गोरखा, जेठ ४
नेपाल भारत आदिवासी जनजाति मैत्री संघकी राष्ट्रिय परिषद सदस्य, कुशल व्यवसायी, बरिष्ठ समाजसेवी तथा युवा नेतृ सुष्मा देवकोटाले आफ्नो गृह जिल्ला गोरखाको अजिरकोट गाउँपालिका–५ मुचोकटारमा रहेको मुचोकटार आधारभूत विद्यालयमा अध्ययनरत अति विपन्न वर्गका १५ जना दलित बालबालिकालाई शैक्षिक, लत्ताकपडा तथा खाद्य सामग्री प्रदान गरेकी छन्।
उक्त अवसरमा विद्यार्थीहरूलाई स्कुल ड्रेस, कापी–कलम, स्टेसनरी सामग्री, स्कुल ब्याग, ज्योमेट्री बक्स लगायत आवश्यक शैक्षिक सामग्रीहरू वितरण गरिएको थियो। साथै, उनीहरूका परिवारलाई सहयोगस्वरूप खाद्य सामग्री अन्तर्गत १० बोरा चामल, २० केजी चिनी, २० केजी दाल, १० केजी चना, १० केजी केराउ, ३ कार्टुन तेल, ६ कार्टुन चाउचाउ, ५ केजी जिरा, ३ केजी धनियाँ, २ बोरा चिउरा, र ६ प्याकेट बिस्कुट प्रदान गरिएको थियो।
यसका अतिरिक्त विद्यालयमा कार्यरत शिक्षकहरूलाई पनि सम्मानस्वरूप ११ थान डायरी र ११ थान पेन व्यक्तिगत रूपमा उपहारस्वरूप प्रदान गरियो।
स्थानीय स्तरमा मन, वचन र कर्मबाट सेवा गर्ने आफ्नो अठोट अनुरूप सुष्मा देवकोटाले यस कार्यमार्फत सामाजिक उत्तरदायित्व निर्वाह गर्दै आएकोमा नेपाल भारत आदिवासी जनजाति मैत्री संघले उनको यो योगदानको उच्च प्रशंसा गर्दै हार्दिक बधाई तथा शुभकामना व्यक्त गरेको छ।