काठमाडौं, जेठ ९
जेठ १५ गते प्रस्तुत हुने नयाँ बजेट निर्माणमा अर्थ मन्त्रालय जुटेको छ । बजेट निर्माण भइरहेकाले अर्थले मन्त्रालय प्रवेशमा कडाइ गरेको छ ।
आर्थिक वर्ष २०८२/८३ को लागि बजेट सिलिङ १८ खर्ब ६० करोड रहेको छ । बजेट निर्माणमा आयोजनाको माग गर्न आउनेको भीडभाड हुने गरेकोले मन्त्रालय प्रवेशमा कडाइ गरिएको अर्थले जनाएको छ ।
आर्थिक वर्ष २०८२/८३ को बजेट निर्माणसम्बन्धी परामर्श, छलफल र सुझावका लागि अर्थ मन्त्रालयले गत वैशाख महिनामा सबैलाई सहज पहुँचको व्यवस्था गरेको थियो ।
यही जेठ १५ गते संघीय संसदको बैठकमा उपप्रधान एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आर्थिक वर्ष २०८२/८३ को बजेट वक्तव्य प्रस्तुत गर्नेछन् ।