आधारभुमि संबाददाता/ असार १०
भरतपुर महानगरपालिकाले तीन दिनअघि नै बजेट सार्वजनिक गरिसकेको छ । जसअनुसार, आगामी आर्थिक वर्ष २०८२/८३ का लागि पाँच अर्ब १९ करोड ७१ लाख ६६ हजार रुपैयाँ बजेट सार्वजनिक गरेको छ । महानगरको १७औँ नगरसभामा उपप्रमुख चित्रसेन अधिकारीले आगामी आर्थिक वर्षका लागि बजेट प्रस्तुत गरेका थिए ।
कुल बजेटको स्रोत व्यवस्थापनका लागि आन्तरिक आयबाट एक अर्ब ८० करोड, अन्तरसरकारी वित्तीय हस्तान्तरणबाट दुई अर्ब १५ करोड ७६ लाख, संघीय राजस्व बाँडफाँडबाट ३१ करोड ९१ लाख र प्रदेश राजस्व बाँडफाँडबाट १४ करोड चार लाख ४१ हजार रुपैयाँ अनुमान गरिएको छ ।
जनसहभागिताबाट पाँच करोड रुपैयाँ, बैंक मौज्दातबाट ७० करोड र सडक बोर्ड नेपालबाट तीन करोड रुपैयाँ प्राप्त हुने प्रक्षेपण गरिएको छ ।
महानगरको बजेटले अधुरा तथा क्रमागत आयोजनाको निरन्तरता, सहरी पूर्वाधार विकास, कृषि, शिक्षा, स्वास्थ्य र सामाजिक विकासलाई मुख्य प्राथमिकतामा राखेको छ ।
गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको अधुरो कार्य सम्पन्न गर्न साझेदारीका लागि चार करोड र महानगरको प्रशासनिक भवन निर्माणका लागि चार करोड रुपैयाँ विनियोजन गरिएको छ ।