आधारभुमी संबाददाता
भक्तपुर , चैत १८
प्रधानमन्त्री केपी शर्मा ओलीको बालकोटस्थित निवासको सुरक्षा व्यवस्था राजावादी आन्दोलनसँगै कडा पारिएको छ। चैत १५ गतेदेखि चौबीसै घण्टा प्रहरी तैनाथ गरिएको बालकोट प्रहरीले जनाएको छ।
बालकोट प्रहरी इन्चार्ज राजेन्द्र गिरीले राजावादी आन्दोलनले नेताहरूको घर र कार्यालयलाई निशाना बनाएको देखिएपछि सुरक्षा थप कडा बनाइएको बताए।
“सार्वजनिक सम्पत्ति जलाउने र भत्काउने गतिविधिका कारण प्रधानमन्त्री निवास पनि जोखिममा पर्न सक्ने देखियो,” उनले भने। ओली निवासमा आन्तरिक सुरक्षा व्यवस्थासमेत कडा पारिएको उनको भनाइ छ।
चौबीसै घण्टा सुरक्षामा प्रहरी खटिँदा अन्य कार्य प्रभावित भएको गिरीले सुनाए। “हामी जतिबेला पनि यतै छौँ, कार्यालयका अन्य काम गर्न पाएका छैनौँ,” उनले भने।
सार्वजनिक सम्पत्ति जलाउने तथा भत्काउने गतिविधिले प्रधानमन्त्री निवास पनि निशाना बन्ने जोखिम बढी देखिएको उनले बताए।