neapl investment mega bank
  • गृहपृष्ठ
  • कवाडी संकलकमाथि दुर्व्यवहार गर्ने नगर प्रहरीलाई जिम्मेवारीबाट हटाइयो

कवाडी संकलकमाथि दुर्व्यवहार गर्ने नगर प्रहरीलाई जिम्मेवारीबाट हटाइयो

Apr 16th, 2025

काठमाडौं, बैशाख ३

काठमाडौँ महानगरपालिकाको प्रहरी बलले बालुवाटारमा एक व्यक्तिप्रति प्रहरी टोलीले गरेको अमर्यादित व्यवहारमा संलग्न नगर प्रहरीमाथि कारबाही गरेको छ ।

बुधबार बिहान ८ बजे बालुवाटार क्षेत्रमा भएको उक्त घटनामा संलग्न प्रहरीलाई जिम्मेवारीबाट हटाई महानगर प्रहरी ऐन, २०८० बमोजिम कारबाहीका लागि कार्यालयमा तानिएको महानगर प्रहरी प्रमुख राजुनाथ पाण्डेले जानकारी दिए ।

घटनाको भिडियो सामाजिक सञ्जालमा भाइरल बनेको थियो । भिडियोमा नगर प्रहरीले कवाडी संकलन गर्ने ती व्यक्तिको साइकल खोसेर अमर्यादित व्यवहार गरेको देखिन्छ ।

पाण्डेले घटनालाई गैरव्यावसायिक र अमर्यादित भएको स्वीकार गर्दै दोषीमाथि आवश्यक कारबाही हुने बताए । सामाजिक सञ्जालमा उक्त घटनाको चर्को आलोचना भएपछि महानगरपालिकाले तत्काल प्रेस विज्ञप्ति जारी गरी कारबाही प्रक्रिया अगाडि बढाएको हो ।