neapl investment mega bank
  • गृहपृष्ठ
  • शिशिर घिमिरे स्मृति प्रतिभा सम्मान, छात्रवृत्ति वितरण तथा बहुभाषिक कविता वाचन कार्यक्रम सम्पन्न

शिशिर घिमिरे स्मृति प्रतिभा सम्मान, छात्रवृत्ति वितरण तथा बहुभाषिक कविता वाचन कार्यक्रम सम्पन्न

Apr 20th, 2025

बर्दिवास, वैशाख ७

शिशिर घिमिरे स्मृति प्रतिष्ठानले ३०औँ राष्ट्रिय छन्द दिवसको अवसरमा बर्दिवासस्थित विनायक ब्याङ्केटमा बहुभाषिक कविता वाचन, स्रष्टा सम्मान तथा छात्रवृत्ति वितरण कार्यक्रम सम्पन्न गरेको छ ।

कार्यक्रममा प्रतिष्ठानका संरक्षक प्रेम घिमिरे ‘अग्नि कवच’को अध्यक्षता र प्रदेशसभा सदस्य शारदा थापाको प्रमुख आतिथ्यमा प्रा. डा. सुमन कर्माचार्यलाई शिशिर घिमिरे स्मृति प्रतिभा सम्मान २०८१ प्रदान गरिएको थियो ।

जनवादी लेखक संघ सितामढी (भारत) का कोषाध्यक्ष महमद कामरुदिन नदाफद्वारा विशेष क्षमता भएका दुई विद्यार्थी—गरिमा परियार र दिनेश महतोलाई जनही रू. ५५५५ र साहित्यप्रेमी मिना देवकोटाबाट सुस्मिता कट्वाललाई रू. २५५५ छात्रवृत्ति प्रदान गरिएको थियो ।

कार्यक्रममा मधेस, कोशी र बाग्मती प्रदेशका विभिन्न जिल्लाबाट आएका साहित्यकारहरूले कविता, गीत र गजल वाचन गरेका थिए । सहभागीतामध्ये प्रमुख सर्जकहरूमा कुमार कुसुम, सुमित्रा आचार्य, बोधकुमार घिमिरे, लम्बोदर काफ्ले, डा. सुमन कर्माचार्यलगायत थिए ।

कार्यक्रम सञ्चालन नारद काफ्लेले र स्वागत भिमकुमार राउतले गरेका थिए। प्रमुख अतिथि शारदा थापाले साहित्यिक गतिविधिले समाजमा सकारात्मक ऊर्जा दिन्छ भन्दै प्रतिष्ठानको दीर्घायुको कामना गरिन् ।

उक्त कार्यक्रममा भए गरेका कुराकानीहरू यही आउँदो शुक्रबार ओमकार टेलिभिजनको ‘पञ्चामृत’ कार्यक्रममा प्रशारण हुनेछ ।