर सरकारी संस्था, कार्यलय, बैंक तथा वित्तीय संस्थाहरुलाई यो नयाँ नम्बर रेञ्जलाई हाल सञ्चालनमा रहेका अन्य रेञ्ज सरह ग्राहक सेवाका लागि आ–आफ्नो प्रणालीमा इन्ट्रिगेटरअपडेट गर्न अनुरोध गरेको छ ।