neapl investment mega bank
  • गृहपृष्ठ
  • प्रधान सेनापति राष्ट्रिय टेनिस प्रतियोगिता-२०८२ सम्पन्न

प्रधान सेनापति राष्ट्रिय टेनिस प्रतियोगिता-२०८२ सम्पन्न

May 11th, 2025

काठमाडौं, बैशाख २८

नपाली सेनाको आयोजना तथा नेपाल टेनिस संघको प्राविधिक सहयोगमा सञ्चालन भएको तेस्रो संस्करणको प्रधान सेनापति राष्ट्रिय टेनिस प्रतियोगिता-२०८२ आज मिति २०८२ वैशाख २८ गते प्रधान सेनापति महारथी श्री अशोक राज सिग्देलको प्रमुख आतिथ्यमा सम्पन्न भएको छ ।

जङ्गी अड्डामा आयोजित समापन समारोहमा प्रधान सेनापतिले प्रतियोगितामा च्याम्पियन हुने त्रिभुवन आर्मी क्लब, Men Single तथा Women Single प्रतियोगिताका विजेता प्रदिप खड्‌का र सिभाली गुरुङ्ग लगायतलाई ट्रफि तथा प्रमाण-पत्र प्रदान गर्नु भयो। समारोहमा प्रतियोगितामा विभिन्न विधाहरूमा उत्कृष्ट हुने खेलाडीहरूलाई समेत पुरस्कार वितरण गरिएको छ ।

वैशाख २१ गतेबाट सुरु भएको प्रतियोगिता जङ्गी अड्डा र दशरथ रङ्गशालास्थित टेनिस कोर्टमा सञ्चालन भएको थियो। प्रतियोगितामा ९ वटा क्लबका १५ जना महिला सहित १९६ जना खेलाडीहरूले १२ वटा विधा र Inter-Governmental तर्फको २ वटा सहित कुल १४ वटा विधाका खेलहरूमा प्रतिस्पर्धा गरेका थिए ।

टेनिस खेलको विकासका लागि उत्कृष्ट खेलाडी उत्पादन गर्ने दृष्टिकोणले सञ्चालन भएको यस प्रतियोगिता वि.सं. २०७८ देखि सञ्चालन गरिएको हो ।

समापन समारोहमा बलाधिकृत, बलाध्यक्ष, रथीवृन्द, सशस्त्र प्रहरी बल नेपालका अतिरिक्त महानिरीक्षक, राष्ट्रिय अनुसन्धान विभागका अतिरिक्त मुख्य अनुसन्धान निर्देशक, नेपाल टेनिस संघ तथा राष्ट्रिय खेलकुद परिषद्‌का पदाधिकारीहरू, विभिन्न टेनिस क्लबका पदाधिकारीहरू, नेपाली सेनाका अधिकृत, सञ्चारकर्मी तथा खेलाडीहरूको उपस्थिति रहेको थियो ।