काठमाडौँ, बैशाख १९
गैर आवासीय नेपाली संघ (एनआरएनए) उच्चस्तरीय समितिले यही वैशाख २० देखि २२ गते (मे ३–५, २०२५) काठमाडौँमा आयोजना हुन लागेको एकता महाधिवेशनको तयारी पूरा भएको जनाएको छ ।
शनिवारदेखि काठमाडौँमा सुरु हुन लागेको महाधिवेशनका लागि विभिन्न देशबाट सयौँको सङ्ख्यामा प्रतिनिधिहरू (डेलिगेट्स) आइसकेको र अरू बाटोमै रहेको पनि समितिले जनाएको छ । महाधिवेशन हुन नदिन गरिएका विभिन्न अवरोधका बाबजुद ठूलो सङ्ख्यामा प्रतिनिधिहरूको स्वतःस्फूर्त सहभागिताले उच्चस्तरीय समितिको मनोबल बढाएको विज्ञप्तिमा उल्लेख छ ।
समितिले आज शुक्रवार, १९ वैशाख (मे २) दिउँसो २ बजेभित्र सबै डेलिगेटसलाई समितिको बालुवाटारस्थित सचिवालयमा दर्ता शुल्क बुझाएर एकताको महाधिवेशनमा सहभागी हुन अनुरोध गरेको छ ।
“एनआरएनए उच्चस्तरीय समिति कानुनको सर्वोच्चता, विधिको शासन (रुल अफ ल) र सामूहिक बुद्धिमत्तामा विश्वास गर्दछ। विगतका विवादहरूलाई अन्त्य गरी संस्थालाई नयाँ र एकताबद्ध ढङ्गले अगाडी बढाउन सम्मानित सर्वोच्च अदालतको परमादेश, संघको विधानको मर्म र समितिद्वारा पारित कार्यविधिका आधारमा पारदर्शी किसिमले गएको झन्डै ६ महिना देखि हामीले गरिरहेको प्रयास खेर नजाओस् भन्ने तर्फ हामी सचेत छौँ,” समितिकी सदस्य सचिव जानकी गुरुङद्वारा जारी विज्ञप्तिमा भनिएको छ।