काठमाडौं, चैत २०
भाटभटेनी सुपरमार्केटले गत चैत १५ गतेको घटनामा असाधारण बहादुरी प्रदर्शन गर्ने सुरक्षा गार्ड दुलप्रसाद पराजुलीलाई सम्मान गरेको छ। उनलाई आज आयोजित एक विशेष कार्यक्रममा ५ लाख नगद पुरस्कार र पाँच ग्रेड बढुवाको सम्मान प्रदान गरिएको हो। भाटभटेनीका मालिक मीनबहादुर गुरुङले पराजुलीलाई दुबोको माला लगाइदिएर सम्मान व्यक्त गरे।
कार्यक्रममा चैत १५ गते भएको लुटपाट र तोडफोडको घटनामा सुपरमार्केटलाई जोगाउन महत्वपूर्ण भूमिका खेल्ने अन्य कर्मचारीहरूलाई पनि पुरस्कृत गरिएको छ। अन्य तीन सुरक्षा गार्डहरू सूर्य गिरी, दीपेश खड्का र सोमबहादुर भुजेललाई जनही २५ हजार १ रुपैयाँ नगद र एक ग्रेड बढुवा प्रदान गरिएको छ।
यस्तै, ग्रोसरी सिनियर सुपरभाइजर सागर गुरुङले ५१ हजार १ सय ११ रुपैयाँको चेक र दुई ग्रेड बढुवा प्राप्त गरेका छन्।