काठमाडौं, बैशाख २८
भक्तपुर क्यान्सर अस्पतालमा क्यान्सर बिरामी बालबालिकाको विशेष उपचारका लागि बाल चिकित्सा सघन एकाइ स्थापना गरिएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले आइतबार एकाइ उद्घाटन गरे। बाल क्यान्सर उपचार निःशुल्क कार्यान्वयन गर्ने निर्णय गरेका मन्त्री पौडेलले अस्पतालमा उनीहरुका लागि बेग्लै आइसीयु वार्ड स्थापना गर्न भनेका थिए। सोही अनुसार वैशाख महिनाभित्र वार्ड सञ्चालनमा ल्याउने गरी अस्पतालले थालेको तयारी पूरा भए पछि सेवा शुरु भएको हो।
सेवा शुरुवात गर्दै मन्त्री पौडेलले भक्तपुर क्यान्सर अस्पताललाई उपचारमा नमूना बनाउँदै विदेश उपचारका लागि जाने संख्या घटाइने लक्ष्य राखिएको बताए।
मन्त्री पौडेलले पहिलो निर्णय नै क्यान्सर नियन्त्रण रणनीति स्वीकृत गरेर गरेको भन्दै क्यान्सर उपचारलाई सहज र सुपथ बनाउन यथासम्भव काम गरिने बताए। यसपाली आउने बजेटमा समेत क्यान्सर नियन्त्रणलाई प्राथमिकतामा राखेको उनले बताए।
थपिएको एकाइमा बालबालिकाको आइसीयुका ४, डे केयरका ४ तथा साधारण ७ शैय्या रहने कार्यकारी निर्देशक डा उज्वल चालिसेले बताए।