neapl investment mega bank neapl investment mega bank
  • गृहपृष्ठ
  • शिक्षकहरुको असली रुप देखिँदै, अझै काठमाडौं प्रशासन र स्थानीय सरकार मौन बस्ने कि कदम पनि चाल्ने ?

शिक्षकहरुको असली रुप देखिँदै, अझै काठमाडौं प्रशासन र स्थानीय सरकार मौन बस्ने कि कदम पनि चाल्ने ?

Apr 28th, 2025

काठमाडौं, बैशाख १५

सर्वसाधारण जनता स्थानीय सरकारलाई सोध्छन्, ‘आन्दोलनरत शिक्षकहरुलाई किन कारबाही नगरेको ? किन जागिरबाट नहटाएको ?’ जनताले तिरेको करबाट तलभत्ता खाएर शिक्षक शिक्षिकाहरु विद्यार्थी नपढाई आन्दोलनमा होमिएका छन् । विद्यालय बन्द गरेर सडकमा रमिता देखाइरहेका छन् । यतिमात्र होइन, शिक्षकहरु उग्र बन्दै गएका छन् । सडक कब्जा गरेर सुरक्षाकर्मीलाई ढुंगामुढा हानिरहेका छन् । जनताको छोराछोरीको भविष्यमाथि खेलबाड गरी आफ्नो स्वार्थ पुरा गर्नका निम्ति शिक्षकहरु आन्दोलनमा उत्रिएको झण्डै एक महिना हुन लागिसक्यो । यस अवधिमा विद्यालयमा पठनपाठन भएको छैन । विद्यार्थीहरु अन्यौलमा परेका छन् । देशभरका सरकारी तथा सामुदायिक विद्यालय बन्द छन् । विद्यालय बन्द भएपछि आफ्नो छोराछोरी कहाँ पढाउने भनेर अभिभावकहरु चिन्तित छन् । अर्को कुरा विद्यालय बन्द गरेर शिक्षकहरु आन्दोलनमा होमिएपनि तलबभत्ता चाँहि बुझिरहेका छन् । हाजिरी कपी चोरेर ल्याएर सडकमै हाजिर गरिरहेका छन् ।

अनि स्थानीय सरकार के हेरेर बसिरहेको छ ? शिक्षकहरुले कानूनविपरीत गतिविधि गर्दा स्थानीय तहहरु किन मौन ? किन तत्काल त्यस्ता शिक्षकलाई बर्खास्त गरेर नयाँ शिक्षक नियुक्तिको प्रक्रिया अघि बढाइएन ? सरकारी विद्यालयको शैक्षिक अवस्था कस्तो छ ? हामी सबैलाई थाहै छ । दिनप्रति दिन सरकारी विद्यालय खस्किँदै गएको छ । त्यसमाथि शिक्षकहरु पढाउन छोडेर आन्दोलनमा उत्रिँदा अहिले सम्पूर्ण विद्यार्थी निजीतर्फ गएका छन् । निजीमा धमाधम विद्यार्थी भर्ना भइरहेका छन् भने सरकारी विद्यालयका शिक्षकहरु सडकमा रमिता देखाइरहेका छन् । त्यसकारण अब स्थानीय सरकारले कदम चाल्नुपर्छ । जनताको छोराछोरी पढाउन छोडेर आन्दोलनमा होमिने शिक्षकहरुलाई कारबाही गर्नुपर्छ ।
शिक्षामन्त्री रघुजी पन्तले अब शिक्षकहरुसँग वार्ता गर्ने होइन । यस्ता शिक्षकहरुको नियुक्ति पत्र खारेज गरेर नयाँ शिक्षक नियुक्ति प्रक्रिया अघि बढाउनुपर्छ । सरकार अब शिक्षकसामु झुक्ने होइन, पेलेर अघि बढ्ने हो ।

पछिल्लो समय राजधानी अशान्त छ । शिक्षकहरुको आन्दोलन अराजक बन्दै गएको छ । शुरुवातमा शान्तिपूर्ण आन्दोलनको नौंटकी देखाएका शिक्षकहरु अहिले ढुंगामुढामा उत्रिएका छन् । आन्दोलन शुरु गर्दा शिक्षकहरुले भनेका थिए, ‘हामी आफ्नो फोहोर आफैं सफा गछौं । बिरुवासमेत मार्न दिँदैनौं । सुरक्षाकर्मीलाई केही गर्दैनौं ।’ शिक्षकहरुको आन्दोलन कति शान्तिपूर्ण रहेछ ? अहिले प्रष्टै भएको छ । बिरुवासमेत नमार्ने दाबी गरेका शिक्षकहरुले आइतबार फुटपाथको ब्लकसमेत निकालेर सुरक्षाकर्मीमाथि प्रहार गरे । अर्को कुरा, आन्दोलन चाँहि शिक्षकको, आँखा फुट्यो पत्रकारको । पत्रकारहरुले शिक्षकहरुको माग सम्बोधन गर्नुपर्छ भनेर बोल्दै, लेख्दै आएका छन् । शिक्षक आन्दोलनको समर्थन गर्दाको परिमाण अहिले हामी सबैले देखेका छौं । शुरुवातमा शिक्षकहरु पत्रकार र सुरक्षाकर्मीसँग मिले । हाँस्दै गफ गरे । प्रहरीले पनि शिक्षकहरु अरु आन्दोलनकारी जस्तो हुन्न भनेर सोच्यो । जसले गर्दा शिक्षकहरु यो हदसम्म आइपुगेका छन् ।

आन्दोलनकारी प्रहरीको शत्रु बराबर हो । आन्दोलनकारीले कुन र कति बेला के गर्न सक्छन् ? कसैलाई थाहा हुँदैन । तर, सुरक्षाकर्मीहरुले आन्दोलनरत शिक्षकहरुलाई साथीको रुपमा हेर्यो । शिक्षकहरुले सडक कब्जा गर्दा शुरुवातमै बल प्रयोग गरेर हटाउनुको साटो उल्टै सडक बन्द गरिदिए उनीहरुलाई सहयोग गर्यो । शिक्षकहरुको रबैया ठ्याक्कै माओवादीसँग मिल्दोजुल्दो छ । जनयुद्धकालमा माओवादीले शत्रुलाई साथी बनाउन्थ्यो । अनि थाहै नदिई उसलाई माथ्र्यो । शिक्षकहरुले पनि त्यस्तै गरे । पहिला सुरक्षाकर्मीलाई साथी बनाए । पछि त्यही सुरक्षाकर्मीमाथि ढुंगा हाने । अब शिक्षकहरु माओवादी होइनन् भन्नेमा कुनै शंका देखिँदैन । यता, काठमाडौंका सिडियो ऋषिराम तिवारीले तत्काल राजीनामा दिनुपर्ने आवाज उठ्न थालेको छ । शिक्षकहरुले आइतबार त्यत्रो आतंक मच्याउँदासमेत उनले माइतीघर–नयाँ बानेश्वर क्षेत्रलाई निषेधित घोषणा गरेका छैनन् । उनकै लापरबाहीका कारण पनि शिक्षक आन्दोलन उग्र बनेको छ । यदि सिडियो तिवारीले पहिल्यै शिक्षकहरुलाई सडकमा कब्जा गर्न रोक लगाएर खाली चौरमा गर्न लगाएको भए यस्तो घटना हुने थिएन ।
तर, आन्दोलनलाई ख्यालठट्टाको रुपमा लिँदा निर्दोष व्यक्तिको आँखा गुमाउनुपर्ने अवस्था आएको छ । शिक्षक आन्दोलनमा घाइते भएकी पत्रकार सविना कार्कीको अब कसले जिम्मेवारी लिन्छ ? शिक्षकहरुले वा काठमाडौं प्रशासनले ? उनको आँखा पहिल्यै अवस्थामा ल्याउन सक्छन्, शिक्षकहरुले ? अझै पनि स्थानीय तह र काठमाडौं प्रशासन मौन बस्ने कि तत्काल कदम चाल्ने ?

कि ठूलो क्षतिको लागि हेरेर बसिरहेको हो, काठमाडौं प्रशासन ? आन्दोलनमा उत्रिएका शिक्षकहरु माओवादीनिकट हुन् । शिक्षक महासंघका अध्यक्ष लक्ष्मीकिशोर सुवेदी माओवादी कार्यकर्ता हुन् । प्रचण्डको निर्देशनअनुरुप उनले आन्दोलन गरिरहेका छन् । फेरि माओवादी कुन हदसम्म जान सक्छन् ? भन्ने कुरामा पत्रकार र सुरक्षाकर्मी चलाख हुन आवश्यक थियो । माओवादी लुट्न र मार्न नै ज्यान हुन्छन् । जनयुद्धको समयमा माओवादीले न पत्रकार भनेर छोडिदियो न सुरक्षाकर्मी भनेर । उल्टै उनीहरुलाई निशाना बनाइयो । आफैँ आफ्नो लागि खाल्टो खन्न लगाएर पुरिदियो । भनिन्छ, ‘सर्पलाई जतिसुकै दुध खुवाएपनि त्यो सर्पले पछि दुध खुवाउनेलाई नै टोकेर मार्छ ।’ माओवादी पनि त्यही नै हो ।
माओवादीले आफ्नालाई समेत छोडँदैन । अनि शत्रुलाई छोड्नु त परको कुरा हो । अहिले शिक्षकका लागि सुरक्षाकर्मी शत्रु बनिसकेका छन् । अब शिक्षकहरुले सुरक्षाकर्मीको ज्यानै लिनसमेत समय लगाउने छैनन् । त्यसैले, सुरक्षाकर्मी चलाख र सचेत हुन आवश्यक छ । राजावादी आन्दोलन तुहाउन प्रचण्डले शिक्षकहरुलाई सडकमा उतारे ।

फागुल्न २५ गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पूर्वराजा ज्ञानेन्द्र वीर विक्रम शाहको स्वागतमा लाखौं सर्वसाधारणको उपस्थिति देखेपछि प्रचण्ड त्रसित भए । तराई–मधेश अभियानमा रहेका उनी त्यो स्थगित गरेर काठमाडौं फर्किए । अनि शुरु गरे राजावादीलाई कमजोर बनाउने योजना । चैत १५ गते आफ्नो कार्यकर्तामार्फत राजावादीको आन्दोलनलाई उग्र बनाइदिए । अनि दोष चाँहि राजावादीलाई थुपारिदिए । स्मरण रहोस् माओवादीले जनयुद्धको समयमा १७ हजार बढी जनता मारेको थियो । तर, त्यसले नपुगेर अझै पनि जनता मान्छे रणनीतिमा छ, माओवादी । एकातिर गणतन्त्रवादीसँग बसेर राजतन्त्रको विरोधमा लगाउने, अर्कोतिर शिक्षकहरुलाई सडकमा उतार्ने । त्यही शिक्षकमार्फत सत्तामा पुग्ने प्रचण्डको दाउ छ । उनले शिक्षकहरुलाई सडकमा मात्र उतारेनन्, विद्यार्थीको भविष्य बर्बाद पारिदिने काम गरिदिएका छन् । लाखौं बालबालिकाको भविष्य अन्यौलमा परेको छ । गरिब जनताका छोराछोरी शिक्षाबाट वञ्चित हुनुपरेको छ । प्रचण्डले आफ्नो स्वार्थका निम्ति फेरि पनि जनतालाई नै प्रयोग गरेका छन् । जनताका छोराछोरीको भविष्य अन्धकारमा पारिदिएका छन् ।

जनता मारेर सफल बनाएको जनयुद्धको उपलब्धि हामी सबैसामु छ । जनयुद्धले जनतालाई केही दिएन । माओवादी, प्रचण्ड र उनको परिवारलाई मात्रै दियो । हिजो चप्पल लगाउन नसक्ने हैसियत भएका प्रचण्ड अहिले घडी मात्रै लाखौंको बाँध्छन् । उनले लगाउने कपडा, जुत्ता, चस्मा पनि लाखौंको छ । अनि यो पैसा कहाँबाट आयो ? पटकपटक प्रधानमन्त्री हुँदा भ्रष्टाचार गरेर होइन र ? आफ्ना नजिकका मान्छेलाई पटकपटक मन्त्री बनाए । छोरीलाई स्वकीय सचिवदेखि मेयरसम्म बनाए । बुहारीलाई मन्त्री बनाए । अनि जनताले चाँहि के पाए त । प्रचण्ड जनयुद्धकै कारण मुलुकमा लोकतन्त्र गणतन्त्र आएको दाबी गर्छन् । अहिले जनता उनलाई सोध्छन्, ‘लोकतन्त्र गणतन्त्रले के भयो ? तर, भारत र चीनले कब्जा गरेको नेपाली भूभाग किन फिर्ता नल्याएको ? लोकतन्त्रअघि एक रुपैयाँ ऋण नरहेकोमा अहिले कसरी २७ खर्ब पुग्यो ? किन नेपाली रोजगारीका लागि विदेशिरहनुपरेको छ । किन निर्माण व्यवसायीले ४५ अर्ब, दुध र उखु किसानले सात अर्ब र कोरोना महामारीको २४ अर्ब भुक्तानी दिन सकिएन ?’

अब प्रचण्डले जवाफ दिनैपर्छ । जनयुद्धले देशमा के भयो ? जनतालाई जवाफ दिइयोस् । प्रचण्ड एक नम्बरका स्वार्थी व्यक्ति हुन् । हिजो पनि आफ्नो स्वार्थ पुरा गर्न जनता मारे, अहिले पनि त्यही गर्दैछन् । शिक्षकलाई उचाल्ने प्रचण्ड नै हुन् । त्यसकारण अब सरकारले प्रचण्डलाई कारबाही गर्नुपर्छ । शिक्षकहरु पनि कसैको पछि नलागौं । विद्यालय फर्कियौं । किनकि प्रचण्ड कसैको आफ्ना होइनन् ।
रुषा थापा भक्तपुर