neapl investment mega bank
  • गृहपृष्ठ
  • सपना देख्न सक्ने र त्यो सपना पूरा गर्न सक्ने जनशक्ति कर्णाली प्रदेशमा छ : मन्त्री यादव

सपना देख्न सक्ने र त्यो सपना पूरा गर्न सक्ने जनशक्ति कर्णाली प्रदेशमा छ : मन्त्री यादव

Apr 19th, 2025

काठमाडौँ, ६ वैशाख

खानेपानी मन्त्री प्रदीप यादवले सपना देख्न सक्ने र त्यो सपना पूरा गर्न सक्ने जनशक्ति कर्णाली प्रदेशमा रहेको बताउनु भएको छ ।

कर्णाली प्रदेशको जुम्ला जिल्ला स्थित कर्णाली प्राविधिक शिक्षालय जुम्ला तथा तातोपानी गाउँपालिका–१ मा निर्माणाधिन धौलीगाढ खानेपानी आयोजनाको अवलोकन तथा निरीक्षण पश्चात उहाँले सो कुरा बताउनु भएको हो ।

उहाँले भन्नुभयो, “आजको दिन दुर्गम तथा सौन्दर्यले भरिपूर्ण कर्णालीको मुटु, जुम्ला आइपुगेको छु । कर्णाली अब पिछडिने छैन । सपना देख्न सक्ने र त्यो सपना पूरा गर्न सक्ने जनशक्ति यहाँ छ ।”

सोही क्रममा मन्त्री यादवले कर्णाली प्रदेशका दुर्गम जिल्ला सहित जुम्लाका विद्यार्थी र जनसमुदायले वर्षौदेखि भोग्दै आएका खानेपानी लगायतका विविध समस्याहरुको आफुले समाधान गरेर छोड्ने प्रतिवद्धता व्यक्त गर्नुभयो । 

“यहाँका विद्यार्थी र जनसमुदायले भोग्दै आएका खानेपानी लगायतका विविध समस्याबारे प्रत्यक्ष जानकारी लिने मौका पाए । यहाँको खानेपानीको क्षेत्रमा देखिएका समस्या समाधान गरेरै छोड्छौँ, उहाँले भन्नुभयो । 

जुम्लाको कठोर भौगोलिक बनोटकाबीच पनि यहाँका जनताको आँट, साहस र सम्भावनाले मलाई गहिरो प्रेरणा दिएको समेत मन्त्री यादवले बताउनुभयो । उहाँले भन्नुभयो, “तपाईहरुको आँट, साहस र सम्भावनाले मलाई गहिरो प्रेरणा दिएको छ । कर्णालीवासीको उज्यालो भविष्यका लागि सँगै सहकार्य गरौँ ।”

जुम्ला जिल्ला स्थित हेमा गाउँपालिका–१ देवारगाउँमा आइतबार आयोजना हुने वास सम्मेलनमा सहभागिता जनाउन एवं खानेपानी क्षेत्रमा विद्यमान समस्या र त्यसका समाधानका उपायहरू पहिचान गर्नका लागि मन्त्री यादव सहित मन्त्रालयका सचिव ईञ्जिनियर प्रमिलादेबी शाक्य बज्राचार्य, खानेपानी तथा ढल व्यवस्थापन विभागका महानिर्देशक ईञ्जिनियर रामकुमार श्रेष्ठ लगायतको टोली आज जुम्ला पुग्नु भएको हो ।