पनौती, काभ्रे जेठ २
लड्केश्वर धाममा २०८० सालमा सम्पन्न राष्ट्रिय कोटिहोमको चर्चा गर्दा मुकुन्द शर्मा हुमागाईको नाम छुट्दैन । ती पत्रकार हुन्, जसले पत्रकारिताभन्दा पनि गहिरो रूपमा धर्म, संस्कृति र परम्परालाई जीवन दर्शनको रूपमा आत्मसात गरे ।
उनकै पहलमा १०८ फिट अग्लो त्रिशूल पुनर्निर्माण भयो । त्यसअघि वर्षौंसम्म उपेक्षित रहेको त्रिशूल निर्माण कार्य थाल्नै सकिएको थिएन । तर, मुकुन्द शर्माले केवल निर्माण मात्र गरेनन्, ‘कोटिहोम’ जस्तो आयोजनामार्फत ७७ जिल्लाका जनसमुदायलाई सहभागी गराएर नेपालकै ठूलो धार्मिक संयोजन सम्भव बनाए ।
यो अभियान पश्चात उनलाई ‘कालाग्निरुद्र पीठाधीश’ घोषणा गरिएको थियो, जुन पद प्रतिष्ठासँग मात्र नभई शास्त्रीय प्रमाणसँग पनि जोडिएको छ । सूर्य पुराणको ५७औँ अध्यायमा वर्णित कालाग्निरुद्र सन्दर्भलाई उनैले व्याख्यात्मक रूपमा पुनःस्थापन गरे ।
आज उनी केवल एक आयोजक होइनन् – उनी जन–आस्था र सनातन संस्कृति जोड्ने सेतु बनेका छन् ।