काठमाडौं, असार १७
नेपाल वायुसेवा निगमले आफ्नो ६७ औं वार्षिकोत्सव आज मिति २०८२ असार १७ गते (जुलाई १, २०२५) का दिन विभिन्न रचनात्मक सप्ताहव्यापी कार्यक्रमहरू सम्पन्न गरी निगमको केन्द्रीय कार्यालयको प्राङ्गणमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका माननीय मन्त्री श्री बद्री प्रसाद पाण्डेज्यूको प्रमुख आतिथ्यतामा भव्य रूपमा सम्पन्न गरेको छ ।
६७ औं वार्षिकोत्सवको अवसरमा वार्षिकोत्सव मूल समारोह समितिद्वारा आयोजित आकाश भैरब पूजामा माननीय मन्त्रीज्यू तथा निगमका कार्यकारी अध्यक्ष सहभागी भई आकाश भैरबको पूजा गर्नु भयो । वार्षिकोत्सवको अवसरमा निगमद्वारा नवनिर्मित डाटा सेन्टरको समुद्धघाटन समेत प्रमुख अतिथि माननीय मन्त्रीज्यूबाट भयो । तत्पश्चात् निगमको केन्द्रीय कार्यालयबाट शुरु भएको प्रभातफेरी कार्यक्रममा माननीय मन्त्रीज्यू, कार्यकारी अध्यक्ष तथा उपस्थित कर्मचारीहरु सहभागी भई भूगोल पार्क, रत्नपार्क, भद्रकाली, सुन्धारा हुँदै पुनः केन्द्रीय कार्यालय परिसरमै आएर प्रभातफेरी कार्यक्रम सभामा परिणत भएको थियो ।
सभालाई सम्बोधन गर्दै संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका माननीय मन्त्री श्री बद्री प्रसाद पाण्डेज्यूले नेपाल वायुसेवा निगम ऐतिहासिक महत्व बोकेको र राष्ट्रको पर्यटन क्षेत्रको मेरुदण्ड भएको उल्लेख गर्दै यसको विकासका लागि नेपाल सरकार सधैं साथमा रहने प्रतिबद्धता व्यक्त गर्नुभयो । उहाँले निगम व्यवस्थापन तथा कर्मचारीहरूलाई वस्तुपरक, तथ्यपरक र परिणाममुखी रूपमा कार्य गर्न निर्देशन दिनुभयो । साथै हवाई क्षेत्र एक अर्कासँग आश्रित हुने भएकाले समग्र हवाई क्षेत्रको विकासका लागि नेपाल वायुसेवा निगमको सुदृढीकरण अपरिहार्य रहेको बताउनुभयो ।
त्यसैगरी, कार्यक्रमलाई सम्बोधन गर्दै निगमका कार्यकारी अध्यक्ष श्री युवराज अधिकारीले हालसम्म गरेका उपलब्धिमूलक कार्यहरूको जानकारी दिनुहुँदै सार्वजनिक खरिद विनियमावली नै निगमको प्रगतिको मुख्य बाधक भएको उल्लेख गर्नुभयो । सो विनियमावली संशोधनका लागि मिति २०८०÷८÷७ मा सार्वजनिक खरिद कार्यालयमा पेश गरिसकिएको तथा मन्त्रालयमा समेत पटक–पटक पेश गरिएकाले स्वीकृतिका लागि पहल गरिदिन मन्त्रीज्यूसँग आग्रह गर्नुभयो । उहाँले निगमको उन्नति र प्रगतिका लागि सम्पूर्ण व्यवस्थापन,
पदाधिकारी तथा कर्मचारीहरूलाई हातेमालो गर्दै निगमको उद्देश्य र सपना साकार पार्न निर्देशन दिनुभयो । उहाँले नागरिकको विश्वासमा वृद्धि गर्न सुरक्षित उडानलाई प्राथमिकता दिँदै सुलभ, भरपर्दो र नियमित सेवामार्फत विश्वसनीयता कायम राख्नुपर्नेमा जोड दिनुभयो । हाल निगमको प्रमुख समस्या जहाजको अभाव रहेको भन्दै कम्तिमा दुईवटा न्यारोबडी जहाज लिजमा लिन सकिए अन्तर्राष्ट्रिय १० वटा गन्तव्यको सेवा नियमित गर्न सकिने, साथै गोन्जाओ र सिड्नी उडान समेत सहज हुने बताउनुभयो । त्यसका लागि मन्त्रालय र नेपाल सरकारबाट सहजीकरणको अपेक्षा व्यक्त गर्नुभयो । साथै निगमले गर्दै आएको ग्राउण्ड ह्यान्डलिङ सेवा कम्तीमा १५ वर्षसम्म निगमले नै गर्न पाउने व्यवस्था हुनुपर्ने माग पनि राख्नुभयो । कार्यक्रममा निगमका उच्च पदाधिकारीहरू, कर्मचारीहरू तथा सरोकारवाला व्यक्तिहरूको उत्साहपूर्ण सहभागिता रहेको थियो ।
६७ औं वार्षिकोत्सवको अवसरमा निगमले विविध सप्ताहव्यापी कार्यक्रम अन्तर्गत रक्तदान कार्यक्रम, टेबल टेनिस प्रतियोगिता, खुला कविता वाचन प्रतियोगिता तथा मैत्रीपूर्ण फुटबल प्रतियोगिता आयोजना गरेको थियो, जसमा निगम परिवार तथा शुभेच्छुकहरूको सक्रिय सहभागिताले कार्यक्रमहरू थप भव्य र सफल बनेका थिए । सोही अवसरमा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीहरूलाई प्रमाणपत्र तथा पदक प्रदान गरिएको थियो ।
सम्पूर्ण कार्यक्रमहरू सफल बनाउन प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा मार्गदर्शन, कुशल व्यवस्थापन तथा समर्पित योगदान प्रदान गर्नुहुने निगमका कार्यकारी अध्यक्ष श्री युवराज अधिकारी, पदाधिकारी, कर्मचारी, आयोजक समिति, प्राविधिक टोली तथा सम्पूर्ण सहयोगीप्रति नेपाल वायुसेवा निगम परिवार कृतज्ञता, धन्यवाद तथा आभार प्रकट गर्दछ ।
देशको राष्ट्रिय ध्वजाबाहक हवाई सेवा प्रदायकका रूपमा ६८ औं वर्षमा प्रवेश गरेको यस गौरवमय यात्रामा निगम सम्पूर्ण कर्मचारी, शुभचिन्तक, सेवा प्रयोगकर्ता तथा सरोकारवाला सबैप्रति हार्दिक धन्यवाद व्यक्त गर्दछ र आगामी दिनहरूमा अझ सुदृढ व्यवस्थापन तथा उत्कृष्ट सेवा प्रदान गर्ने प्रतिबद्धता दोहोर्याउँछ ।