काठमाडौं, जेठ २४
नेपाली समाजमा चेतना, मानवता र जनसेवाको भावना फैलाउने उद्देश्यसहित ‘मानव महाशक्ति अभियान, नेपाल’ले आफ्नो ९९ सदस्यीय केन्द्रीय कार्यसमिति घोषणा गरेको छ। शुक्रबार रिपोर्टर्स क्लब नेपालमा आयोजित पत्रकार सम्मेलनमार्फत गोरखा–काठमाडौंकी सुष्मा देवकोटाको अध्यक्षतामा कार्यसमिति सार्वजनिक गरिएको हो।
संगठनका अनुसार, देशभरका सबै जिल्लाबाट एक–एक तथा प्रत्येक प्रदेशबाट पनि एक–एक प्रतिनिधि रहनेगरी कार्यसमिति गठन गरिएको हो। स्थानीय तहसम्म सेवा पुर्याउने उद्देश्यले अभियानको संरचना बनाइएको बताइएको छ।
घोषित कार्यसमितिमा कल्पना पोखरेल (गोरखा) कोषाध्यक्ष, प्रमोद आचार्य (सिन्धुपाल्चोक) सचिव छन्। अन्य सदस्यहरूमा किरण केसी (बाग्मती), विजय मल्ल (सुदूरपश्चिम), डा. मखन महर्जन (ललितपुर), भेषराज खड्का (कोशी), कृष्ण आचार्य (धादिङ), हेलेना बस्नेत (काठमाडौं), तृष्णा गुरुङ (नवलपुर), सहदेव थापा (चितवन), डा. बुद्धिबहादुर गुरुङ, कुमार तामाङ (काठमाडौं), कविता केसी (ललितपुर), राजु हमाल (काठमाडौं), मुना थापा (चितवन), सृजना खरेल (चितवन), डिबी थापा (मकवानपुर), गोपाल भण्डारी (सिन्धुपाल्चोक), माधव अधिकारी (नुवाकोट), महेन्द्र पोखरेल (तनहुँ), रेनुका श्रेष्ठ (काठमाडौं) लगायत छन्।
संस्थाको प्रमुख संरक्षकमा सामाजिक–राजनीतिक क्षेत्रका विज्ञ विनोदकुमार गुरुङ रहेका छन् भने सल्लाहकारहरूमा हवाई तथा पर्यटन विज्ञ श्रीराजु शाक्य र भाषासंस्कृतिका जानकार बाल नरसिंह गुरुङ छन्।
संरक्षक गुरुङले दशक लामो छलफलपश्चात सुरु गरिएको अभियानले नेपाली भूगोलमा बसोबास गर्ने मानव जातिको चेतना अभिवृद्धि गर्ने बताए। उनले अभियानले विश्वमा नेपाली मानवताको पहिचान दिने विश्वास व्यक्त गरे।
कार्यक्रममा बोल्दै अध्यक्ष सुष्मा देवकोटाले मानवता हराउँदै गएको वर्तमान समयलाई पुनःमानव चेतनाको उज्यालोले आलोकित गर्न अभियान प्रारम्भ गरिएको बताइन्। “विकास त छ, तर मानवता हराउँदैछ,” उनले भनिन्, “त्यहीभएर हामीले तीन करोड नेपालीलाई समेट्ने गरी जनचेतनाको यात्रा थालेका छौं।”